बैंकिङ खबर । लकडाउनको दुई महिनाको अवधिमा (चैत–वैशाख) महिनामा ७५ अर्ब ४८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।
नेपाल राष्ट्र बैंकले मंगलवार आर्थिक वर्ष २०७६/७७ को मौद्रिक नीतिको समिक्षा गर्दै यस्तो जानकारी दिएको हो । कोरोना भाइरसको कारण नेपाल भित्रने रेमिट्यान्समा कमी आएको हो । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७५/७६ को चैत र वैशाखको तुलनामा यो वर्षको चैत र वैशाखमा ६७ अर्ब ७० करोड रुपैयाँ कम रेमिट्यान्स आएको छ । गत वर्षको सोही अवधिमा १ खर्ब ४३ अर्ब ११ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।
गत वर्ष ८ खर्ब ७९ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।
आगामी दिनमा भारतबाट आउने रेमिट्यान्स र अप्रत्यक्ष रकम पनि घट्ने देखिन्छ । भारत जानेहरु कतीपयले नगद नै लिएर आउने र हुण्डीको माध्यमबाट पनि पठाउने गरेका छन् । त्यसो त आधिकारीक रेमिट्यान्स भन्दा बाहिरबाट पनि उत्तिकै रकम भित्रिने गरेको छ । जुन तथ्याङक राष्ट्र बैंक समक्ष छैन । नेपाल आयातमुखी अर्थतन्त्र भएको मुलुकमा पर्दछ । यसले गर्दा अर्थतन्त्रमा रेमट्यान्सको महत्वपूर्ण भूमिका रहन्छ ।
रेमिट्यान्स नेपालको अर्थतन्त्रको महत्वपूर्ण आधार स्तम्भको रुपमा रहेको छ । शिक्षा, स्वास्थ्य, गरिबी न्युनीकरण र अर्थतन्त्रको दरीलो खम्बाका रुपमा रेमिट्यान्सलाई लिन सकिन्छ । निर्यात, पर्यटन क्षेत्र जस्ता बाह्रय क्षेत्रबाट आउन सक्ने सुधारको पनि अपेक्षा गरे अनुरुप विकास हुन नसक्दा विदेशी मुद्राको प्रमुख स्रोत रेमिट्यान्स मात्र बन्न पुगेको छ । रेमिट्यान्स मार्फत भित्रिने रकम बढी मात्रामा उपभोग्य वस्तुमा खर्च भइरहेको देखिएतापनि यसले स्वास्थ्य, शिक्षा लगायत घर र देशको अर्थतन्त्र उकास्न समेत योगदान दिदै आएको छ । तर हालको विश्वव्यापी कोरोना माहामारीको कारणले गर्दा त्यसको प्रत्यक्ष असर रेमिट्यान्सबाटै अर्थतन्त्र धानीएकोे नेपालजस्तो कम विकशित मुलुकमा पर्ने देखिएको छ । वैदेशिक रोजगारीमा गएका नेपालीहरु कोरोना संक्रमणका कारण ठूला ठूला कम्पनीहरु नै बन्द गर्नुपर्ने अवस्था आएका कारण नेपालीहरुको रोजगारीमा समेत असर पर्न गई आम्दानी कम हुने र नतिजास्वरुप रेमिट्यान्स आप्रवाहमा कमी आउने देखिन्छ । त्यसमाथि कोरोना भाइरसकै कारण वैदेशिक रोजगारिमा जानेको संख्या कम हुने हुँदा रेमिट्यान्स क्षेत्रमा ठुलै प्रभाव पर्ने देखिन्छ । चालु आर्थिक वर्षमा नेपाल भित्रिने रेमिट्यान्स १ खर्ब ६३ अर्ब रुपैयाँले घट्न सक्ने केन्द्रीय तथ्यांक विभागले देखाएको छ । यस बेला नेपाली परिवारको घर धान्ने सहारा रेमिट्यान्समा ठूलो धक्का लागेको छ, यसरी रेमिट्यान्स कम आउने हो भने नेपाली अर्थतन्त्रमा थप समस्या सिर्जना हुने देखिन्छ ।