लकडाउन सुरु भएपछिका दुई महिनामा नेपालले कुल १ खर्ब ८ अर्बको व्यापार गरेको छ । लकडाउन सुरु भएको महिना चैत र वैशाखमा करिब १ खर्ब ८९ करोडको आयात र ७ अर्ब १५ करोडको निर्यात भएको हो । लकडाउन सुरु हुनुअघि (फागुन)सम्म मासिक औसत सवा १ खर्ब रुपैयाँको व्यापार हुँदै आएको थियो । अहिले दुई महिनामा बल्ल १ खर्ब नाघेको छ ।
सामान्य अवस्थामा मासिक सवा खर्बको अन्तर्राष्ट्रिय व्यापार हुँदै आएकोमा लकडाउनमा त्यो ५० अर्बमा खुम्चियो, दश महिनामा १० खर्ब २५ अर्बको आयात, साढे ९ खर्बको व्यापार घाटा
सरकारले गत ११ चैतदेखि नेपालमा लकडाउन सुरु गरेको हो । भारतले मुख्यबाहेकका अन्य नाका बन्द गरेपछि २ चैतबाटै नेपाल–भारतको व्यापार प्रभावित भएको थियो । त्यस्तै, चीनतर्फका दुवै नाका माघदेखि नै बन्द अवस्थामा थिए ।
कोरोना महामारी र त्यसको रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण चैतको सुरुदेखि नै नेपालको व्यापार प्रभावित भएको भन्सार विभागका महानिर्देशक सुमन दाहालले बताए । ‘पछिल्लो समय आर्थिक गतिविधि बढ्न थालेपछि आयात पनि अलि बढ्न थालेको छ,’ दाहालले भने ।
लकडाउन भएपछि दैनिक उपभोग्य वस्तु, स्वास्थ्य सामग्री, औषधिलगायतका वस्तु बढी आयात भएका छन् । भन्सार विभागका अनुसार चैतमा ५८ अर्ब २९ करोड रुपैयाँको आयात भएको थियो भने ३ अर्ब ९१ करोड रुपैयाँको निर्यात भएको थियो ।
त्यस्तै, वैशाखमा ४२ अर्ब ६० करोड रुपैयाँको आयात र ३ अर्ब २४ करोड रुपैयाँको निर्यात भएको थियो । चैतको तुलनामा पूर्ण लकडाउन भएको महिना वैशाखमा आयात १५ अर्ब ६९ करोड र निर्यात ६७ करोड रुपैयाँले घटेको छ ।
व्यापारका सबै सूचक नकारात्मक
चालू आर्थिक वर्षमा निर्यातबाहेक व्यापारका सबै सूचक नकारात्मक देखिएका छन् । कुल व्यापार, आयात र व्यापार घाटा घटेको छ । निर्यात भने सामान्य अंकले बढेको छ । चालू आर्थिक वर्षको दश महिनामा नेपालले कुल ११ खर्ब ७ अर्ब २० करोड रुपैयाँको वैदेशिक व्यापार गरेको छ ।

यो अघिल्लो आवको सोही अवधिको तुलनामा ११.८९ प्रतिशतले कमी हो । गत आव ०७५-७६ को दश महिनामा १२ खर्ब ५६ अर्ब ६७ करोड रुपैयाँबराबरको व्यापार भएको थियो ।
चालू आवको दश महिनामा १० खर्ब २५ अर्ब १३ करोड रुपैयाँबराबरको आयात भएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा १२ दशमलव ९९ प्रतिशतले कमी हो । गत आवको सोही अवधिमा नेपालले ११ खर्ब ७८ अर्ब १३ करोड रुपैयाँको आयात गरेको थियो । कुल व्यापारमा आयातको हिस्सा १.२४ प्रतिशतले घटेर ९२.५९ प्रतिशतमा झरेको छ ।
निर्यातको वृद्धिदर एक अंकमा झर्यो
चालू आर्थिक वर्षको सुरुदेखि नै नेपालको निर्यात दोहोरो अंकको दरमा बढिरहेको थियो । तर, लकडाउन सुरु भएपछि भने निर्यात वृद्धिदर एकल अंकमा झरेको छ । वैशाख मसान्तसम्मको तथ्यांकले निर्यात भने थोरैले बढेको छ ।
दश महिनामा निर्यात ८२ अर्ब ६ करोड रुपैयाँ पुगेको छ, जुन गत आवको सोही अवधिको तुलनामा ४.५० प्रतिशतले बढी हो । गत आवको दश महिनामा नेपालले ७८ अर्ब ५३ करोड रुपैयाँको निर्यात भएको थियो । कुल व्यापारमा निर्यातको हिस्सा अनुपात १८ दशमलव ६० प्रतिशतले बढेर ७ दशमलव ४१ प्रतिशत पुगेको छ ।
व्यापार घाटा साढे ९ खर्ब पुग्यो
नेपालले बितेको दश महिनामा वैदेशिक व्यापारमा ९ खर्ब ४३ अर्ब ७ करोडको व्यापार घाटा व्यहोरेको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा ११ दशमलव २४ प्रतिशतले कमी हो । गत आवको दश महिनामा नेपालको कुल १० खर्ब ९९ अर्ब ६० करोडको व्यापार घाटा थियो ।
नयाँ पत्रिका दैनिकमा प्रकाशित समाचार ।