कुमारी बैंकको साधारण सभाले एनसीसी बैंकसँग गाभिने प्रस्ताव अस्विकृत गरेको छ । एनसीसी बैंकले कुमारी बैंक र अन्य चार बिकास बैंकलाई मर्ज गर्ने अन्तिम तयारी गरेको थियो । एनसीसीको साधारणसभाले सो प्रस्ताव पारित पनि गरिसकेको छ । ड्यु डिलिजेन्स अडिट अर्थात डीडीएको आधारमा कुमारी बैंकलाई एक बराबर एक स्वाप रेसियो दिने गरी एनसीसीले बिेशेष साधारणसभाबाट प्रस्ताव पारित गरेको हो । तर, कुमारीले स्विकृत नगरेपछि अब यो मर्जर प्रक्रिया अन्यौलमा परेको छ ।
शुक्रबार राजधानीमा भएको कुमारीको बिशेष साधारणसभाले एनसीसीसँग मर्जमा नजाने प्रस्तावलाई गोप्य मतदानबाट अस्वीकृत गरेको हो । अरु बिकास बैंकहरुले मर्जरको अन्तिम प्रस्ताव र शेयर स्वाप रेसियो पारित गरिसकेका छन् ।
साधारणसभामा कुमारीका संस्थापक लगानकिर्ताहरुले एनसीसी र अन्य चार वटा बिकास बैंकहरुसँगको मर्जरले आफ्नो हित नगर्ने र मर्जर आत्मघाती हुने दावी गरे । कम्पनीको अबस्था बलियो रहेको र यसै बर्ष राम्रो बोनस शेयर दिनसक्ने भएकाले मर्जमा जान आबश्यक नभएको तर्क उनीहरुको थियो । ६४ प्रतिशत शेयर धारण गरेका र प्रोक्सी संकलन गरेकाहरु साधारणसभामा उपस्थित भएकामा गोप्य मतदानमा उनीहरु मध्ये ४८ प्रतिशतले मर्जर प्रस्ताव अस्वीकृत गरेको बताईएको छ ।
गत बुधबार भैरहवामा भएको एनसीसीको साधारणसभाले एनसीसी बैंकको एक शेयर बरावर कुमारी बैंक को एक शेयर, (१ः१), इन्फ्रास्ट्रक्चर डेभलपमेण्ट बैंक को शुन्य दशमलव सात सात शेयर (१ः०.७७), इण्टरनेशनल डेभलपमेण्ट बैंकको शुन्य दशमलव सात तीन शेयर (१ः०.७३), एपेक्स डेभलपमेण्ट बैकको शुन्य दशमलव चार आठ शेयर (१ः०.४८), र सुप्रिम डेभलपमेण्ट बैंक लि. को शुन्य दशमलव सात सात शेयर (१ः०.७७), हुनेगरी शेयर आदान प्रदान अनुपात स्वाप रेसियो पारित गरेको थियो । एनसीसीले डीडीएको आधारमा शेयर स्वाप रेसियो तय भएको जनाएको छ ।