राजस्व ३ खर्ब कम उठ्ने

चालू आर्थिक वर्षको राजस्व संकलन लक्ष्यको ३ खर्बभन्दा धेरैले कम हुने आकलन गरिएको छ । आर्थिक वर्ष समाप्त हुन २ महिनामात्रै बाँकी हुँदा चालू आवको वैशाख मसान्तसम्ममा ६ खर्ब ३९ करोड रुपैयाँमात्रै संकलन भएको छ । सरकारले चालू आर्थिक वर्षमा ११ खर्ब १२ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । तर अहिलेकै अवस्थालाई हेर्ने हो भने असार मसान्तसम्ममा ८ खर्ब रूपैयाँ हाराहारीमा मात्रै संकलन हुने अर्थ मन्त्रालयको आकलन छ । चैत ११ गतेदेखि सुरु भएको लकडाउनले भने अर्थतन्त्र निरन्तर कमजोर बन्दै गएको छ । वैशाखसम्म आउँदा लक्ष्य र राजस्व संकलनको अन्तर दुई अर्बभन्दा बढी पुगिसकेको छ । वैशाख अन्तसम्ममा सरकारले ८ अर्ब ८० अर्ब संकलन गर्ने लक्ष्य राखे पनि ६ अर्ब ३९ अर्ब रुपैयाँ मात्रै संकलन गरेको छ ।
भन्सारतर्फ सरकारले वैशाख अन्त्यसम्म १ खर्ब ७६ करोड रूपैयाँ संकलन गर्ने लक्ष्य लिएकोमा १ खर्ब १३ अर्ब रूपैयाँ मात्रै संकलन भएको छ भने मूल्य अभिवृद्धि कर (भ्याट) मार्फत २ खर्ब ५१ अर्बको लक्ष्य राखिएकोमा १ खर्ब ७९ अर्ब रुपैयाँ, अन्तःशुल्कमार्फत १ खर्ब ३८ अर्बको लक्ष्यमा ८ अर्ब रुपैयाँ मात्रै संकलन भएको छ । आयकरको २ खर्ब १३ अर्बको लक्ष्यमा १ खर्ब ३९ अर्ब र अन्य कर २ अर्बको लक्ष्यमा १ अर्ब संकलन भएको छ । तर गैरकर भने केही सुधार भएको मन्त्रालयले जनाएको छ । गैरकर ७६ अर्बको लक्ष्य दिएकोमा ८७ अर्ब रूपैयाँ संकलन भएको हो । वैशाख महिनामा ८५ अर्ब ७८ करोड रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएकोमा १६ अर्ब २३ करोड रुपैंयामात्रै संकलन भएको हो ।

कारोबार दैनिकमा प्रकाशित समाचार ।