Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

पर्यटन व्यवसायी भन्छन् ‘बजेटले टिक्ने बाटो बनाइदिओस्’

२०७७ जेष्ठ १० गते

कोरोना भाइरसको महामारीबाट सबैभन्दा धेरै असर बेहोरेको नेपालको पर्यटन क्षेत्र आगामी बजेटबाट त्राण पाउने आशमा छ । व्यवसायीहरूकै भनाइमा अहिले ‘कोमा’को अवस्थामा रहेको यो क्षेत्रलाई भविष्यमा टिक्ने आधार बजेटले बनाइदिनुपर्छ । अन्यथा पर्यटन क्षेत्रबाटै पलायन हुने अवस्था आउन सक्छ, होटल एसोसिएसन अफ नेपाल (हान)का प्रथम उपाध्यक्ष विनायक शाह भन्नुहुन्छ ।
पर्यटन व्यवसायीहरू यतिबेला पहिले यही क्षेत्रमा टिक्नसक्ने वातावरणको आशमा छन् । सन् २०२० मा अब कुनै पनि पर्यटकीय गतिविधि नहुनेमा उनीहरू ढुक्क छन् । महामारीको शृङ्खला कति लम्बिने हो, त्यसको यकिन नहुँदाको दोधारमा पनि छन् उनीहरू । त्यसैले बजेटबाट कम्तीमा २० अर्ब रुपियाँ बराबरको राहत प्याकेज आउनुपर्ने माग पर्यटन व्यवसायीको छ । “यो क्षेत्रमा आश्रित कर्मचारीलाई पलायन हुन नदिन पनि त्यति रकम बराबरको रोजगार संरक्षण कोष बजेटबाट आउनुपर्छ,” शाह भन्नुहुन्छ ।
ब्याजदर, व्यवसाय सञ्चालनका लागि तिर्नुपर्ने भाडा र भविष्यको अनिश्चितताले पनि गाँजेको छ पर्यटन व्यवसायीलाई । ब्याज त अहिलेभन्दा घटाउनैपर्छ अनि किस्ता तिर्ने समय पनि कम्तीमा दुई वर्ष बजेटमा बढाउनुपर्छ, टे«किङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष खुमबहादुर सुवेदी भन्नुहुन्छ । महिनाको १५ हजार भाडा पनि तिर्न नसक्ने अवस्थाका साना तथा मझौला पर्यटन व्यवसायीसमेत भएकाले त्यस्ता व्यवसायीका लागि कम्तीमा २० लाख रुपियाँको प्याकेज बजेटले छुट्याउनुपर्ने उहाँको भनाइ छ ।
समस्याका बीच पर्यटन व्यवसायीलाई सरकारले अघि सारेको पर्यटन बिदाको प्रस्तावले पनि थोरै पनि उत्साही बनाएको छ । बजेटले आन्तरिक पर्यटन प्रवद्र्धन गर्न जसरी पनि पर्यटन बिदामा जोड दिनैपर्छ, नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स
(नाट्टा)का पूर्वअध्यक्ष सीएन पाण्डे भन्नुहुन्छ । त्यसरी आन्तरिक घुमघाममा निस्कने व्यक्ति पर्यटन बिदाका लागि अनुमति पाएको ट्राभल एजेन्सीमार्फत नै जानुपर्ने व्यवस्था गरिनुपर्ने उहाँको माग छ । पर्यटन बिदालाई प्रभावकारी बनाउन सरकार र यसअन्तर्गतका सबै कर्मचारी, ठूला कर्पोरेट कम्पनीका कर्मचारी र रोटरी तथा लायन्सजस्ता संस्थामा आबद्ध व्यक्तिलाई घुमघाममा बजेटबाट प्रोत्साहन अथवा अनिवार्य नै गर्नुपर्ने हानमा प्रथम उपाध्यक्ष शाहको भनाइ छ ।
पर्यटन क्षेत्रमा संलग्न कर्मचारी निश्चित क्षमतासहितको हुने भएकाले त्यस्ता व्यक्तिलाई पलायन हुन नदिन तत्काल रोजगारीका अन्य विकल्प पनि सरकारले खोज्नुपर्ने सुझाव पर्यटन व्यवसायीको छ । त्यस्तै बजेटमा पर्यटन दशक उल्लेख हुनुपर्ने विषयलाई पनि पर्यटन व्यवसायीले आफ्नो सुझावका रूपमा प्रस्तुत गरेका छन् ।

गोरखापत्र दैनिकमा प्रकाशित समाचार ।

Ad