Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

बढ्दै छ अत्यावश्यक वस्तुको आयात

२०७७ जेष्ठ ८ गते
५६ दिनमा भित्रियो ६५ अर्ब ७१ करोड रुपैयाँ बराबरको सामान
समग्र वस्तुको आयात भने ७० प्रतिशत घट्यो

कोरोना संक्रमण फैलिन नदिन सरकारले लकडाउन गरे पनि खाद्यान्न आयातमा कमी आएको छैन । लकडाउनको ५६ औं दिन (चैत ११ देखि जेठ ५) सम्म १ लाख ८३ हजार २ सय टन खाद्यान्न आयात भएको भन्सार विभागको तथ्यांक छ । ‘गत वर्ष वैशाखमा ९० हजार टन खाद्यान्न आएको थियो । लकडाउनका बेला दुई महिनामा पनि त्यति नै परिमाणमा आयात भएको छ,’ विभागका तथ्यांक अधिकृत मोहन पुडासैनीले भने, ‘तथ्यांक विश्लेषण गर्दा खाद्यान्न आयातमा कमी छैन । लकडाउनमा बढेकै देखिन्छ ।’

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सरकारी र निजीसहित करिब ५/६ महिनालाई पुग्ने खाद्यान्न मौज्दात रहेको जनाएको छ । सरकारी खाद्यान्नको मौज्दात घट्ने क्रममा रहे पनि निजीसँग पर्याप्त रहेको मन्त्रालयका सहप्रवक्ता उर्मिला केसीले बताइन् । ‘लकडाउनको पहिलो साता सरकारसँग करिब २३ हजार टन खाद्यान्न मौज्दात थियो । अहिले १६ हजारमा झरेको छ । खाद्यान्न आयात रोकिएको छैन,’ उनले भनिन्, ‘निजी क्षेत्रसँग पनि राम्रै मौज्दात छ ।’उद्योगी व्यवसायी पनि खाद्यान्नमा समस्या नभएको बताउँछन् । उनीहरूका अनुसार लकडाउनको केही साता माग अत्यधिक बढे पनि अहिले त्यस्तो छैन । माग घटेकाले खाद्यान्नमा आात्तिनुपर्ने अवस्था नभएको व्यवसायीको भनाइ छ ।खाद्यान्नबाहेक अन्य अत्यावश्यक वस्तुको आयात पनि बढ्दै गएको छ । विभागका अनुसार चैत ११ देखि २० सम्म दैनिक ७५ करोड रुपैयाँ बराबरको अत्यावश्यक वस्तु आयात भएको थियो । चैत २१ देखि ३० सम्म दैनिक आयात ८५ करोड रुपैयाँ पुगेको थियो । वैशाख १ देखि १० सम्म दैनिक ९० करोड र वैशाख ११ देखि २० सम्म दैनिक १ अर्ब ३० करोडको आयात भएको छ । ‘वैशाख २१ देखि ३१ सम्म पुन: बढेर दैनिक १ अर्ब ८८ करोड रुपैयाँ बराबरको आयात भएको छ,’ पुडासैनीले भने, ‘अहिले पनि आयात उस्तै छ ।’

तरकारी तथा फलफूलको आयातमा भने केही आएको विभागले जनाएको छ । स्वदेशमा पर्याप्त उत्पादन नभएपछि प्राय: फलफूल आयात गरिन्छ । फलफूल मुख्यत: चीन र भारतबाट आउँछ । गत डिसेम्बरमा चीनमा कोरोना देखिएपछि व्यवसायीले संक्रमण फैलिने डरले कम आयात गरेका हुन् । ‘तरकारी भने नेपालमै प्रशस्त उत्पादन हुन्छ,’ पुडासैनीले भने, ‘जसले गर्दा आयातमा केही कमी देखिएको हो ।’ तथ्यांकअनुसार लकडाउन अवधिमा ६९ हजार २ सय ५५ मेट्रिक टन तरकारी र २६ हजार ८ सय ८१ मेट्रिक टन फलफूल आयात भएको छ ।लकडाउनका बेला ६५ अर्ब ७१ करोड रुपैयाँको अत्यावश्यक वस्तु आयात भएको विभागको तथ्यांक छ । यो अवधिमा २ अर्ब ७१ करोड ६ लाख रुपैयाँ बराबरको तयारी औषधि र ६१ करोड ४९ लाख रुपैयाँ बराबरको औषधिको कच्चा पदार्थ आयात भएको छ । एलपी ग्यास ५८ हजार ७ सय ५ टन, डिजेल ८६ हजार २ सय ८८ किलोलिटर र पेट्रोल ४६ हजार ७ सय ३६ किलोलिटर आयात भएको छ । गेडागुडी तथा दलहन ५१ हजार ८ सय ३६ टन, दूधजन्य पदार्थ ११ हजार २ सय १ टन आयात भएको विभागको तथ्यांक छ ।

सरकारी तथ्यांकले आयातमा कुनै समस्या नभएको दाबी गरे पनि बिक्री प्रणाली भने बिग्रिएको छ । व्यवसायीका अनुसार वितरण प्रणाली रोकिएको छ । यसले गर्दा व्यवसायीका उत्पादन बिक्री नभएर म्याद सकिएर करोडौं रुपैयाँका वस्तु फाल्नुपरेको छ ।जेठ ३ र ४ गते आयात नभएको फलफूल जेठ ५ मा ४ सय ७० टन आएको सहप्रवक्ता केसीले जानकारी दिइन् । ‘कोभिड–१९ संक्रमण देखिएपछि बन्द रहेको तातोपानी नाका वैशाख २५ देखि सञ्चालनमा आएको छ,’ उनले भनिन्, ‘अहिले समस्या छैन ।’ पछिल्लो समय खाद्य व्यवस्था तथा व्यापार कम्पनीले गहुँ खरिद पनि सुरु गरेको छ । जेठ ५ सम्म ५ सय ३५ मेट्रिक टन गहुँ किनेको छ । यसले पनि खाद्यान्न मौज्दातमा केही सहयोग पुग्ने केसीको दाबी छ ।

‘बजारमा पसल नखुल्दा बिक्रीवितरणमा समस्या भयो । सामान पुर्‍याउन सकिएन,’ नेपाल वितरण संघका निवर्तमान अध्यक्ष दुर्गाराज श्रेष्ठले भने, ‘खाद्यान्न ढुवानी गर्न चालक पनि भएनन् । त्यसैले विभिन्न वस्तुको उपभोग म्याद गुज्रिने समस्या भयो ।’

लकडाउनअघिको तुलनामा समग्रमा वस्तुको आयात भने घटेको छ । विभागका अनुसार दैनिक करिब ४ अर्ब रुपैयाँको वस्तु आयात हुन्थ्यो । ‘समग्र वस्तुको आयात भने करिब ७० प्रतिशत घटेको छ,’ पुडासैनीले भने ।

लकडाउन अवधिमा आएको वस्तु

खाद्यान्न : १,८३,२०० मेट्रिक टन

तरकारी : ६९,२५५ मेट्रिक टन

गेडागुडी/दलहन : ५१,८३६ मेट्रिक टन

फलफूल : २६,८८१ मेट्रिक टन

दुग्ध पदार्थ : ११,२०१ मेट्रिक टन

एलपी ग्यास : ५८,७०५ मेट्रिक टन

डिजेल : ८६,२८८ किलोलिटर

पेट्रोल : ४६,७३६ किलोलिटर

औषधिको कच्चा पदार्थ : ६१ करोड ४९ लाख

तयारी औषधि : २ अर्ब ७१ करोड ६ लाख रुपैयाँ बराबरको

कुल आयात : ६५ अर्ब ७१ करोड ८० लाख

स्रोत : भन्सार विभाग

कान्तिपुर दैनिकमा प्रकाशित समाचार ।

Ad