July 15th, 2016

पुँजी बजारमा स्रोत नखुलेको सम्पत्ति ! अनुगमनका लागि बोर्डले गठन गर्यो छानबिन समिति 

dhitopatraनेपाल धितोपत्र बोर्डले पुँजी बजारको अनुगमनका लागि सुपरीवेक्षण तथा छानविन समिति गठन गरेको छ । पुँजी बजारमा स्रोत नखुलेको सम्पत्तिको प्रयोग भइरहेको आशंका गर्दै सम्पत्ति शुद्धीकरण सम्बन्धी विषयमा तथा धितोपत्र दलालले ग्राहकसँग गरेको कारोबार मोडालिटी सम्बन्धमा अध्ययन तथा छानविन गर्न बोर्डले विहीबार कार्यकारी निर्देशकको संयोजकत्वमा यस्तो समिति गठन गरेको जनाएको छ । सुपरिवेक्षण तथा छानविन समितिमा बोर्डको कानुन तथा प्रबलीकरण महाशाखा, नियमन महाशाखा र सुपरिवेक्षण महाशाखाका निर्देशकहरु रहने छन् । अध्ययन तथा छानविनलाई प्रभावकारी बनाउन उक्त समितिमा आवश्यक्तानुसार अर्थ मन्त्रालय, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग तथा नेपाल प्रहरी, केन्द्रीय अनुसन्धाग विभाग र अन्य विज्ञहरु समेतलाई आमन्त्रण गर्ने व्यवस्था गरिएको छ । उक्त समितिले एक महिनाभित्र प्रतिवेदन पेश गर्ने व्यवस्था गरिएको छ ।
 
धितोपत्र बजार विगत भन्दा व्यापक भई सर्वसाधारण लगानीकर्ता, सूचीकृत संगठित संस्था, धितोपत्र कारोबार, धितोपत्र व्यवसायीको संख्या बढेको र बजारको दायरा समेत फराकिलो हुँदा स्रोत नखुलेको रकम प्रयोग भएको हुनसक्ने आशंका बढेको पनि बोर्डद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । हालको कारोबार संख्या र रकमको वृद्धिलाई हेर्दा धितोपत्र बजारमा समेत स्रोत नखुलेको रकम पनि प्रशस्त लगानी भएको आशंकालाई दृष्टिगत गरि छानविन समिति गठन गरिएको बोर्डले जनाएको छ । ‘धितोपत्र बजार विगत भन्दा व्यापक भई सर्वसाधारण लगानीकर्ता, सूचीकृत संगठित संस्था, धितोपत्र कारोबार, धितोपत्र व्यवसायीको संख्या बढ्न गएको तथा बजारको दायरा समेत फराकिलो भएको परिप्रेक्ष्यमा बजारको सुपरिवेक्षण गर्ने कार्य थप चुनौतीपूर्ण हुदै गएको तथा धितोपत्र बजारमा विभिन्न किसिमका उजुरी, समस्या तथा गुनासाहरु बोर्डमा प्राप्त हुने क्रममा तीव्रता आएको छ भने अर्कोतर्फ धितोपत्र बजारको बढदो आकार सँगसँगै जोखिम बढनुका साथै स्रोत नखुलेको रकम समेत बजारमा आएको आशंका विभिन्न पक्षहरुबाट गरिएको छ । धितोपत्रको राफसाफ तथा फछ्यौंट कार्यको सहजीकरण सँगसँगै विगत केही समय देखि धितोपत्र दोस्रो बजारमा हुने कारोबारको संख्या तथा रकममा समेत बृद्धि भएको र हाल दैनिक रुपमा एक अर्ब भन्दा बढीको कारोबार भैरहेको छ ।’ विज्ञप्तिमा उल्लेख छ । 

हेर्नस् बोर्डद्धारा जारी विज्ञप्ति जस्ताको तस्तै :

dhitopatra