कोरोना भाइरस (कोभिड–१९)को सर रेमिट्यान्समा परेको छ । नेपाली रोजगारीमा जाने अधिकांश मुलुकमा कोरोना संत्रासले आक्रान्त पारेपछि नेपाल भित्रिने रेमिट्यान्स ५० प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेका चालू आवको नौ महिने प्रतिवेदनमा रेमिट्यान्स घटेको देखिएको हो ।
फागुनसम्म नेपालमा मासिक ७५ अर्ब रुपैयाँ हाराहारीले रेमिट्यान्स भित्रिने गरेको थियो । चैतमा भने ३४ अर्ब ४८ करोड रुपैयाँ मात्र रेमिट्यान्स भित्रिएको छ । वैशाखमा यो अझै घट्ने आँकलन गरिएको छ । फागुनसम्म देशमा ५ खर्ब ९२ अर्ब ४२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । चैतमा साढे ३४ अर्बले बढेर ६ खर्ब २६ अर्ब ९० करोड रुपैयाँ पुगेको छ । अघिल्लो चैतको तुलनामा भने ४ प्रतिशतले मात्र घटेको देखिन्छ ।
यो अवधिमा वित्तीय संस्थाको निक्षेप ९ दशमलव ७ प्रतिशतले वृद्धि भएको छ । नौ महिनाको अवधिमा बंैक तथा वित्तीय संस्थाको निजी क्षेत्रको कर्जा लगानी भने ११.५ प्रतिशतले बढेको छ । गत आवको यही अवधिमा बैंक तथा वित्तीय संस्थाको निजी क्षेत्रमा प्रवाह हुने कर्जा १६.५ प्रतिशतले बढेको र निक्षेप १०.६ प्रतिशतले बढेको थियो ।
मासिक करिब ७५ अर्ब रुपैयाँ हाराहारीमा रेमिट्यान्स भित्रिने गरेकोमा चालू आवको चैत महिनामा भने ३४ अर्ब ४८ करोड मात्र त्यस्तो रकम भित्रिएको केन्द्रीय बैंकले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ
निक्षेपको तुलनामा कर्जा विस्तार बढी भए पनि वार्षिक बिन्दुगत आधारमा भने कर्जाभन्दा निक्षेपको वृद्धिदर बढिरहेको छ । वार्षिक बिन्दुगत आधारमा चालू आवको चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा १४.३ प्रतिशतले वृद्धि हुँदा निक्षेप १६.९ प्रतिशतले बढेको छ ।
बैंकहरूले कर्जाको ब्याजदर घटाउँदै गएका छन् । आधार ब्याजदर क्रमशः घट्दै जाँदा बैंकले कर्जाको ब्याजदर पनि घटाउँदै लगेका छन् । चैत मसान्तसम्मको तथ्यांकअनुसार वाणिज्य बैंकको कर्जाको भारित औसत ब्याजदर ११.७७ प्रतिशत छ । गत आर्थिक वर्षको सोही अवधिमा कर्जाको भारित औसत ब्याजदर १२.२८ प्रतिशत थियो ।
राष्ट्र बैंकले स्प्रेड रेटमा कडाइ गर्नुको साथै औसत आधार दरसमेत घट्दा बैंकले कर्जाको ब्याजदर घट्दै गएको हो । राष्ट्र बैंकले कर्जाको ब्याजदरलाई आधार दरसँग जोडिदिएको छ । जसअनुसार आधार ब्याजदर घट्दा कर्जाको ब्याजदर पनि घट्ने र बढ्दा बढ्ने हुन्छ । गत आवको चैत मसान्तमा ९.६४ प्रतिशत रहेको वाणिज्य बैंकको औसत आधार दर चालू आवको चैतमा ९.३६ प्रतिशत कायम भएको छ ।
यता बैंकले निक्षेपकर्तालाई दिने ब्याजदर भने बढाएका छन् । चालू आवको चैतमा वाणिज्य बैंकको निक्षेपको भारित औसत ब्याजदर ६.७४ प्रतिशत छ । गत आवको सोही अवधिमा कर्जाको ६.६७ प्रतिशत रहेको थियो ।
योसँगै सरकार र नेपाल राष्ट्र बैंकले प्रोजेक्ट फाइनान्सलाई प्राथमिकता दिने बताइरहँदा बैंक तथा वित्तीय संस्थाको भने धितो कर्जा बढ्दै गएको छ । गत आवको चैत मसान्तमा घरजग्गाको धितोमा ६५ प्रतिशत कर्जा लगानी भएको चालू आवको सोही अवधिमा घरजग्गा धितोमा भएको कर्जा लगानी ६५.१ प्रतिशत पुगेको छ ।
चालू सम्पत्तिको धितोमा प्रभाव भएको कर्जा गत आवको चैत मसान्तमा १४.१ प्रतिशत रहेकामा चालू आवको सोही अवधिमा घटेर १३.३ प्रतिशत कायम भएको छ । राष्ट्र बैंकले उत्पादनशील गतिविधि तथा निर्यातलाई प्रोत्साहित गर्ने उद्देश्यले सहुलियत दरमा प्रदान गर्ने पुनर्कर्जा पनि अपेक्षाकृत रूपमा जान सकेको छैन ।
यस्तै २०७२ मा गएको भूकम्पबाट पीडितलाई आवासीय घर निर्माणका लागि सहुलियतपूर्ण कर्जा प्रदान गर्न राष्ट्र बैंकबाट बैंक तथा वित्तीय संस्थालाई उपलब्ध गराइएको पुनर्कर्जाको वक्यौता चैत मसान्तमा १ अर्ब ८९ करोड रहेको छ राष्ट्र बैंकले जनाएको छ । सो कर्जा १ हजार ५ सय ९२ ऋणीले उपयोग गरेका छन् ।
गत चैत मसान्तसम्ममा कृषि तथा पशुपक्षी व्यवसाय कर्जाअन्तर्गत २३ हजार ४ सय ९ ऋणीको ५० अर्ब ४७ करोड र सहुलियतपूर्ण कर्जाका अन्य शीर्षकअन्तर्गत ५ हजार २ सय ५० ऋणीलाई ३ अर्ब ४१ करोड कर्जा लगानी भएको पनि केन्द्रीय बैंकले जनाएको छ ।
राजधानी दैनिकमा प्रकाशित समाचार ।