काठमाडौं महानगरपालिकाले कोरोना भाइरस रोकथाम नियन्त्रणका लागि लकडाउन अवधिभर उपत्यका प्रवेश गर्ने सबै नाका सिल गर्न सरकारसँग आग्रह गरेको छ। कोरोना भाइरसले पछिल्लो समय काठमाडौँ उपत्यकामा पनि सङ्क्रमण पुष्टी बढ्दै गइरहेकाले उपत्यका प्रवेश गर्ने सबै नाका सिल गर्न अनुरोध गरेको हो । नाकाबाट अत्यावश्यक सेवामा संलग्न सवारी साधन तथा पासको दुरुपयोग गरेर उपत्यका प्रवेश गर्ने क्रम बढ्दै गएको भन्दै कामपाले यस्तो आग्रह गरेको हो । महानगरपालिकले अत्यावश्यक काम परेर काठमाडौं आउनै परेको खण्डमा पनि कोरोना परीक्षण गरेर मात्रै प्रवेश गराउने व्यवस्था मिलाउन अनुरोध गरेको छ । यस्तै, लकडाउनको उलंघन गरी अनुमति नलिई लुकिछिपी काठमाडौं प्रवेश गर्ने व्यक्ति र निजलाई सहयोग पुर्याउने व्यक्तिलाई समेत उच्च निगरानी गरी कानुन बमोजिम कार्वाही गर्न नेपाल सरकार गृह मन्त्रालयलाई अनुरोध गरेको छ ।
