बैंकिङ खबर । नेपाल कपडा उद्योग संघले सोमबार सूचना जारी गर्दै कपडा उधोगहरुलाई उपलब्ध गराउने बैंक कर्जा सहुलियतपूर्ण कर्जाको श्रेणीमा समावेश हुनुपर्ने, नयाँ कर्जा सिमा ५ करोडमा मात्र ब्याज छुटको सिमा रहेकाले नयाँ कर्जामा सिमा हटाउनुपर्ने जस्ता माग अघि सारेका छन् । त्यस्तै, विद्युत महसुलमा दिइरहेको ५० प्रतिशत अनुदानलाई निरन्तरता दिनुपर्ने बताएका छन् । व्यवसायीहरुले कपडा तथा कपडाजन्य वस्तुहरुको मुअकर दर छिमेकी मुलुक भारतसरह ५ प्रतिशत गर्नुपर्ने वा यसो गर्न नमिल्ने भएमा बिसौ वर्षदेखि नेपाली कपडा उधोगलाई दिइदै आएको मुअकर समायोजनको सुविधा दिनुपर्ने माग अघि सारेका छन् । यसो गर्न सकेमा कपडा तथा कपडाजन्य वस्तुहरुको व्यापार बैधानिक भई राजश्व प्राप्त हुने उनीहरुको धारणा छ । यस्तै, भन्सार शीर्षक ६२११४२०० मा रहेका सुतीको सारी, सुती धोती र सुती लुंगीको भंसार दर र मुअकर अन्य कपडा सरह गनुपर्ने माग अघि सारेका छन् ।