आफ्नो कार्यकालको दोश्रो मौद्रिक नीति सार्वजनिक गरेका गभर्नर डा. चिरञ्जिीबी नेपालले आगामी मौद्रिक नीति सरकारको बजेटले लिएको लक्ष्यसंग आधारित बनाएरसार्वजनिक गरेका छन् । उनले ल्याएको मौद्रिक नीतिको कार्यदिशा नै सरकारले ल्याएको २०७३/७४ को बजेटले अवलम्बन गरेका उद्देश्य तथा प्राथमिकतासंग तादाम्य कायम राख्दै तयार पारिएको छ ।
माग पक्षबाट मुद्रास्फीतिमा चाप पर्न नदिन मौद्रिक योगाङकहरुलाई वाञ्छित सीमाभित्र राख्ने गरी मौद्रिक नीतिको कार्यदिशा निर्धारण गरिएको छ । त्यस्तै वित्तीय बजारमा देखिने उतार चढावलाई सम्बोधन गर्ने उपायको रुपमा अल्पकालीन ब्याजदरलाई बाञ्छित स्तरमा राख्ने मौद्रिक कार्यदिशाको लक्ष्य राखेर मौद्रिक नीति सार्वजनिक गरिएको छ ।
बिप्रेषण आप्रवाहमा हाल देखिएको घट्दो वृद्धिदर र आयातमा आउन सक्ने बढोत्तरीका कारण बाह्य क्षेत्र स्थायित्वमा पर्न सक्ने जोखिम न्यूनीकरणलाई पनि मौद्रिक नीतिको कार्यदिशा तय गर्दा ध्यान दिइएको केन्द्रीय बैंकले जनाएको छ ।
घरजग्गा एवम् शेयर कारोबार लगायतका क्षेत्रमा हुने कर्जा विस्तारका कारण समग्र वित्तीय स्थायित्वमा पर्न सक्ने संभावित असरप्रति सजग रहँदै बढीभन्दा बढी वित्तीय साधन कृषि, उर्जा, पर्यटन, घरेलु तथा साना उद्योग लगायतका उत्पादनशील क्षेत्र एवम् विपन्न वर्गमा प्रवाह हुने गरी मौद्रिक नीतिको कार्यदिशा केन्द्रीय बैंकले तय गरेको छ ।
वित्तीय साक्षरता र वित्तीय पहुँच विस्तारका माध्यमबाट वित्तीय समावेशीकरणमा जोड दिनेतर्फ समेत मौद्रिक नीतिले जोड दिएको छ ।



