चैत महिनामा २१ वटा वाणिज्य बैंकहरूको बेसरेट (आधार दर) घटेको छ । पुुस महिनाको तुलनामा ती बैंकहरूको बेसरेट घट्दा नेपाल इन्भेष्टमेन्ट बैंकको आधारदर बराबर छ भने बाँकी ५ वटा बैंकको त्यस्तो दर भने बढेको छ ।
सबैभन्दा बढी बेसरेट घटाउने बैंकमा बैंक अफ काठमाण्डू रहेको छ । सो बैंकले पुस महिनाको भन्दा ०.६६ प्रतिशत विन्दुले बेस रेट घटाएको छ । त्यस बाहेक प्रभु र सिटिजन्स बैंकले समान ०.४७ प्रतिशत, नेपाल बैंकले ०.३३ प्रतिशत, लक्ष्मी बैंकले ०.३० प्रतिशत बेस रेट घटाएका छन् ।
त्यस्तै, माछापुच्छ्रे बैंकले ०.२९ प्रतिशत, नबिल बैंकले ०.२८ प्रतिशत, ग्लोबल आईएमईले ०.२३, एनसीसी बैंकले ०.२२ तथा कृषि विकास बैंकले ०.२० प्रतिशत विन्दुले यस्तो दर घटाएका छन् ।
एनएनबी र एभरेष्ट बैंकले क्रमशः ०.१३ र ०.१२ प्रतिशत विन्दुले आधार दर घट्दा नेपाल एसबीआई बैंक, सेन्चुरी बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, सिद्धार्थ बैंक , सिभिल बैंक, हिमालय बैंक, सानिमा बैंक, नेपाल बंगलादेश बैंक र एनआईसी एशिया बैंकको आधार दर ०.१० प्रतिशत विन्दुभन्दा कमले मात्रै घटेको छ ।
सनराइज बैंक, राष्ट्रिय वाणिज्य बैंक, मेगा बैंक, कुमारी बैंक र प्राइम बैंकको बेररेट भने यो अवधिमा बढेको छ । प्राइम बैंकको सर्वाधिक ०.४० प्रतिशत, कुमारी बैंक ०.२० प्रतिशत, मेगा बैंकको ०.१८ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ०.१२ प्रतिशत तथा सनराइज बैंकको ०.३० प्रतिशत विन्दुले आधार दर बढेको हो ।
आधार दर बढेपनि राष्ट्रिय वाणिज्य बैंक सबैभन्दा कम आधार दर भएको बैंकको रुपमा कायमै छ । त्यस्तै, सिभिल बैंकको आधार दर घटेपनि यो बैंक सबैभन्दा बढी आधार दर भएको बैंकको रुपमा कायमै रहेको छ ।
चैत मसान्तसम्मको तथ्यांक हेर्दा २२ वटा वाणिज्य बैंकको आधार दर एकल अंकमा छ । बाँकी ५ वटा बैंकको बेस रेट भने दोहोरो अंकमै कायम छ । अघिल्लो त्रैमासमा एकल अंकमा बेस रेट झरिसकेको सनराइज बैंकको दर झिनो अंकले बढ्दा दोहोरो अंकमा पुगेको हो ।
बेसरेटलाई कर्जाको ब्याजदर निर्धारणको प्रमुख आधार मानिन्छ । बैंकको पुँजीकोषको लागत (कस्ट अफ फण्ड) अनिवार्य तरलता अनुपात (सीआरआर) लागत, स्थायी तरलता अनुपात (एसएलआर) लागत तथा सञ्चालन लागत समेतलाई जोडेर यस्तो दर निकालिन्छ ।
यो दर घट्दा ऋणीले तिर्नुपर्ने ब्याज दर स्वत: घट्ने र बढ्दा स्वत: बढ्ने हुन्छ । बैंकहरूले अघिल्लो महिना बचत तथा मुद्दती निक्षेपको ब्याजदरको अधिकतम सीमा एक प्रतिशत विन्दुका दरले घटाएका थिए । तर, ऋणको ब्याजदर भने एक त्यो तुलनामा न्यून दरले मात्रै घटेको छ ।
बैंकहरूले आधार दरमा निश्चित प्रतिशत जोखिम प्रिमियम थपेर ऋणको ब्याजदर निर्धारण गर्ने गर्छन् । तुलनात्मक रुपमा कम जोखिम भएका सुन कर्जा, मुद्दती निक्षेप कर्जा, सरकारी सुरक्षणपत्र धितोमा दिइने कर्जालगायतका जोखिम प्रिमियम सस्तो हुने गरको छ । मार्जिन प्रकृतिका कर्जा, ओभर ड्राफ कर्जालगायत कर्जाहरूको जोखिम प्रिमियम तुलनात्मक रुपमा उच्च हुने गरेको छ ।
आर्थिक न्युज दैनिकमा प्रकाशित समाचार ।