नेपाल राष्ट्र बैंकले ९ प्रतिशत ब्याजदरमा पाँचवर्षे नागरिक बचतपत्र विक्री खुलाएको छ । नेपाल सरकारका तर्फबाट राष्ट्र ऋण व्यवस्थापन विभागद्वारा जेठ १ गतेदेखि २१ गतेसम्मका लागि ‘नागरिक बचत पत्र २०८२’ विक्री खुला गरिएको हो । राष्ट्र बैंकले लामो समयपछि सर्वसाधारणलाई लक्षित गरी ल्याएको ४ अर्ब रुपैयाँ बराबरको उक्त बचतपत्रको ब्याजमा कर लाग्नेछ ।
न्यूनतम रू. १० हजार रुपैयाँको यस्तो बचतपत्र सर्वसाधारणले खरीद गर्न पाउनेछन् । यसभन्दा बढी लिन चाहनेले कुल रकमको सीमामा नबढाई रू. १० हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्मको बचतपत्र खरीद गर्न पाइनेछ । बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा समेत लिन पाइन्छ ।
सरकारले गत आर्थिक वर्षको अन्तिममा मात्र ऋण उठाएकोले यस्तो बचतपत्र करीब २ वर्षपछि जारी गरेको राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले बताए । यो सबै विक्री हुने उनको दाबी छ । ‘यो छिट्टै विक्री हुन सक्छ । बैंकहरूको मुद्दती निक्षेपको ब्याजदर १ प्रतिशत घटेर ८ दशमलव २५ भएको छ । सरकारले यतिबेला राम्रो ब्याज दिएको छ,’ उनले अभियानसँग भने, ‘यो सर्वसाधारण केन्द्रित छ । यसअघि सरकारी कर्मचारी, शिक्षक लगायतले बचतपत्र खरीद गर्ने गरेका थिए ।’
बचतपत्रको ब्याज भुक्तानी ६–६ महीनामा हुनेछ । नेपाली नागरिकले यस्तो बचतपत्र खरीद गर्न चाहेमा बैंक तथा वित्तीय संस्थाहरू, राष्ट्र बैंकका शाखा कार्यालय तथा बेवसाइटबाट फारम भरेर बुझाउन सक्नेछन् ।
आर्थिक अभियान दैनिकमा प्रकाशित समाचार ।