Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

लघुबिमाप्रति कम्पनीको बेवास्ताले अर्थमन्त्री असन्तुष्ट

२०७७ जेष्ठ २ गते

बिमा कम्पनीहरूले लघुबिमा विस्तारमा बेवास्ता गरेको भन्दै अर्थमन्त्री डा. युवराज खतिवडाले असन्तुष्टि व्यक्त गरेका छन् । बिमाको पहुँच वृद्धि भएपनि देशको प्राथमिकता र आवश्क्ता अनुसार लघुबिमा गर्न कम्पनीहरूले ध्यान नदिएको भन्दै पुराना कम्पनीले नमाने नयाँ कम्पनी दर्ता गरेर अघि बढ्ने उनले चेतावनी दिए ।
“बिमाको पहुच २७ प्रतिशत पुग्यो भन्दै गर्दा लघुबिमाको विस्तारलाई पनि हामीले विश्लेषण गर्नुपर्छ,” बिमा समितिको ५२ औं वार्षिकोत्सवको अवसरमा आयोजित भिडियो कन्फेरेन्समा खतिवडाले भने, “लघुबिमालाई प्राथमिकतामा राखेर पहुँच विस्तार गर्नुहोस्, भएका संस्थाहरूले काम गर्न सक्दैनन् भने नयाँ संस्था बनाएर अघि बढौं लामो समय कुर्न सकिँदैन ।”

बिमा समितिले कम्पनीहरूलाई कुल बिमालेखको १० प्रतिशत लघुबिमा जारी गर्न निर्देशन दिएपनि उनीहरूले लक्ष्य अनुसार बिमालेख जारी गर्न सकेका छैनन् । लघुबिमामा कम्पनीहरूले चासो नदेखाएपछि अर्थमन्त्री खतिवडाले भएका कम्पनीहरूले काम नगरे नयाँ कम्पनीलाई अनुमति दिने चेतावनी दिएका हुन् । उनले पशुबिमा, बाली बिमाका साथै साना तथा मझौला उद्योगको बिमा सरकारको प्राथमिकतामा रहेको उल्लेख गरे ।
यसैगरी, अर्थमन्त्री खतिवडाले नेपाल पूर्नबिमा कम्पनीले समेत व्यवसाय गर्न नसकेकोमा असन्तुष्टी व्यक्त गरे । पुनर्बिमा कम्पनीलाई पसल मात्र थापेर बसेको र व्यवसाय विस्तार गर्न ध्यान नदिएको भन्दै मार्केटिङ गर्न निर्देशन दिए । मन्त्री खतिवडाले बिमा कम्पनीहरूको दावी भुक्तानी प्रक्रियामा अझै पनि सर्वसाधारणको गुनासो आएको भन्दै त्यसलाई अन्त्य गर्नेगरी काम गर्न निर्देशन दिए । उनले बिमा क्षेत्रको नियमनका लागि बिमा प्राधिकरण ऐन छिट्टै पारित हुने समेत बताए । विषयगत, भौगोलिक र संस्थागत रूपमा विविधिकरण गर्न जरुरी रहेको बताए ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोरोना भाइरसले पार्ने प्रभाव न्यूनिकरणका लागि नियामक निकायबिच सहकार्य आवश्यक रहेको र यसका लागि छलफल गर्ने बताए । उनले बिमाको दावी भुक्तानीका साथै बिमितको हित संरक्षण, बिमा शिक्षा, चेतना विस्तारमा समेत अघि बढ्न आवश्यक रहेको उल्लेख गरे ।
धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले बिमा क्षेत्रको दायरा बढाएर कर्जा बिमा, व्यवसाय बिमाका साथै व्यक्तिगत आवश्यक्ताका आधारमा पोलेसी जारी गर्न सुझाव दिए । उनले बिमा कम्पनीहरूले म्युचुअल फण्ड बनाउन सक्ने व्यवस्था गरिएको भन्दै अब कक्पनीहरूले सेयरमा लगानी गर्ने सिमा बढाउनुपर्ने आवश्क्ता औंल्याए । यस्तै, नेपाल चाटर्ड एकाउन्टेन्टस् संस्थाका अध्यक्ष कृष्णप्रसाद आचार्यले बिमा कम्पनीको कोषलाई उत्पादनमुलक तथा पूर्वाधार विकासका लागि प्रयोग गर्नुपर्ने बताए । उनले बिमा पोलेसी जारी गर्दा प्रविधि टेक्नोलोजीको प्रयोग बढाउन पनि सुझाव दिए ।
नेपाल बिमक संघका अध्यक्ष दीपप्रकाश पाण्डेले कोरोनाका कारण विभिन्न व्यवसाय प्रभावित हुँदा निर्जीवन बिमा कम्पनीको व्यवसायमा पनि असर पर्ने बताए । उनले आगामी दिनमा बिमाको दायरा विस्तार गर्नका लागि सरकारले संचालन गर्दै आएको स्वास्थ्य बिमा बिमा कम्पनीहरूमार्फत नै संचालन गर्न, घर बिमामा अनुदान दिनलगायतका सुझाव दिए ।
जीवन बिमा संघ अध्यक्ष शिवनाथ पाण्डेले जीवन बिमा सबै नागरिकको आवश्यक्ता हो भन्ने कुरा राज्यले स्विकार गर्नुपर्ने बताए । जीवन बिमाको दायरा विस्तार गर्न कर छुटको सीमालाई २५ हजारबाट बढाउनुपर्ने र न्यून आय भएका नागरिकको बिमा सरकारले गर्नुपर्ने उल्लेख गरे । कम्पनीहरूको बिमा कोष बैंकमा बसेको र त्यसको ब्याजदरमा मात्र बिमा कम्पनीको आम्दानी निर्भर रहेको भन्दै उनले दिर्घकालिन बण्ड ल्याउन समेत सुझाव दिए ।
समितिका अध्यक्ष चिरञ्जीवी चापाँगाईले बिमा क्षेत्रको विकास र विस्तारमा लागिरहेको बताए । उनले बिमाको पहुँच विस्तारसँगै कम्पनीहरूको संस्थागत सुशासन, पारदर्शीता, बिमितको हितमा जोड दिइएको बताए ।

कारोबार दैनिकमा प्रकाशित समाचार ।

Ad