Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

बेवारिसे बन्यो सरकारको खर्च कटौती नीति

२०७७ बैशाख ३० गते

चार मन्त्रालयमा अझै दुई–दुई जना सचिव

सरकारले कोरोना भाइरसको संक्रमणबाट उत्पन्न असहज परिस्थिति सामना गर्न लिएको अनावश्यक खर्च कटौती नीतिको सशक्त कार्यान्वयन हुन सकेको छैन । खर्चको बोझ कम गर्न कर्मचारी दरबन्दी सिर्जनामा अंकुश लगाउने निर्णय गरिए पनि एउटै मन्त्रालयमा दुई जना सचिव रहने प्रावधान हटाउन नसक्दा राज्यकोषमा वार्षिक करोडौं रुपैयाँ व्ययभार परिरहेको छ ।

हाल शिक्षा, विज्ञान तथा प्रविधि, कृषि तथा पशुपक्षी विकास, उद्योग वाणिज्य तथा आपूर्ति र अर्थ मन्त्रालयमा दुई–दुई जना सचिव कार्यरत छन् ।

यसअघि संघ, प्रदेश र स्थानीय तहको ‘ओ एन्ड एम सर्भे’ गरी कर्मचारी समायोजन गर्ने समयमा सरकारले एकै मन्त्रालयमा दुई सचिव नराख्ने नीति लिएको थियो । दुई सचिव भएका मन्त्रालयमा एक सचिव सेवानिवृत्त भएपछि स्वतः एक जना मात्र रहने नीति अख्तियार गरिएको थियो ।

तर, सरकारले तत्कालीन समयमा लिएको नीतिलाई कार्यान्वयन गर्न नसक्दा चारवटा मन्त्रालयमा दुई–दुई जना सचिव रहेका हुन् । प्रशासनविद्का अनुसार एकै मन्त्रालयमा दुई जना सचिव राख्दा अनावश्यक खर्च बढ्नुका साथै त्यसले मन्त्रालयको कामकारबाहीमै गम्भीर समस्या पार्छ ।

‘एउटै मन्त्रालयमा दुई जना सचिव राख्दा मन्त्रीलाई सचिव खेलाएर आफ्नो रुचिअनुसारको काम गराउन सहज हुन्छ तर देशलाई भने घाटा पर्छ,’ पूर्वसचिव शारदाप्रसाद त्रितालले राजधानीसँग भने ।

पूर्वसचिव त्रितालले सरकारले खर्च कटौतीसम्बन्धी नीति लिए पनि ठूला कर्मचारीकै असहयोगका कारण सो नीति कार्यान्वयनमा समस्या आउने बताए ।

एकै मन्त्रालयमा दुई सचिव राखेर अनावश्यक खर्च बढाउने काम गरिएको पूर्वसचिव त्रितालको भनाइ छ । एकै मन्त्रालयमा दुई चिव राख्दा सचिवालयसमेत दुइटा राख्नुपर्छ । सचिवको सचिवालयमा अधिकृत, सुब्बा, कार्यालय सहयोगी र चालक गरी ६ जनाभन्दा बढी कर्मचारी राख्नुपर्छ । गाडी सुविधा पनि छुट्टाछुट्टै चाहिन्छ ।

प्रशासनविद्का अनुसार दुई सचिव राख्दा एउटा मन्त्रालयमा वार्षिक ६० देखि ७० लाखभन्दा बढी अनावश्यक खर्च हुन्छ, जुन सरकारले लिँदै आएको खर्च मितव्ययिता नीतिविपरीत हो । पूर्वसचिव त्रितालले एकै मन्त्रालयमा रहेका दुई सचिव पदमध्ये एक पद तत्काल कटौती गरी अनावश्यक खर्च घटाउनुपर्ने बताए ।

कोरोना भाइरस संक्रमणका कारण जारी लकडाउनका समयमा सरकारले कर्मचारीले लिँदै आएको प्रोत्साहन भत्ता कटौती गर्ने निर्णय गरेको छ तर यस्तो प्रोत्साहन भत्तालाई सधैंका लागि अन्त्य गर्नुपर्ने प्रशासनविद्को सुझाव छ । सरकारले सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्ने निर्देशिका २०७५ जारी गरे पनि त्यसलाई सशक्त रूपमा कार्यान्वयन गरिएको छैन ।

‘अनावश्यक खर्च कटौती गर्नुपर्ने समय यही हो तर यस सम्बन्धमा सरकारका उच्च अधिकारीहरू खासै संवेदनशील बन्न नसक्दा खर्च कटौती हुन सकेको छैन,’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक अधिकारीले भने ।

अहिले पनि विभिन्न मन्त्रालय मातहत दर्जनांै संख्यामा विभिन्न समिति र संस्था छन् । ती समिति र संस्थाको कुनै काम नभए पनि खारेज हुन सकेका छैनन् । कामै नभएका विकास समिति तथा संस्थाले अनावश्यक रूपमा वार्षिक करोडांै रुपैयाँ खर्च गरिरहेको प्रधानमन्त्री कार्यालयका ती अधिकारीले बताए ।

यसअघि सरकारले नै अर्थविद् डिल्लीराज खनालको संयोजकत्वमा सार्वजनिक खर्च पुनरावलोकन आयोग गठन गरेको थियो । आयोगले सरकारलाई प्रतिवेदन बुझाए पनि सरकारले सो प्रतिवेदनका सुझाव कार्यान्वयनमा ल्याउन सकेको छैन । आयोगले हाल कायम रहेका सयौं सरकारी निकायको औचित्य नभएको भन्दै खारेज गर्न सुझाव दिएको छ । पूर्वसचिव त्रितालले खनालको संयोजकत्वमा रहेको आयोगले दिएको सुझावलाई सरकारले कार्यान्वयनमा ल्याउन सके धेरै हदसम्म अनावश्यक खर्च कटौती हुने बताए ।

‘काठमाडौं महानगरमा सचिव अनावश्यक’
हालका ६ वटा महानगरपालिकामध्ये काठमाडौं महानगरपालिकामा सचिव दरबन्दी राख्नु गलत भएको प्रशासनविद् शारदाप्रसाद त्रितालको तर्क छ । काठमाडौं महानगरपालिकामा निजामतीबाट जाने गरी सचिव र सहसचिवको दरबन्दी राखिएको छ । तर, अन्य पाँच महानगरपालिकामा भने सहसचिवको मात्रै दरबन्दी छ । अन्य सबै महानगरमा सहसचिव हुने तर काठमाडौंमा सचिव राख्दा सचिवको मनोबल गिर्ने त्रितालको भनाइ छ । महानगरपालिका स्थानीय तह हो । सचिवहरूले आफूलाई स्थानीय तहमा बस्दा हेपिएको अनुभूति गर्ने गरेका छन् ।

‘हेपिएको अनुभूति गर्दा सचिवहरूले राम्ररी काम गर्न सक्दैनन् त्यसैले काठमाडांै महानगरमा सचिवको दरबन्दी कटौती गरी सहसचिवलाई नै पूर्ण जिम्मेवारी दिँदा खर्च कटौती हुुनुको साथै काम पनि प्रभावकारी हुन्छ,’ त्रितालले भने ।

राजधानी दैनिकमा प्रकाशित समाचार ।

Ad