Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

यातायात क्षेत्रमा छुटको माग

२०७७ बैशाख २५ गते

 भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले बन्दाबन्दीका कारण यातायात व्यवसायीहरू बढी मर्कामा परेको भन्दै राहतका लागि पहल गरिने बताउनुभएको छ । बिहीबार मन्त्रालयमा ज्ञापनपत्र बुझाउन गएका नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका प्रतिनिधिहरूलाई उहाँले सो कुरा बताउनुभएको हो ।
मन्त्री नेम्वाङले यातायात क्षेत्र बढी नै प्रभावित भएकाले व्यवसायीहरूको मागप्रति पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । बन्दाबन्दी खुलेपछि पनि सार्वजनिक यातायात कसरी व्यवस्थित गरेर सञ्चालन गर्ने भन्ने कुरा चुनौतीपूर्ण रहेको उहाँको भनाइ छ । कोरोना भाइरस नियन्त्रणका लागि गरिएको लकडाउनका कारण अति प्रभावित भएका यातायात व्यवसायीहरूले भने राहत प्याकेजको माग गरेका छन् । महासङ्घले लकडाउनका कारण दुई लाख ५५ हजार सार्वजनिक सवारीसाधन सञ्चालन नहँुदा मजदुर, सवारीधनी र आश्रित परिवारसहित ४२ लाख जनसङ्ख्या प्रभावित भएको जनाएको छ । सवारी सञ्चालन गर्न नपाउँदा बैङ्क किस्ता र ब्याज तिर्न नसकेको भन्दै सुविधाको माग गरेका छन् ।
महासङ्घले मासिक किस्ता हाललाई स्थगन गरी ब्याजलगायत ब्याज हर्जनामा पूर्ण छुटको माग गरेको छ । किस्ताको अवधि थप गर्नुपर्ने र बैङ्कको किस्ता नियमित नबुझाउँदा ब्याज वृद्धि हुने भएकाले सो ब्याज छुट गर्नुपर्ने महासङ्घको माग छ । किस्ता अवधि थपगरी सवारीसाधन सञ्चालन नहुँदासम्मको अवधिको ब्याज मिनाहा गर्नुपर्ने र लिँदै आएको ब्याजदर घटाउनुपर्ने महासङ्घका महासचिव सरोज सिटौलाले बताउनुभयो ।
लकडाउन अवधिको सार्वजनिक सवारीसाधनको अग्रिम सवारी करमा विशेष छुटका साथै ब्लुबुक, जाँचपास, रुट इजाजत नवीकरण र चालक अनुमतिपत्र यातायात सुचारु भएको मितिले तीन महिनाभित्र जरिवाना मिनाहा गरी नवीकरण गर्ने व्यवस्था गर्न महासङ्घले माग गरेको छ ।  

गोरखापत्र दैनिकमा प्रकाशित समाचार ।

Ad