Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

लकडाउनमा कालोबजारी गर्ने व्यवसायीबाट ५८ लाख जरिवाना

२०७७ बैशाख २५ गते

कोरोना भाइरस नियन्त्रणका लागि सरकारले ११ चैतदेखि देशभर लकडाउन गरेयता धेरै व्यापार, व्यवसाय बन्द छन् । सरकारले अत्यावश्यक वस्तुको सूची तयार गरी त्यस्ता वस्तु आपूर्ति गर्ने पसल भने खुला गर्न दिएको छ । तर, सुलभ मूल्यमा सहज आपूर्तिका लागि सरकारले गरेको आग्रहविपरीत केही व्यवसायीले नाफाखोर प्रवृत्ति देखाएका छन् । 

यस्ता नाफाखोर व्यवसायीहरूबाट अनुगमनकारी निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ५८ लाख ८० हजार रुपैयाँ जरिवाना तिराएको छ । लकडाउन अवधिमा खाद्यान्न, माछामासु, सर्जिकल सामग्री र ग्यासमा बढी मूल्य असुल्ने, गुणस्तरहीन सामग्री बिक्री गर्ने, कृत्रिम अभाव सिर्जना गर्नेलगायतका कसुरमा उपभोक्ता संरक्षण ऐन, ०७५ अनुसार व्यवसायीलाई अधिकतम जरिवाना तिराइएको विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले जानकारी दिए ।

४९ फर्मलाई जरिवाना ३ ले बुझाए

विभागका अनुसार लकडाउनयता १ सय २० फर्ममा अनुगमन भएको छ । त्यसमध्ये ४९ फर्मलाई विभिन्न कसुरमा कारबाही गरिएको छ । विभागका निर्देशक सागर मिश्रका अनुसार कसुर हेरेर ५ हजारदेखि ३ लाख रुपैयाँसम्म जरिवाना तिराइएको छ । अधिकांश फर्मलाई बढी मूल्य लिए। उनका अनुसार १५ वैशाखमा टंगालस्थित भाटभटेनी सुपर मार्केटमा १ सय २० रुपैयाँको लाखमरी मिठाईलाई २ सय २० रुपैयाँमा बिक्री गरेको भेटिएको थियो । बढी मूल्य लिएको कसुरमा विभागले ३ लाख रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको थियो । सो रकम भाटभटेनीले विभाग पुगेर बुझाइसकेको छ ।

त्यसैगरी १६ वैशाखमा सीतापाइलास्थित सेलवेज क्यास एन्ड क्यारीले डेटोलको हात धुने साबुन बढी मूल्यमा बिक्री गरेको भेटिएपछि २ लाख रुपैयाँ जरिवाना तिराउने निर्णय भएको थियो । सो रकम कम्पनीले विभागमा आएर बुझाएको छ । १७ वैशाखमा इमाडोलस्थित सर्जिकल सामग्री बिक्री गर्ने काठमाडौं टे«डिङमा अनुगमन गर्दा मास्क बढी मूल्य लिएर बिक्री गरेको पाएपछि २० हजार रुपैयाँ जरिवाना तिराइएको थियो । सो कम्पनीले पनि विभागमा आएर जरिवाना रकम तिरिसकेको छ ।

३ विरुद्ध मुद्दा चल्दै

५ वैशाखमा महाराजगन्जस्थित नेपाल प्रहरीको महालक्ष्मी पेट्रोलपम्पमा पुगेको पेट्रोलमा करिब ५ सय लिटर पानी भेटिएको विषयलाई विभागले सूक्ष्म अनुसन्धान गर्दै छ । त्यसैगरी बलम्बुको धनलक्ष्मी कोल्ड स्टोरले बढी मूल्यमा ग्यास बिक्री गरेको पाएपछि अनुगमन टोलीले २० हजार रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको छ ।

तर, अनुगमनकर्ताले अन्याय गरेको भन्दै पसल सञ्चालकले विभागका महानिर्देशक सुवेदीसमक्ष उजुरी दिएकाले त्यसको पनि अनुसन्धान भइरहेको छ । त्यस्तै, आँखु इन्टरप्राइजेजले ६३ कार्टुन सर्जिकल सामग्रीको कालोबजारी गरेको पाएपछि कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय, काठमाडौंलाई अनुसन्धानका लागि पठाएको महानिर्देशक सुवेदीले जानकारी दिए ।

नयाँ पत्रिका दैनिकमा प्रकाशित समाचार ।

Ad