Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

नौ महिनामा ९ खर्ब व्यापार घाटा

२०७७ बैशाख २४ गते

आर्थिक वर्ष २०७६-७७ को नौ महिनामा ९ खर्ब ८२ अर्ब ५३ करोडको आयात हुँदा १ खर्बको पनि निर्यात हुन सकेको छैन । चालू आवमा कुल निर्यात ७८ अर्ब ८२ करोडको मात्र भएको छ । यसले गर्दा गत चैतसम्ममा नेपाललाई कुल वस्तु व्यापार घाटा ९ खर्ब ३ अर्ब ७२ करोडमा सीमित हुन पुगेको नेपाल राष्ट्र बैंकले उल्लेख गरेको छ ।

भन्सार विभागको तथ्यांकअनुसार १० खर्ब ६१ अर्ब ३५ करोड रुपैयाँबराबरको वैदेशिक व्यापार भएकोमा ९ खर्ब ८२ अर्बको त आयात नै भएको छ । चालू आर्थिक वर्षको नौ महिनामा जम्मा ७८ अर्ब ८१ करोड रुपैयाँबराबरको निर्यात भएको भन्सार विभागले जनाएको छ ।

विभागका अनुसार यो नौ महिनामा १ खर्ब ६१ अर्बको पेट्रोलियम पदार्थ आयात भएको छ । यसैगरी ५९ अर्ब ३९ लाखको सवारीसाधन आयात भएको छ । भन्सार विभागले चैतसम्म २ खर्ब ४४ अर्ब राजस्व उठेको जनाएको छ । सरकारले विलासी वस्तु तथा गुणस्तरहीन वस्तुको आयात निरुत्साहित गर्ने भने पनि आयातमा आधारित राजस्व नीतिका कारण कडाइ गर्न नसक्दा व्यापार घाटा चुलिएको हो । सरकारले मास ट्रान्सपोर्टेसनभन्दा पनि प्राइभेट ट्रान्सपोर्टेसनलाई नै अप्रत्यक्ष रूपमा टेवा दिइरहेका कारणले व्यापार घाटा बढेको हो ।

राष्ट्र बैंकले दुई वर्षअघि गरेको अध्ययनमा सरकारले गर्ने खर्चको ७१ प्रतिशत आयातका लागि बाहिरिने गरेको थियो । विकास खर्चतर्फको रकम भने मुलुकमा बढी मूल्य अभिवृद्धिमा उपयोग हुन्छ । उपभोग्य वस्तुको आयातबाट व्यापारघाटा चुलिँदा त्यसले विदेशी मुद्रा सञ्चितिमा चाप पर्नुका साथै शोधनान्तर थप ऋणात्मक भई बाह्य क्षेत्र स्थायित्वमा दबाब सिर्जना हुन्छ । कोरोनाका कारण लकडाउनले गर्दा उत्पन्न परिस्थितिमा आगामी बजेटले तत्काल उत्पादन वृद्धिमा जोड दिएर सम्भव हुने वस्तुको आयात प्रतिस्थापन गर्नेमा केन्द्रित गर्नु आवश्यक रहेको छ ।

सरकारले विलासी वस्तु तथा गुणस्तरहीन वस्तुको आयात निरुत्साहित गर्ने भने पनि आयातमा आधारित राजस्व नीतिका कारण कडाइ गर्न नसक्दा व्यापार घाटा चुलिँदै गइरहेको छ ।

यो बेलामा सरकारले जलविद्युत् आयोजनाको निर्माणलाई दु्रतता प्रदान गर्न सकेको खण्डमा भारतबाट बिजुली आयात गरिरहनुपर्ने बाध्यात्मक अवस्था अन्त्य हुन्थ्यो । तर, दुई महिनाको लकडाउन नपुग्दै जलविद्युत् आयोजनाले एक वर्ष निर्माण अवधि पछाडि धकेलिने जिकिर गर्न थालेका छन् ।

यो अवधिमा आयात भएका प्रमुख वस्तु पेट्रोलियम हो । पेट्रोलियम आयातमा मुलुकबाट १ खर्ब ८२ अर्ब बाहिरिएको छ । त्यस्तै, एक खर्ब ८ अर्बको फलाम र स्टिल, ९० अर्ब जतिको अर्बको मेसिनरी, ७० अर्बको सवारीसाधन र ६६ अर्बको विद्युतीय सामग्री आयात भएको छ । निर्यातमा भने पहिलो सूचीमा पामको तेल छ । यो अवधिमा ७ अर्ब ३४ करोड रुपैयाँको पामको तेल निर्यात भएको छ । त्यस्तै, ७ अर्ब २४ करोडको धागो, ५ अर्ब ७६ करोडको गलैंचा, ५ अर्ब ६८ करोडको चिया तथा कफी र ५ अर्ब जतिको फलाम र स्टिलका सामग्री निर्यात भएको छ ।

यो अवधिमा प्रमुख व्यापार साझेदार भारत र चीनबाट हुने आयातको हिस्सा कुल आयातको क्रमशः ६४.८ र १४.५ प्रतिशत छ भने कुल निकासीमध्ये भारत र अमेरिकाको हिस्सा क्रमशः ६३.४ र ११.४ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०७६/७७ को आठ महिनासम्ममा चालू खाता घाटा १ खर्ब २४ अर्ब ९३ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १ खर्ब ९१ अर्ब ४९ करोड रहेको थियो ।

कुल वस्तु निर्यात १२.९ प्रतिशतले वृद्धि भई ७८ अर्ब ८२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १६.९ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारततर्फ निर्यात २५.४ प्रतिशतले बढेको छ भने चीनतर्फ र अन्य मुलुकतर्फ क्रमशः २८.१ प्रतिशत र ७.५ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा भारततर्फ २८.९ प्रतिशत र अन्य मुलुकतर्फ ३.० प्रतिशतले निर्यात बढेको थियो भने चीनतर्फ २५.७ प्रतिशतले घटेको थियो ।

विगत पाँच वर्षको वस्तुगत आयातको प्रवृत्ति हेर्दा पेट्रोलियम पदार्थ, यातायातका साधन तथा उपकरण, एमएस बिलेट, अन्य मेसिनरी तथा पाटपुर्जा, सिमेन्ट, औषधि, दूरसञ्चारका उपकरण तथा पाटपुर्जा, सुनलगायतका वस्तुको आयात उल्लेख्य रहेको छ ।

विगत पाँच वर्षको वार्षिक तथ्यांकका आधारमा नेपालले आयात गर्ने वस्तुमध्ये औसतमा उपभोग्य वस्तुको हिस्सा १८.६ प्रतिशत, अन्तरिम वस्तुको हिस्सा ६४.८ प्रतिशत र पुँजीगत वस्तुको हिस्सा १५.१ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०७६-७७ को पहिलो ६ महिनाको कुल आयातमा उपभोग्य वस्तुको हिस्सा २०.१ प्रतिशत, अन्तरिम वस्तुको हिस्सा ६२.९ प्रतिशत र पुँजीगत वस्तुको हिस्सा १५.४ प्रतिशत रहेको छ

गन्तव्यका आधारमा पछिल्लो पाँच वर्षमा भारततर्फ ३.३ प्रतिशत रहेको निर्यातको वृद्धिदर आर्थिक वर्ष २०७६/७७ को पहिलो ६ महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४५.८ प्रतिशतले वृद्धि भई ४० अर्ब १४ करोड पुगेको छ । त्यसैगरी, चीनतर्फ १.६ प्रतिशत र अन्य मुलुकतर्फ १.९ प्रतिशत रहेको निर्यात वृद्धिदर चालू आर्थिक वर्षको पहिलो ६ महिनामा क्रमशः ८.५ प्रतिशत र ३.८ प्रतिशतले कमी आई १ अर्ब २ करोड तथा १६ अर्ब १२ करोड कायम भएको छ । पछिल्लो पाँच वर्षको वस्तुगत निर्यातको प्रवृत्ति हेर्दा कुल निर्यातमा अलैंची, जुस, जुटका सामान, धागो लत्ताकपडा, जस्तापाता, तार, रोजिन, पिना, जुत्ताचप्पल, आयुर्वेदिक औषधिलगायत प्रमुख छन् ।

चालू आर्थिक वर्षको पहिलो ६ महिनामा निर्यात वृद्धि भएका प्रमुख वस्तुमा अलैंची, जुट र जुटका सामान, आयुर्वेदिक औषधि, दाल, धागो (पोलिस्टर तथा अन्य)लगायतका वस्तु नेपालबाट विगतदेखि नै नियमित रूपमा निर्यात हुने वस्तु हुन् भने पाम तेलको निर्यात भने गत आर्थिक वर्षदेखि मात्र सुरु भएको हो । चालू आर्थिक वर्षको पहिलो ६ महिनामा पाम तेलको निर्यात १३ अर्ब ९० करोड रहेको छ । सो अवधिमा भएको कुल निर्यातमा पाम तेलको अंश २४.३ प्रतिशत रहेको छ । यस अवधिको कुल निर्यातको वृद्धिमा पाम तेलको निर्यातकै प्रमुख भूमिका रहेको छ । भारत सरकारले कच्चा पाम तेल आयातमा उच्च भन्सार महसुल (५४ प्रतिशत) लगाएको र नेपालमा यस्तो महसुल १० प्रतिशत मात्र भएकाले पाम तेलको निर्यात वृद्धि हुँदै गएको छ । यस आर्थिक वर्षको पहिलो ६ महिनामा कुल वस्तु निर्यात २६.१ प्रतिशतले वृद्धि भए तापनि पाम तेलबाहेकका वस्तुको निर्यात करिब ०.७ प्रतिशतले मात्र वृद्धि भएको देखिन्छ भने एमएस बिलेट, पेट्रोलियम पदार्थ, सुन, यातायातका साधन तथा पार्टपुर्जा, सिमेन्टलगायतका वस्तुको आयात घटेको छ ।

विगत पाँचवर्षदेखि निरन्तर रूपमा बढ्दै गएको आयातको वृद्धिदर आर्थिक वर्ष २०७६÷७७ को पहिलो ६ महिनामा ४.० प्रतिशतले घटेर ६९४ अर्ब ६९ करोड कायम भएको छ ।

राजधानी दैनिकमा प्रकाशित समाचार ।

Ad