Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

पर्यटनमा २५ अर्बको क्षति

२०७७ बैशाख २४ गते

कोरोनाको महामारीबाट जटिल अवस्था नफैलिएको भए यति बेला नेपाल २० लाख पर्यटक उतार्ने अभियान ‘भ्रमण वर्ष २०२०’ मनाइरहेको हुन्थ्यो । नेपालको अर्थतन्त्रलाई उथलपुथल पार्ने भनिएको सरकारको यो महाअभियानलाई साथ दिन अघिल्लो वर्षको दाँजोमा ८ लाख बढी पर्यटक ल्याउन देशभरका १ सय २९ तारे होटल यति बेला ‘फुल अकुपेन्सी’ मा चलिरहेका हुन्थे होलान् । तीसँगै पर्यटक स्तरीय ११ सय २५ वटा होटल पनि पर्यटकले भरिभराउ हुने थिए ।

 

तर दुर्भाग्य चैतयता नेपालको पर्यटन बजार सुनसान छ । पर्यटन विभागका अनुसार २६ सय ट्रेकिङ एजेन्सी बन्द छन् । झन्डै २० हजार टुर तथा ट्रेकिङ गाइड लकडाउनले घरभित्रै बस्न बाध्य छन् । ३ सय २४ वटा होमस्टेमा अतिथि छैनन् । ७३ वटा र्‍याफ्टिङ एजेन्सीले आफ्ना राफ्ट (डुंगा) लाई गोदाममा थन्क्याएका छन् । नेपालमा पर्यटक ल्याउने ७ वटा जेट विमानसहित आन्तरिक उडान गर्दै आएका ५१ वटा जहाज ह्यांगरमा थन्किएका छन् । पर्यटकको उद्धार तथा चार्टर उडानमा जाने १० वटा हेलिकप्टर कम्पनीका ३३ वायुयानले पनि काम पाएका छैनन् । खासमा यी सबैको यतिबेला मुख्य व्यापारको सिजन हो ।

‘२ लाख ७२ हजार मानिस कामविहीन भएको हाम्रो अनुसन्धानले देखायो,’ नेपाल पर्यटन बोर्डका सीईओ डा. धनञ्जय रेग्मीले भने, ‘प्रत्यक्ष पर्यटन क्षेत्रको रोजगारीमा रहेका १ लाख ७५ हजार कर्मचारी–कामदार तथा सिजनमा मात्रै आबद्ध हुने ९७ हजार मानिसको तथ्यांक हो यो ।’ गत वर्ष नेपाल भम्रणमा आएका पर्यटकको संख्यासँग मात्रै दाँज्दा यो वर्ष कमी भएको ४ लाख पर्यटकका कारण कति घाटा भयो, यकिन तथ्यांक भन्न सकिने अवस्था छैन । तर बोर्डले हालै सरकारको निर्देशनअनुसार गरेको अनुसन्धानले २५ अर्ब हाराहारीको व्यापार कमी भएको देखाएको छ ।

‘यो वर्ष पर्यटनमा कति क्षति भनेर यकिन भन्न सकिने अवास्था छैन । किनकि महामारीको असर जारी छ । लकडाउन कायमै छ । सबैभन्दा महत्त्वपूर्ण अन्तर्राष्ट्रिय हवाई सेवा बन्द छ,’ सीईओ रेग्मीले भने, ‘तर नेपाल आउने पर्यटकको औसत बसाइ र खर्चका आधारमा २५ अर्ब ९० करोड हाराहारीको व्यापार गुमेको देखिन्छ ।’

नेपालको पर्यटन क्षेत्रमा निजी क्षेत्रले गरेको लगानीबारे विभिन्न निकायका आआफ्नै तथ्यांक छन् । एउटाको तथ्यांक अर्को निकायसँग मिल्दैन । तर यी सबैको तालुक निकाय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वर्षमा पर्यटन क्षेत्रले करिब ८० अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा आर्जनमा टेवा पुर्‍याएको अनुमान गरेको छ । जसमा प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब १० मानिस योसँग जोडिएको उसले बताएको छ ।

पर्यटनमा सबैभन्दा धेरै लगानी भएको र विदेशी मुद्रा बढी आर्जन गर्नेमा होटल क्षेत्र पर्छ । होटल संघ नेपालका प्रथम उपाध्यक्ष विनायक शाहका अनुसार तारे होटलसहित मुख्य होटलहरुले मासिक १ अर्ब ८० करोडको व्यापार गुमाइरहेका छन् । संघले हालै आफ्ना ३ सय ५० सदस्य होटलमा गरेको सर्वेक्षणले यस्तो देखाएको हो । पर्यटन क्षेत्रमा सबैभन्दा धेरै लगानी होटल क्षेत्रमा देखिन्छ । यसमा करिब १० खर्ब रुपैयाँ निजी क्षेत्रले लगानी गरेका छन् । जसमा आधाभन्दा बढी लगानी बैंक तथा वित्तीय संस्थाबाट भएको छ । होटलले कारोबार गुमाउँदा बैंक तथा वित्तीय संस्थाको आम्दानीमा समेत नकारात्मक असर पुग्ने देखिन्छ । नेपालका होटलको प्रतिदिन ६ हजार ५ सय अतिथिलाई सत्कार गर्न सक्ने क्षमता छ । अर्थात् वर्षमा २५ लाख पर्यटक नेपालका होटलले थेग्न सक्छौं भन्छन् ।

त्यस्तै हेलिकप्टर र जहाज गरी २१ वटा आन्तरिक वायुसेवा कम्पनी रहेको नेपाली हवाई उद्योगले पनि यतिबेला मासिक १ अर्ब हाराहारीको कारोबार गुमाइरहेको वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलले बताए । यसमा जेट विमानमार्फत अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय र नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडानबाट आम्दानी समेटिएको छैन । यो क्षेत्रमा पनि निजी क्षेत्रले १२ खर्ब रुपैयाँ लगानी गरेको अनुमान छ ।

कोरोनाका कारण पर्यटन क्षेत्रमा दीर्घकालीन असर पर्ने बोर्डका सीईओ रेग्मीले बताए । तर चालु आवको अन्तिम चार महिनालाई मात्रै हेर्दा पर्यटन आगमन बन्द भएकाले करिब २५ अर्ब ९० करोड रुपैयाँको व्यापार गुम्ने देखिन्छ । यो अघिल्लो वर्ष नेपालमा आएका पर्यटकको आगमनसँग यस वर्षको आगमनलाई तुलना गर्दा देखिएको व्यापार घाटा मात्रै हो । पर्यटन बोर्डका अनुसार, अघिल्लो वर्षको तुलनामा यस वर्ष करिब ४ लाख पर्यटक घटे । ‘१२ लाख गत वर्ष आएका थिए, यस वर्ष ८ लाख मात्रै आए,’ रेग्मीले भने, ‘४ लाख पर्यटन नआउँदा उक्त व्यापार गुमेको हो ।’ तर पर्यटन क्षेत्रमा कोरोना भाइरसको प्रभावका कारण कति क्षति भइरहेको छ भन्ने तथ्यांक यकिन आइसकेको छैन ।

राष्ट्र बैंक र अर्थ मन्त्रालयले पनि पर्यटन क्षेत्रमा परेको असरबारे अध्ययन गरिरहेका छन् । तर यी दुवै निकायले भनेका छन्, ‘सरकारलाई नीति तथा कार्यक्रम बनाउने उद्देश्यले हामीले अनुसन्धान गरिरहेका छौं । तर तत्काल अध्ययन सार्वजनिक गर्दैनौं ।’

कोरोना भाइरसको प्रभावका कारण नेपालको पर्यटन क्षेत्रमा भइरहेको क्षतिको आकलन गर्न कठिनाइ भएको तथ्यांक विभागका उपमहानिर्देशक हेमराज रेग्मीले बताए । नेपाल जस्तै विकासोन्मुख मुलुकमा पर्यटन क्षेत्रको आर्थिक योगदान निकाल्न छुट्टै ‘टुरिजम–स्याटलाइट एकाउन्ट’ प्रणाली अपनाइएको हुन्छ । नेपालमा पनि यो प्रणाली अपाउन तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीकै पालामा घोषणा भएको थियो । तर अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन ।

पर्यटन क्षेत्रअन्तर्गत यस वर्ष नेपालमा पर्यटक आगमन झन्डै १४ प्रतिशत ऋणात्मक भएको तथ्यांक विभागले जनाएको छ । यो भनेको घाटा हो । त्यस्तै कुल गार्हस्थ्य उत्पादनमा पनि यस वर्ष होटल तथा रेस्टुरेन्टको योगदान १६ प्रतिशत ऋणात्मक हुने विभागको भनाइ छ ।

पर्यटन बोर्डले यो ऋणात्मक अवस्थाबाट पर्यटन क्षेत्रलाई पुनर्रुत्थान गर्न २० अर्ब रुपैयाँको कोष स्थापना गर्न सरकारलाई सुझाइसकेको छ । जसमा १० अर्ब हवाई क्षेत्र र बाँकी १० अर्ब होटल, ट्राभल, ट्ेरकिङलगायत क्षेत्रका लागि मागिएको छ । यसबाहेक वित्तीय सहुलियतअन्तर्गत ऋणमा तीन वर्षको अवधि थपेर पुनर्तालिकीकरण गरिनुपर्ने, कर मिनाहा, मूल्य अभिवृद्धि कर, दस्तुरलगायतमा छुट दिइनुपर्ने भनेको छ ।

यस्तो छ अवस्था

– १ सय २९ तारेमध्ये एक/दुईबाहेक सबै होटल बन्द

– २६ सय ट्रेकिङ एजेन्सी ठप्प

– झन्डै २० हजार टुर तथा ट्रेकिङ गाइड बेरोजगार

– ३ सय २४ वटा होमस्टेमा अतिथि छैनन्

– ७३ वटा र्‍याफ्टिङ एजेन्सी ठप्प

– ७ वटा जेट विमानसहित आन्तरिक उडान गर्दै आएका ५१ वटा जहाज थन्किए

– १० वटा हेलिकप्टर कम्पनीका ३३ वायुयान पनि कामविहीन

लकडाउन लम्बिए थप क्षति बढ्छ : राष्ट्र बैंक

राष्ट्र बैंकको प्रारम्भिक अध्ययन प्रतिवेदनले पनि लकडाउनका कारण पर्यटन क्षेत्रमा मात्र करिब २५ अर्ब रुपैयाँ बराबरको क्षति (नोक्सान) भएको बताएको छ । लकडाउनको अवधि कतिसम्म रहन्छ, त्यसपछि पनि होटल तथा रेस्टुरेन्ट तत्काल सञ्चालन हुन सक्ने अवस्था आउँछ/आउँदैन भन्ने आधारमा क्षति बढ्न सक्ने अध्ययनको निष्कर्ष छ ।

कोभिड–१९ भाइरसको संक्रमणले नेपाली अर्थतन्त्रमा पर्न सक्ने असर र आवश्यक नीतिगत उपाय सम्बन्धमा राष्ट्र बैंकले अध्ययन गरेको थियो । अध्ययन कार्यदलले आइतबार गभर्नरसमक्ष प्रारम्भिक प्रतिवेदन बुझाएको छ । त्यसका आधारमा राहत तथा सुविधाका लागि आवश्यक नीतिगत व्यवस्था गरिने बताइएको छ ।

अर्थतन्त्रका विभिन्न क्षेत्रमध्ये कोरानाका कारण उत्पन्न संक्रमणले सबैभन्दा बढी प्रभावित क्षेत्र पर्यटन हो । अनुसन्धान विभागका कार्यकारी निर्देशकको संयोजकत्वमा राष्ट्र बैंकले अध्ययन कार्यदल गठन गरेको थियो । कार्यदलमा राष्ट्र बैंक नियमन, सुपरभिजन, विदेशी विनिमय व्यवस्थापन र भुक्तानी प्रणाली विभागबाट एक/एक जना र बैंकर्स एसोसिएसनका अध्यक्ष सदस्य थिए ।

लकडाउनपछि पर्यटन क्षेत्रलाई लक्ष्य गरी राष्ट्र बैंकले ब्याज छुट, किस्ता भुक्तानी म्याद थपलगायत विभिन्न सुविधा दिएको छ । पछिल्लो पटक चैत मसान्तमा कायम ब्याजदरमा २ प्रतिशत बिन्दुले कम गरी चौथो त्रैमास (असारसम्म) को ब्याज भुक्तानी गर्न सकिने व्यवस्था ल्याएको छ । लघुवित्त वित्तीय संस्थाबाट ऋण लिएका ऋणीले चैतसम्मको ब्याजमा ३ प्रतिशत छुट पाउनेछन् । यो खासगरी साना तथा मझौला व्यवसाय (एसएमई) लाई लक्षित व्यवस्था हो ।

कान्तिपुर दैनिकमा प्रकाशित समाचार ।

Ad