अहिले विवाहको सिजन चलिरहेको छ । तर, यसको प्रभाव सुन बजारमा पर्न सकेको छैन । अरु बेला विवाहको सिजनमा खचाखच हुने सुन पसलहरु अहिले खाली देखिन्छन् । बेलायत युरोपियन युनियनबाट बाहिरिने भएपछि सुनको भाउ विश्व बजारमा नै आकासिएको छ । फलस्वरुप नेपालमा पनि सुनको भाउ बढ्दो क्रममा रहेको छ । यसले गर्दा मानिसहरुले सुन किन्न छाडेका छन् ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, पहिले पहिले विवाहको मौसममा दैनिक झन्डै २५ किलो सुन खपत हुने गरेकोमा अहिले मुस्किलले ६–७ किलो मात्र खपत हुने गरेको छ । बेलायत युरोपियन युनियनबाट बाहिर निस्किने÷ननिस्किने भन्ने अन्योल रहेसम्म सुन खपत बढ्ने सम्भावना नरहेको महासंघको अनुमान छ ।
खपत कम भएपनि सुनको आयात भने बढेको छ । चालू आर्थिक वर्षको पहिलो १० महिनामा नेपालमा ४१ सय १५ किलो सुन आयात भएको भन्सार विभागको तथ्यांक छ । विभागका अनुसार गत आर्थिक वर्षको तुलनामा सुन आयात दोब्बरभन्दा बढी भएको हो । गत आव ०७१÷७२ को पहिलो १० महिनामा १५ सय ८० किलो सुन मात्रै आयात भएको थियो ।