कोरोना भाइरसको संक्रमण, रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनपछि प्रत्यक्ष मार परेको भन्दै ठूला लगानीका तारे होटलहरु ६ महीनाका लागि बन्द भएका छन् ।
आइतवार तारे होटलका सञ्चालकहरुको भेलाले ठूला होटलहरु ठप्प भएको भन्दै वैशाख १ गतेदेखि लागू हुने गरी ६ महीनाका लागि सवै तारे होटल बन्द गर्ने निर्णय गरेका हुन् ।
लकडाउन पछि यसको प्रत्यक्ष मार पर्यटन उद्योगमा परेको र पर्यटनमा नकारात्मक असर दूरगामी पर्ने भन्दै आगामी १ वर्षसम्म कायम रहने निश्कर्षका आधारमा तारे होटलहरु बन्द गर्नु परेको होटल संघ नेपालले बताएको छ ।
यसैगरी संघले श्रमिक तथा कामदारलाई वैशाख १ गतेबाट लागू हुने गरी ६ महीनासम्म प्रत्यक महीना आधारभूत तलबको १२ दशमलव ५ प्रतिशतका दरले हुने रकम तथा सेवाशुल्क उपलब्ध गराउने निर्णय गरेको छ ।
यसैगरी बैठकले १२ दशमलव ५ प्रतिशतका दरले पारिश्रमिक लिन श्रमिक यूनियन सहमत नभएको अवस्थामा सो समयदेखि नै सबै सदस्य होटलले श्रम ऐन २०७४ को दफा १४५ बमोजिम कर्मचारी कटौतिका लागि प्रक्रिया चलाई सूचना दिई आंशिक वा पूर्ण रुपमा विदा दिने भनेको छ ।
आधारभूत तलबको १२ दशमलव ५ प्रतिशत रकममा सरकारले थप गरी श्रमिकलाई तलब भत्ता भुक्तानी गर्न ‘जव रिटेन्सन फन्ड’ को व्यवस्था गर्नका लागि होटल संघ र ट्रेड यूनियनले संयुक्त रुपमा नेपाल सरकारसमक्ष पहल गर्ने निर्णय पनि उक्त बैठकले गरको छ ।
भेलामा र्याडिसन, अन्नपूर्ण, सांग्रिला, होटल एम्बेसडर, सोल्टी, हायात, अन्नपूर्ण, शंकर होटल, होटल आकामा लगायत तारे होटलका सञ्चालकहरुको सहभागिता रहेको थियो ।
औद्योगिक सम्बन्धलाई व्यवस्थित गर्ने सम्बन्धमा सरोकार निकाय तथा श्रमिक संगठनहरुका बीचमा आवश्यक छलफल तथा सहकार्य गर्न निरन्तर पहल हुने होटल संघले बताएको छ ।
लकडाउनपछि नेपालमा आन्तरिक तथा बाह्यि हवाई उडानहरु बन्द छन् ।

आर्थिक अभियान दैनिकमा प्रकाशित समाचार ।