२०७७ बैशाख २० गते

स्वदेशी वस्तुलाई मूल्य अभिवृद्धि कर छुटको माग

तुलनात्मक लाभका स्वदेशी कच्चा पदार्थबाट उत्पादन हुने सवै वस्तुहरु स्वदेशमा बिक्री गर्दा मूल्य अभिवृद्धि कर शून्य दर कायम गर्न माग गरिएको छ । निर्यात व्यवसायी महासंघले स्वदेशी वस्तु उत्पादनलाई प्रोत्साहन दिन मुल्य अभिवृद्धि करमा शून्य दर कायम गर्नका लागि माग गरेको हो ।
कोरोना भाइरसको संक्रमणका कारण मुलुकको अर्थतन्त्र ह्रास हुन सक्ने र सुधारका लागि स्वदेशी वस्तु उत्पादन तथा बिक्री वितरणलाई सरकारले प्रोत्साहन दिनुपर्ने महासंघको माग छ । महासंघले तुलानात्मक लाभका वस्तुहरु उत्पादन गर्ने आयातित कच्चा पदार्थबाट तयारी वस्तु स्वदेशमा बिक्री गर्दा मूल्य अभिवृद्धि कर ५ प्रतिशत कायम गरी ३ वर्षसम्म छुट दिन माग गरेको छ । बन्डेड वेयर हाउसकोे सुविधाअन्तर्गत आवश्यक कच्चा पदार्थ आयत गरी एनटिआइएसका वस्तुहरु निर्यात गरेर विदेशी मुद्रा भुक्तानी प्राप्त भएपछि १६ महिना भित्रमा बैंक ग्यारेण्टी लिइ फुकुवा गरीसक्नु पर्ने प्रावधानलाई ३२ महिनासम्म म्याद कायम गर्ने व्यवस्था गर्न समेत महासंघले माग गरेको छ ।
महासंघका सचिव गोविन्द घिमिरेले तुलनात्मक लाभका स्वदेशी कच्चा पदार्थबाट उत्पादन हुने सबै वस्तुहरु स्वदेशमा बिक्री गर्दा मूल्य अभिवृद्धि कर शून्य दर कायम गर्दै सरकारलाई ज्ञापन पत्र बुझाएको जानकारी दिए । “स्वदेशी वस्तु उत्पादनमा सरकारले प्रोत्साहन दिए मात्रै मुलुकको अर्थतन्त्र सुधार हुन सक्छ,” उनले भने, “अब हजारौंको रोजगार खोसिन सक्छ, यसकारण राज्यले स्वदेशी कच्चा पदार्थ उत्पादन गर्ने उद्यम विकासलाई प्रवद्र्धन गर्न सक्नुपर्छ ।”

कारोबार दैनिकमा प्रकाशित समाचार ।