२०७७ बैशाख २० गते

लकडाउनपछि बैंकमा ऋणको माग छैन

बैंक तथा वित्तीय संस्थाका कार्यालय छिटफुट खुले पनि कर्जा लिन कोही आएनन्

नयाँ वर्ष ०७७ सुरु भएसँगै बैंक तथा वित्तीय संस्थाको नयाँ कर्जा प्रवाह स्थिर छ । यो अवधिमा बैंक तथा वित्तीय संस्थाले नयाँ कर्जा प्रवाह गर्न पाएका छैनन् । लकडाउनका बेला बैंक तथा वित्तीय संस्थाका कार्यालय छिटफुट खुले पनि त्यहाँबाट थप कर्जा प्रवाह भएको छैन ।

कोरोना (कोभिड–१९) को संक्रमणबाट बच्न सरकारले लकडाउन गरेकाले ऋणीको माग नआएपछि नयाँ कर्जा प्रवाह रोकिएको बैंक तथा वित्तीय संस्थाले जनाएका छन् । वैशाख १ देखि १४ सम्म बैंक तथा वित्तीय संस्थाबाट नयाँ कर्जा विस्तार नभएको राष्ट्र बैंकको तथ्यांकले पनि पुष्टि गर्छ ।

राष्ट्र बैंकका अनुसार वैशाख १ मा बैंक तथा वित्तीय संस्थाको कुल कर्जा प्रवाह ३२ खर्ब ४८ अर्ब रुपैयाँ छ । गत साता (वैशाख १४ गते) सम्म आउँदा पनि त्यसमा परिवर्तन भएको छैन । यो अवधिमा अत्यावश्यकबाहेक सबै कामकाज रोकिएकाले कर्जा प्रवाह नभएको हुन सक्ने राष्ट्र बैंकले जनाएको छ । वैशाख १४ मा पनि बैंक तथा वित्तीय संस्थाको कुल कर्जा प्रवाह ३२ खर्ब ४८ अर्ब रुपैयाँ छ ।

वित्तीय कारोबार अत्यावश्यक सेवाअन्तर्गत पर्ने भएकाले लकडाउनका बेला बैंक तथा वित्तीय संस्थाले बैंकिङ कारोबार जारी राखेका छन् । यो अवधिमा प्राय: बैंकले मुख्य कार्यालय दैनिक र बाँकी शाखा आलोपालोका आधारमा खोलिरहेका छन् । दैनिक दुई–तीन घण्टा बैंकका शाखा खुला रहे पनि ग्राहकको संख्या निकै कम रहेको र तिनमा पनि कर्जा माग गर्ने नगण्य रहेको बैंकर्स संघका पूर्वकार्यकारी सदस्य अशोक शेरचनले बताए ।

पटकपटक गरी पछिल्लो समय वैशाख २५ सम्मका लागि सरकारले लकडाउन गरेको छ । चैत ११ देखि लकडाउन भएकाले त्यसअघिका १० दिन बैंकिङ कारोबार नियमित थियो । लकडाउनकै अवधिमा पनि एनसेलले बैंकहरूबाट कर्जा लिएर करबापत ठूलो रकम सरकारलाई बुझाएको छ । यसकारण चैतमा २७ वटा वाणिज्य बैंकबाट मात्र करिब ४२ अर्ब रुपैयाँ थप कर्जा प्रवाह भएको देखिन्छ ।‘लकडाउनका कारणले होला, ससाना कर्जाको माग पनि छैन,’ उनले भने, ‘लकडाउनपछि आर्थिक गतिविधि बढ्न थालेपछि माग पनि बढ्ला ।’ यो अवधिमा औषधि तथा उपचारजन्य सामग्री आयातका लागि केही प्रतीतपत्र (एलसी) खुले पनि रकम भुक्तानी नभएकाले नयाँ कर्जा प्रवाह भएको नदेखिएको हुन सक्ने उनको भनाइ छ ।

‘वैशाखको पहिलो दुई साता कर्जा विस्तार स्थिर रहेको तथ्यांकमा देखिन्छ,’ राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले भने, ‘लकडाउन थप्दै गएकाले कर्जा विस्तार नभएको हुन सक्छ ।’ अवस्था सामान्य भएपछि सबैतिरबाट कर्जा माग बढ्ने उनले बताए ।

वैशाखको पहिला दुई सातामा कर्जा विस्तार नभए पनि करिब १४ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । वैशाख १ मा ३६ खर्ब ५७ अर्ब रुपैयाँ रहेको बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप वैशाख १४ सम्म ३६ खर्ब ७१ अर्ब रुपैयाँ छ । यो अवधिमा लकडाउन नभएका राष्ट्रबाट रेमिट्यान्स आएको छ । लकडाउनको अवधिमा पनि खाद्यान्न व्यापारी, ग्यास, औषधि तथा औषधिजन्य व्यापारीबाट निक्षेप संकलन भइरहेको बैंकहरूले बताएका छन् । यस्तो निक्षेप व्यापारिक घराना ग्राहक भएका बैंकमा धेरै संकलन भएको उनीहरूको भनाइ छ । व्यक्तिगत निक्षेप धेरै भएका बैंकमा भने निक्षेप खासै नबढेको बताइएको छ ।

गत चैतमा २७ वाणिज्य बैंकमा मात्र कुल ४९ अर्ब रुपैयाँ निक्षेप संकलन भएको थियो । गत फागुनमा ती बैंकमा करिब ७४ अर्ब रुपैयाँ निक्षेप संकलन भएको राष्ट्र बैंकको तथ्यांक छ । चैत मसान्तसम्म वाणिज्य बैंकहरूको कुल निक्षेप ३१ खर्ब ८९ अर्ब र फागुनमा ३१ खर्ब ४० अर्ब रुपैयाँ थियो ।

चैतमा ती वाणिज्य बैंकले ४२ अर्ब रुपैयाँ थप कर्जा प्रवाह गरेका छन् । यससँगै २७ वाणिज्य बैंकको कुल कर्जा प्रवाह २८ खर्ब ४५ अर्ब रुपैयाँ पुगेको छ । गत फागुनमा कुल कर्जा प्रवाह २८ खर्ब ३ अर्ब रुपैयाँ थियो ।

कोरोना उपचारमा आवश्यक औषधि, सुरक्षणका उपकरण तथा उपचारजन्य सामग्री आयातका लागि केही प्रतीतपत्र (एलसी) खोल्न राष्ट्र बैंकले केही खुकुलो व्यवस्था गरेको छ । तर पनि यसबीचमा निजी क्षेत्रबाट अपेक्षित रुपमा एलसी खुल्न सकेका छैनन् ।

कोरोना संक्रमण रोकथाम कोषमा योगदान गरेका रकम बैंक तथा वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)मा गणना गर्न पाउने, कोरोना संक्रमण नियन्त्रणका लागि आवश्यक औषधि, उपकर, औजारलगायत सामग्री आयात, बिक्रीवितरणका लागि ऋण माग भए ५ दिनभित्र उपलब्ध गराउन पनि राष्ट्र बैंकले निर्देशन दिएको छ ।

कान्तिपुर दैनिकमा प्रकाशित समाचार ।