२०७७ बैशाख १९ गते

भारतीय बैंकहरुद्धारा नयाँ व्याजदर घोषणा

बैंकिङ खबर । भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफइण्डियाले बैंक दर घटाएपछि बैंकहरुले धमाधम व्याजदर घटाइरहेका छन् । कर्जाको व्याजदर घटाउनुका साथै बैंकहरुले कर्जाको प्रक्रियालाई समेत सरलीकृत गरेका छन् । कोभिड १९ बाट व्यापार व्यवसायहरु प्रभावित भई अर्थतन्त्र संकटमा पर्ने अवस्था नआओस् भन्नाका खातिर बैंकहरुले सस्तो व्याजदरमा र सरल प्रक्रिया मार्फत कर्जा दिन थालेकाहुन् ।

बैंक अफ बरोडा, बैंक अफ इण्डिया, युनियन बैंक अफ इण्डिया र बैंक अफ महाराष्ट्रले विद्यमान ऋणीहरु र स्यालरी एकाउन्ट होल्डरहरुका लागि नयाँ कर्जा लिन सहज बनाएका छन् । अधिकतम ३६ देखि ६० महिनासम्मका लागि रिटेल ग्राहकलाई कर्जा दिइने बताइएको छ । यस्तो कर्जाका लागि बैंक अफ बरोडा, बैंक अफइण्डिया र युनियन बैंक अफ इण्डियाले व्याजदरमा झन्डै २०० बीपीएस कम गरेका छन् ।

बैंक अफ बरोडाले ५ लाख सम्मको कोभिड १९ रिटेल कर्जा १०.२५ प्रतिशत व्याजमा दिनेछ । सरकारी स्वामित्वको यस बैंकले व्यक्तिगत कर्जाको व्याजदर भने १०.५ देखि १२.५ प्रतिशतसम्म रहेको छ । त्यस्तै, बैंकले यीकर्जाहरुका लागि सिविल स्कोरमा खुकुलो गर्दै ६५० देखि ७०० बनाएको छ । यो व्यवस्थामा होम लोन, अटो लोन धितो कर्जामा लागू हुने बताइएको छ ।

युनियन बैंक अफ इण्डियाले सिविल स्कोर ६५० र कर्जाको व्याजदर ७.२ प्रतिशत कायम गरेको छ । व्यक्तिगत कर्जामा ९.३ देखि १३.४ प्रतिशतसम्म व्याजदर लिने गरेको बैंकले कोभिड १९ रिटेल कर्जामा आफ्ना विद्यमान ग्राहकहरुका लागि व्याजदर कम गरेको हो । यस्तो कर्जामा सरकारी स्वामित्वको बैंक अफ इण्डियाले सिविल स्कोर ६७५ कायम गरेको छ ।

यसबाट कर्जा प्रवाहको वृद्धिदर कायम रहने र नयाँ कर्जाहरु प्रवाह भइरहने अपेक्षा गरिएको छ । वित्तीय क्षेत्रको रेटिङ गर्ने ईक्राले कोभिड १९ का कारण खराब कर्जा बढ्ने, कर्जा शूल्क बढ्दै जाने र असुलीमा पनि ढिलाई हुने सम्भावना रहेको प्रक्षेपण गरेको छ ।