Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

मौद्रिक नीति ढिलाई हुनुका तीन कारण : डेपुटी गभर्नर भन्छन् ‘असारभित्रै आउँछ’   

२०७३ असार २८ गते
सेयर:

nrbनेपाल राष्ट्र बैंकले २६ असारसम्म मौद्रिक नीति ल्याउने तयारी लगभग पूरा गरिसकेको थियो । बिहिबार मौद्रिक नीतिबारे राष्ट्र बैंक सञ्चालक समितिमा छलफल समेत भएको थियो । त्यसअघि असार २६ गते मौद्रिक नीति ल्याइने भन्दै राष्ट्र बैंककै अधिकारीहरुले संचारमाध्यममा बोलेका थिए । राष्ट्र बैंकका प्रवक्ता त्रिलोचन पंगेनीले एक दैनिक पत्रिकालाई २६ गते नै मौद्रिक नीति ल्याइने बताएका थिए । श्रोतका अनुसार २६ असारमा मौद्रिक नीति ल्याउनको लागि नीतिको पुस्तक प्रकाशनको कभर पेजमा गते समेत तय भएको थियो । तर त्यो दिन पनि मौद्रिक नीति आएन ।

संचालक समितिको बैठकमा मौद्रिक नीतिबारे छलफल भएपछि मौद्रिक नीति यो दिन आउँदैछ भन्ने कुरा एकाएक अन्यौल हुन पुग्यो । २२ असारमै २६ असारमा मौद्रिक नीति ल्याउने भनेर नीतिको पुस्तकको कभर फाइनल भईसकेको थियो । तर संचालक समितिको बैठकपछि सो मिति परिवर्तन भएको श्रोतको दाबी छ ।
 
‘हामीले निर्णय नै नगरी मिडियामा यो बार र उबार भनेर आयो’ डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले बैंकिङ खबर डट कमसँग भने, ‘आगामी मौद्रिक नीति यही असारभित्रै ल्याउँछौँ ।’ मौद्रिक नीति यो दिनै ल्याउने भनेर नतोकिएको उनले दाबी गरे । ‘मौद्रिक नीति ल्याउने मिति तय भएको छैन’, उनले भने ‘जुन दिन मौद्रिक नीति ल्याउँछौँ त्यही दिन बिहान मिति तय गछौँ र तीन घण्टा अगाडी मिडियालाई खबर गछौँ ।’
केही विषयमाथी अझै छलफल गरी परिमार्जन गर्नुपर्ने भएकाले ढिला भएको उनले बताए । यद्यपी मौद्रिक नीति बुधबारसम्म ल्याउने तयारी राष्ट्र बैंकको रहेको श्रोतको भनाई छ ।
 
राष्ट्र बैंकका अर्का एक अधिकारीले भने ‘मौद्रिक नीति आजै अपराह्न ल्याउने तयारी थियो तर अब भोलिचाहिँ मौद्रिक नीति आउन सक्छ ।’
 
डेपुटी गभर्नर शिवाकोटीले भने मौद्रिक नीतिमा केही विषयमा छलफलका क्रममा रहेकाले ढिला भएको संकेत गरे । मौद्रिक नीति ल्याउन ढिला हुनुमा खास गरेर तीन वटा कारण प्रमुख रहेको अनुमान गरिएको छ ।

मुद्रास्फीति दर
मौद्रिक नीतिमा मुद्रास्फीति दर नयाँ तोक्ने कि बजेटले भनेकै ७ दशमलब ५ प्रतिशत तोकेर जाने भन्नेबारे पनि बहस नटुंगिएको श्रोतको दाबी छ । सरकारले आगामी आर्थिक वर्षका लागि १० खर्ब ४८ अर्बको बजेट ल्याएको छ । यति ठूलो आकारको बजेट ल्याउदा मुद्रास्फीतिदर साढे ७ प्रतिशत सीमामा राख्न कठिन हुने भन्दै केही बोर्ड सदस्य नयाँ दर तोकेर जानु उपयुक्त हुने अडानमा छन् । तर यसो गर्दा सरकारसँग सोझै न्यु खोजेजस्तो हुने भएकोले नीतिको मध्यावधि समीक्षामा सच्याउने गरी अहिलेलाई ७ दशमलब ५ प्रतिशत नै तोकेर जानुपर्ने केही बोर्ड सदस्यको विचार छ ।

लघुवित्तको चुक्ता पुँजी
श्रोतका अनुसार राष्ट्र बैंकमा अहिले लघुवित्तको पूजी बृद्धि योजनामा नयाँ विवाद देखिएको छ । राष्ट्र बैंक बोर्ड पदाधिकारीमध्ये केहीले लघुवित्तको पूँजी क्रमिक रुपमा बढाउने योजना ल्याउनुपर्ने विचार राखेका छन् भने केही बोर्ड सदस्यले एकै पटकमा बृद्धि गर्ने समयसीमा दिनुपर्ने बताएका छन् । अन्य बैंक वित्तीय संस्थाको झै कम्तिमा ४ गुणाले नै बढाउने वा औचित्यको आधार प्रष्ट पार्दै थोर–धेर गर्ने भन्ने विवाद पनि भइरहेको बताइएको छ । श्रोतका अनुसार सिआरआर बढाउनेबारे समेत विवाद देखिएको छ ।

पूर्ववत् रुपमा मिडियाबाजी
राष्ट्र बैंक श्रोतका अनुसार प्रवक्ता त्रिलोचन पंगेनीले मौद्रिक नीतिको मितिबारे मिडियामा बोलेपछि आइतबार मौद्रिक नीति ल्याउने निर्णय परिवर्तन भएको हो । उनले आइतबार अर्थात २६ असारमै मौद्रिक नीति ल्याउन सकिने भन्दै मिडियामा बोलेका थिए । २६ असारमै ल्याउने तयारी गरिएको मौद्रिक नीति एकाएक पछि सर्नुको एउटा कारण यो पनि हुन सक्ने अनुमान गरिएको छ । राष्ट्र बैंकले मौद्रिक नीति आउनुभन्दा केही घण्टा अघिमात्रै मिडियालाई खबर गर्ने तयारी गरिरहेका बेला प्रवक्ताले आइतबार आउन सक्ने बताइदिएपछि मौद्रिक नीति सार्वजनिक गर्नका लागि तय गरिएको मिति पछि सरेको हुन सक्ने अनुमान गरिएको छ ।