२०७७ बैशाख १७ गते

चालु आवको आर्थिक वृद्धिदर २.२७ प्रतिशतमा सीमित हुने केन्द्रीय तथ्यांक विभागको प्रक्षेपण

बैंकिङ खबर । केन्द्रीय तथ्यांक विभागले मुलुकको अर्थतन्त्र चालु आर्थिक वर्षमा २.२७ प्रतिशतमा सीमित हुने जनाएको छ । गत आर्थिक वर्षमा आर्थिक वृद्धिदर ६.७५ प्रतिशत कायम भएकोमा विभागले चालु आव मा हाल २.२७ प्रतिशत मात्र आर्थिक वृद्धि हासिल हुने प्रक्षेपण गरेको छ । विभागले यो विवरण चालु आर्थिक वर्षको ९ महिना अर्थात साउनदेखि चैतसम्मको तथ्यांकका आधारमा विवरण निकालेको हो । यससँगै नेपालको अर्थतन्त्रको आकार ३७ खर्ब ७६ अर्ब रुपैयाँ पुग्ने विभागले जनाएको छ। गत आर्थिक वर्षमा ६.७५ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने अनुमान गरेको विभागले चालु वर्षमा आर्थिक वृद्धिदर ४.४८ प्रतिशत बिन्दुले कम हुने प्रक्षेपण सार्वजनिक गरेको छ। कोरोना भाइरस संक्रमणका कारण अर्थतन्त्र थला परेको कारण सबैतिर निराशाजनक विवरण देखिएको बुझिएको छ।

आ.ब. २०७६/७७ मा केही प्रमुख आर्थिक सूचकहरुको अवस्था (Key Macroeconomic Indicators)

 स्थिर  मूल्य अनुसार कुल गार्हस्थ्य  उत्पादनबृद्धिदर (Growth Rate) आधारभूत मूल्यमा २.२७ प्रतिशत

चालु मूल्यअनुसार कुल उत्पादन (Gross Output) आधारभूत मूल्यमा ५० खर्ब ९२ अर्ब रहेको छ ।

चालु मूल्यअनुसार कुल मध्यवर्ती उपभोग (Intermediate Consumption) उपभोक्ताको मूल्या १७ खर्ब ४३ अर्ब  रहेको छ ।

चालु मूल्यअनुसार कुल गार्हस्थ्य  उत्पादन (GDP) आधारभूत मूल्यमा ३२ खर्ब ९ अर्ब रहेको छ ।

चालु मूल्यअनुसार कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा ३७ खर्ब ६७ अर्बरहेको छ ।

चालु मूल्यअनुसार कुल स्थिर पुँजी निर्माण (Gross Fixed Capital Formation) १० खर्ब ६० अर्ब रहेको छ ।

चालु मूल्यमा अन्तिम उपभोग खर्च ३० खर्ब ८५ अर्ब रहेको छ । (कुल गार्हस्थ्य उत्पादनको ८१.९० प्रतिशत)

चालु मूल्यमा वस्तु तथा सेवाको खुद निर्यात (Net Export) १२ खर्ब ७ अर्ब
ऋणात्मक रहेको छ ।

 विप्रेषण ७ खर्ब १६ अर्ब  रहेको छ (कुल गार्हस्थ उत्पादनको १९.०१ प्रतिशत)

 प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन  रु १,२६,०१८ अर्थात १,०८५ यु.एस. डलर ।