२०७७ बैशाख १७ गते

सामुहिक बीमा गर्ने बढ्दैः सरकारी तिनै बैंकले गरे ७४ करोडको कोरोना बीमा

सरकारी स्वामित्वका तीनै बैंकले कोरोना बीमा गरेका छन् । मुलुकै जेठो नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंक तीनै बैकले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसबाट हुन सक्ने जोखिम न्यूनीकरण गर्न कोरोना बीमा गरेका छन् ।  तीन बैंकले कुल ४४ लाख ४९ हजार रुपैयाँ प्रिमियम तिरेर विभिन्न बीमा कम्पनीसँग ७४ करोड १५ लाखको बीमा गराएका हुन् ।

बैंकहरूले आफ्नो बैंकमा काम गर्ने सबै कर्मचारीको कारोना बीमा गराएका हुन् । अब तीनै बैंकमा काम गर्ने कुनै पनि कर्मचारी जोखिममा परेमा एक लाख क्षतिपूर्ति पाउने छन् । तीनै बैंकले कर्मचारीलाई कोरोनाको जोखिम न्यूनीकरण गर्न बीमा गराएको बताएका छन् । सरकारी स्वामित्वका तीनै बैंकले सामुहिक कोरोना बीमा गराएका हुन् । बैंकहरूले प्रति कर्मचारी ६ सय रुपैयाँका दरले प्रिमियम शुल्क तिरेका सात हजार चार सय १५ जनाको घातक रोग सहर कोरोनाको बीमा गराएका छन् । बीमा समितिले दिएको जानकारीअनुसार पछिल्लो समय सामुहिक बीमा गर्ने बढेका छन् ।  

राष्ट्रिय बीमा समितिले विश्वभरी महामारीको रुपमा फैलिएको कोभिड–१९ बाट उत्पन्न हुन सक्ने जोखिमको आर्थिक सुरक्षण गर्न भन्दै यहि वैशाख ४ गते कोभिड–१९ बीमालेख जारी गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएको थियो ।  सोही बमोजिम तीनै बैंकले सरकारी सोही बीमालेखको ‘क’ श्रेणी अन्तर्गत आफ्नो कर्मचारीलाई परिवारका सदस्य मानेर सामुहिक बीमा गराएको हो ।

नेपाल बैंकले हिजो सोमबार आफ्ना दुई हजार तीन सय १० कर्मचारीको, कृषि विकास बैंकले गत शुक्रबार दुई हजार सात सय पाँच कर्मचारीको र राष्ट्रिय बाणिज्य बैंकले गत साता बुधबार नै आफ्ना २४ सय कर्मचारीको कोरोना बीमा गराएको हो ।

राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण श्रेष्ठले गत बुधबार दुई हजार चार सय कर्मचारकिो कोरोना बीमा गराएको बताए । ‘उनले प्रति कर्मचारीको ६ सय रुपैयाँ प्रिमियम तिरेर कोरोना जोखिम न्यूनीकरण गर्न कोरोना बीमा गराएको बताए ।

बैंकले राष्ट्रिय बीमा कम्पनीसँग कोरोना बीमा पोलिसी एकमुष्ठ खरिद गरेको हो ।  राष्ट्रिय वाणिज्य बैंकले २४ सय कर्मचारीको १४ लाख ४० हजार प्रिमियम तिरेर १४ करोड ४० लाखको घातक रोग सरह कोरोनाको बीमा गराएको हो ।

नेपाल बैंकले पनि प्रति कर्मचारी ६ सय रुपैयाँका दरले १३ लाख ८६ हजार प्रिमियम तिरेर १३ करोड १० लाखको सामुहिक बीमा गराएको हो । बैंकका प्रवक्ता प्रकाश अधिकारीले हिजो सोमबार बैंकले बैंकमा कार्यरत सबै कर्मचारीको कोरोना बीमा गराएको बताए ।

‘नेपाल इन्स्योरेन्स कम्पनीसँग बैंकले आइतबार स्थायी, अस्थायी, ज्यालादारी सबै कर्मचारीको बिमा गराएको हो,’ प्रवक्ता अधिकारीले भने ‘हामीले आउट सोर्सबाट लिएको कर्मचारी बाहेक अन्य सबै कर्मचारीको हिजो कोरोना बीमा गराएका हौं ।’ बैंकले ६ सय रुपैयाँ प्रिमियम तिरेर सामुहिक बीमा गरेकोले यदि यसको जोखिममा कुनै कर्मचारी परेभने एक लाखका दरले बिमांक रकम पाउने छन् ।

कृषि विकास बैंकले गत शुक्रबार आफ्नो दुई हजार सात सय पाँच कर्मचारीको बीमा गराएको हो । बैंकले बैंकमा दैनिक ज्यालादारीमा काम  गर्ने कर्मचारीको समेत कोरोना बीमा गराएको बैंकका प्रवक्ता हिमलाल पौडेलले बताए । ‘हामीले सबै कर्मचारीको गएको शुक्रबार कोरोना बीमा गराएका हौं,’ उनले भने ‘ अब केही गरी कुनै कर्मचारी यसको जोखिममा परेमा क्षतिपूर्ति स्वरुप एक लाख रुपैयाँ पाउने छन् ।

कुन कम्पनीसँग गराए बैंकले बीमा

कोरोना बीमा गर्ने तीन वटा बैंकले छुट्टाछुट्टै बीमा कम्पनीसँग कोरोना बीमा गराएका छन् । बीमाहरूले घातक रोगमा कोरोनालाई पनि समावेश गरेर महामारीको रुपमा फैलिएको कोरोनाको बीमा गर्न शुरु गरेको बताए ।

नेको इस्योरेन्सका प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्काले कृषि विकास बैंकसँग हामीले घातक रोगमा कोरोनालाई समावेश गरेर बीमा गराएको बताए । ‘बीमा समितिले जारी गरेको सर्कुलरको आधारमा हामीले घातक रोगमा विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनलाई समावेश गरेर सामुहिक बीमा गरेका हौ,’ उनले भने ‘सो बीमा लेखमा प्रतिकर्मचारी ६ सय रुपैयाँ प्रिमियम लिइएको छ ।’

नेपाल बैंकले नेपाल इस्योरेन्ससँग बीमा गराएको हो । कम्पनीले २३ सय १० कर्मचारीकोे घातक रोगअन्तर्गत हिजो सोमबार बैंकसँग घातक रोग सरह ६ सय रुपैयाँ प्रिमियम लिएर कोरोना बीमा गराएको हो ।

त्यस्तै राष्ट्रिय वाणिज्य बैंकले गत बुधबार राष्ट्रिय बीमा कम्पनीसँग कोरोना बीमा गराएको हो । ‘हामीले राष्ट्रिय वाणिज्य बैंकका २४ सय कर्मचारीको घातक रोग सहरको सामुहिक बीमा गराएको कम्पनीका मुख्य प्रवन्धक सुवाश कोइरालाले बताए । ‘बैंकले प्रतिकर्मचारी ६ सय रुपैयाँको दरले प्रिमियम तिरको छ,’ उनले भने ‘हामीले उहाँहरूसँग सामुहिक बीमा गराएका हौं ।

कसरी गर्दै छन् बीमा कम्पनीले मार्केटिङ

बीमा कम्पनीहरू अहिलेको यो विषम परिस्थितिमा टेलिफोन, इमेल तथा अन्य सञ्चारका उपकरण प्रयोग गरेर बीमा पोलिसीको मार्केटिङ गरिरहेको उनले बताए  । अहिले ग्राहकको ढोका ढोकामा गएर मार्केटिङ गर्न सम्भव नभएको सञ्चारका माध्यमबाट पोलिसीको मार्केटिङ गरिएको छ ।

सरकारी स्वामित्वका तीन बैंकले घातक रोग अन्गर्तत कोभिड–१९ को बीमा गरेपछि अन्य कर्पोरेट हाउस पनि यस्तो बीमा गर्न बीमा कम्पनीसँग छलफलमा रहेका छन् । अहिले नै माछापुच्छे्, एनआईसी एशियालगायका बैंकसहित केही कर्पोरेट हाउसले समेत यस्तो ( घातक रोगअन्तर्गत सामुहिक) बीमा गर्न कम्पनीहरूसँग छलफलमा आइरहेका छन् ।

अन्तर्राष्ट्रिय बीमा बजारमा कोरोनाको छुट्टै बीमा पोलिसी बिक्री गर्न थालेपनि नेपालमा पनि यो बीमा लेख जारी गरिएको हो । यसले निर्जीवन बीमा कम्पनीहरूलाई अवसर जुटेको छ ।

आर्थिक न्युज दैनिकमा प्रकाशित समाचार ।