आउँदो असार मसान्तसम्म वाणिज्य बैंकले लिने र दिने ब्याजको फरक (ब्याजदर अन्तर) ४.४ प्रतिशतमा झार्नुपर्ने मौद्रिक नीतिको लक्ष्य भेट्टाउन कठीन हुने भएको छ। राष्ट्र बैंकले वित्तीय क्षेत्र विकास रणनीति अनुसार कर्जा र निक्षेपको ब्याजको अन्तर (स्प्रेड) साढे ४ प्रतिशतभन्दा तल झार्न यो आर्थिक वर्षको मौद्रिक नीतिमार्फत निर्देशन दिएको थियो।
तर, गत फागुन मसान्तको तथ्यांकलाई लिएर राष्ट्र बैंकले नै प्रकाशन गरेको प्रतिवेदनले उक्त लक्ष्य भेट्टाउन असम्भव प्रायः रहेको देखाएको छ। २०७६ फागुनमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ६.७७ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ११.८० प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ। यसबाट ब्याजदर अन्तर ५.०३ प्रतिशत रहेको देखिन्छ।
यो अवस्थाबाट लक्षित सीमामा झर्न ब्याजदर अन्तर अझै ६३ आधारविन्दु घटाउनुपर्छ। यद्यपि, गत वर्षको तुलनामा भने ब्याजदर अन्तर घटेको छ। गत वर्षको फागुनमा ब्याजदर अन्तर ५.७१ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ।
वाणिज्य बैंकहरूले चैत मसान्तको त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छैनन्। त्यसअघिको वित्तीय विवरणअनुसार राष्ट्रिय वाणिज्य बैंक, स्ट्यान्डर्ड चार्टर्ड, हिमालयन, कृषि विकास, एभरेस्ट, प्राइम, माछापुच्छ्रे, नेपाल एसबीआई, बैंक अफ काठमान्डू, प्रभु, मेगा, एनआईसी एसिया, एनसीसीजस्ता बैंकले लिने र दिने ब्याजको अन्तर ५ प्रतिशतभन्दा माथि राखेका छन्।
वैशाखको तथ्यांकले त यस्तो अन्तर अझै बढाउनेवाला छ। बैंकरले निक्षेपको ब्याज वैशाख १ गतेबाट घटाएर कर्जाको ब्याज चाहीँ जेठबाटमात्रै घटाउने भनेका छन्। यसबाट बैंकहरूको स्प्रेड अझै चुलिने बैंकर बताउँछन्। बैंकको स्प्रेड दर भनेको किराना पसलेको आम्दानीजस्तै हो। त्यसैकारण स्प्रेड बढी हुँदा बैंकहरूलाई नाफा पनि बढी हुन्छ।
व्यवसायीले बैंकको स्प्रेड घटाएर सस्तोमा ऋण दिने व्यवस्थान गर्न माग गर्दै आएका छन्। बैंकरहरू पनि ब्याजदरको फरकलाई तन्काएर नाफा कमाउनु व्यावसायिक हिसाबले समेत खराब मान्छन्। ‘स्प्रेडमा बढी भर पर्ने भयो भने बैंकिङ नै भुत्तो हुन्छ,’ एक बैंकर भन्छन्, ‘व्यवसायलाई धार लगाउने भनेको कार्यदक्षता बढाएर हो।’ यसका लागि बैंकहरूले नयाँ किसिमका सेवामा प्रतिस्पर्धा गरेर नाफा कमाउने बाटो रोज्नुपर्ने उनी बताउँछन्।
तथापि, जेठपछि कर्जाको ब्याजदर समेत समायोजन हुँदा पुरानै स्थितिमा फर्किने अर्का बैंकर बताउँछन्। उनले बैंकरमा निक्षेपको स्रोत नसुके आगामी दिनमा कर्जा प्रवाह घट्ने र त्यसबाट स्प्रेड घटाउन बैंकर बाध्य हुने बताए। कोरोना भाइरस महामारीका कारण रेमिट्यान्स आय कम हुने र सरकारी खर्च समेत घट्ने हुँदा निक्षेपमा समस्या पर्नसक्ने बैंकरको बुझाइ छ।
त्यस्तो अवस्थामा बैंकहरूसँग अधिक तरलता बढ्न थाल्ने उनीहरू कम नाफामै लगानी गर्न तम्सने बैंकर बताउँछन्। ‘हामीले विगतमा २ प्रतिशत स्प्रेडमा लगानी गर्ने बैंक पनि देखेका थियौं’, एक बैंकर भन्छन्। गत असोज मसान्तको तथ्यांकअनुसार कुमारी बैंकले ३.७५ प्रतिशत ब्याजदर अन्तरमा कारोबार गरिरहेको थियो। ‘बैंकमा अलि बढी पैसा जम्मा हुनेबित्तिकै आत्तिएर लगानी गर्न थाल्ने प्रवृत्ति हाम्रो वित्तीय प्रणालीमा अहिले पनि देखिन्छ’, नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहाल भन्छन्, ‘अब कर्जाको माग बढ्न सकेन भने फेरि स्प्रेड फेरी निकै तल झर्न सक्छ।’
दाहालले कोरोना भाइरस प्रभावित व्यवसायलाई आधारदरमै कर्जा नवीकरण गर्ने बारे छलफल भइरहेको बताए। त्यसो भयो भने पनि ब्याजदर अन्तर थोरै मात्रामा घट्न सक्छ। तर, आउँदा दिनमा कर्जाको माग पुनः चुलिन सक्ने सम्भावना पनि उनी देख्छन्। सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका दाहाल भन्छन्, ‘अहिले त समय नै रोकिएजस्तो अवस्था भएको छ। यो लकडाउन खुलेपछि झनै बढी कर्जाको माग आउन पनि सक्छ।’ त्यस्तो अवस्थामा चाहीँ राष्ट्र बैंकले भनेजस्तो साढे ४ प्रतिशतभन्दा कम ब्याजदरको फरकमा बैंकहरूले ऋण दिने सम्भावना कम हुनेछ।
अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित समाचार ।