Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

केरुङमा रोकिएका ५०० कन्टेनर छुटाउन व्यवसायीको माग

२०७७ बैशाख १५ गते

साना तथा मझौला उद्योगी तथा व्यवसायीले आफूहरूका करीब ५०० कन्टेनर केरुङ नाकामा रोकिएको भन्दै आवश्यक सुरक्षा प्रबन्ध मिलाएर नेपाल ल्याउन आग्रह गरेका छन् । कतिपय उद्योगका कच्चापदार्थ र अन्य सामान कन्टेनरमा रहेकाले समयमै ल्याउन सके त्यसले उद्योग सञ्चालनमा सहज हुने व्यवसायीको भनाइ छ ।

लकडाउन शुरू भएको एक महीना पुगिसकेको र पुनः वैशाख २५ गतेसम्म लम्ब्याइएकाले सीमामा आएका सामान ल्याउनेतर्फ पहल गर्न नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले आग्रह गरेका छन् । कतिपय प्राथमिकता प्राप्त उद्योगहरूले आफूसँग भएको कच्चापदार्थले उत्पादन गरिरहे पनि कच्चापदार्थ सकिने अवस्था रहेकाले आवश्यक सुरक्षा प्रबन्ध मिलाएर सीमामा रोकिएका सामान ल्याउनुपर्नेमा उनले जोड दिएका छन् ।

सरकारले व्यवसायीका ठूला संस्थाहरूको मात्र कुरा सुनेको गुनासो गर्दै कटुवालले साना तथा मझौला उद्योगी  व्यवसायीका लागि पनि राहतका प्याकेज ल्याउन सरकारसँग माग गरे । कोरोनाका कारण देशका हजारौं साना उद्योगी व्यवसायी धराशयी हुने अवस्था सृजना भएको भन्दै उनले व्यवसायको संरक्षणका लागि बैंक ब्याज छूट, सरल पुनर्कर्जा तथा घर बहाल छूटको व्यवस्था सहित राहत प्याकेज ल्याउनुपर्ने बताए ।

नेपाल राष्ट्र बैंकले केही साताअघि ल्याएको सहुलियतले साना उद्योगीको समस्या सम्बोधन गर्न नसकेको उनले औंल्याए । साथै सरकारले साना तथा मझौला व्यवासायीको समस्या सुन्नै नचाहेको आरोप उनको छ । बैंक, वित्तीय संस्थामा लगानी भएका तथा राजनीतिक पहुँच भएकाहरूलाई मात्र राहत दिने हो भने हजारौं साना व्यवसायी सडकमा आउने अवस्था भएको उनको भनाइ छ ।

सरकारले उचित सहयोग नगर्ने हो भने लकडाउनसँगै सबै साना तथा मझौला उद्योग तथा व्यवसाय पूर्णरूपमा बन्द हुने उनले आर्थिक अभियानलाई बताए । नेपाल राष्ट्रिय व्यवसायी महासंघ मातहत मात्रै २३ ओटा विभिन्न संस्थाका हजारौं व्यवसायी आबद्ध भएको भन्दै उनले सरकारले घोषणा गरेको घरभाडा छूट पनि कार्यान्वयनमा आउन नसकेको औंल्याए ।

आर्थिक अभियान दैनिकमा प्रकाशित समाचार ।

Ad