२०७७ बैशाख १४ गते

चालू आवको साढे ९ महिना : विकास खर्च २६.७ प्रतिशत मात्रै

कोरोना महामारी र त्यसको रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनले चालू आर्थिक वर्षको बजेट कार्यान्वयनलाई प्रभावित पारेको छ । आर्थिक वर्ष सकिन अढाई महिना मात्रै बाँकी छँदा पनि राजस्व संकलन र खर्चको अवस्था निराशाजनक छ । 

चालू आवको साढे ९ महिनामा सरकारको कुल आय (प्राप्त) ६ खर्ब ४७ अर्ब रुपैयाँ पुगेको छ भने कुल खर्च ७ खर्ब २ अर्ब रुपैयाँ पुगेको छ । यस अवधिमा सरकारले कुल ५ खर्ब ९२ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ । सरकारले चालू आवमा ११ खर्ब १२ अर्ब राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो ।

हालसम्म संकलित राजस्व कुल राजस्व संकलन लक्ष्यको ५३.३१ प्रतिशत हो । त्यस्तै, महालेखा नियन्त्रणको कार्यालयका अनुसार यस अवधिमा सरकारले ५ खर्ब १९ अर्ब रुपैयाँ चालू खर्च गरेको छ, जुन कुल विनियोजित सञ्चालन खर्चको ५४.३ प्रतिशत हो । यस अवधिमा विकास खर्च २६.७० प्रतिशत अर्थात् १ खर्ब ८ अर्ब र वित्तीय व्यवस्थापनमा ४४.२३ प्रतिशत अर्थात् ७४ अर्ब २३ करोड रुपैयाँ खर्च भएको छ ।

नयाँ पत्रिका दैनिकमा प्रकाशित समाचार ।