२०७७ बैशाख १४ गते

६ दिनमा १० हजारभन्दा बढीले गरे कोरोना बिमा

नेपालमा कोरोनाका बिरामी बढ्दै गएपछि उक्त बिमालेख जारी गर्न बिमा समितिले अघिल्लो साता निर्देशन दिएको थियो

६ दिनमा १० हजार जनाभन्दा बढीले कोरोना बिमा गरेका छन् । बीसवटा कम्पनीले गत आइतबारदेखि शुक्रबारसम्म गरेको बिमा हो यो । ‘कोरोना (कोभिड–­१९) रोग बिमालेख’ नाम दिइएको यो पोलिसी लोकप्रिय बन्दै गएको निर्जीवन बिमक संघका अध्यक्ष दीपप्रकाश पाण्डेले बताए ।कान्तिपुर दैनिकमा प्रकाशित समाचार । 

‘लकडाउन भएकाले हिँडडुल गर्ने अवस्था छैन। तर पनि ६ कार्यदिनमा १० हजारभन्दा धेरैले यस्तो बिमा गरेका छन्,’ उनले भने, ‘अनलाइनबाट पनि यो बिमाको भुक्तानी गर्न सकिने भएकाले छोटो समयमा पनि धेरै बिमा भएको हो।’ कोरोना जोखिम बढ्दो अवस्थामा रहेका बेला कम खर्चमा बिमा गरेर जोखिम सुुरक्षण गर्न सकिने भएकाले पनि यसप्रति मानिसको आकर्षण बढेको उनले बताए।

‘कम्पनीहरूले सामाजिक उत्तरदायित्वअन्तर्गत नै यो बिमालेख जारी गरेका हुन्,’ पाण्डेले भने, ‘धेरैभन्दा धेरै बिमा गरी कोरोनाको सम्भावित जोखिम न्यूनीकरण गर्नुपर्छ।’ एक सातामा कोरोना बिमामार्फत ६० लाख रुपैयाँभन्दा धेरै प्रिमियम संकलन भइसकेको पनि उनले जानकारी दिए।

कम आय भएका विपन्न वर्गका लागि लक्षित भएकाले यो बिमाको उपादेयता धेरै रहेको एभरेस्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कमल गौतमले बताए। ‘प्रतिव्यक्ति ३ सय र ६ सय प्रिमियम तिरेर परिवारको बिमा गरी क्रमश: ५० हजार र एक लाख रुपैयाँ दाबी भुक्तानी पाइन्छ,’ उनले भने, ‘कोरोना लागेका बिरामीका लागि उक्त रकमले ठूलो राहत दिन्छ।’

सरकारले कोरोनाको उपचार गरे पनि बिमाको पैसा अन्य खर्च जस्तै, बिरामी कुरुवा, अस्पताल आवतजावत, भिटामिन, फलफूललगायतमा उपयोग गर्न सकिने उनको भनाइ छ। ‘अहिले लकडाउनको समय भएकाले धेरै प्रचारप्रसार हुन पाएको छैन,’ उनले भने, ‘अवस्था अलि सहज भएपछि यो बिमालाई व्यापक बनाउनुपर्छ।’

नेपालमा कोरोना बिरामी बढ्दै गएपछि उक्त बिमालेख जारी गर्न बिमा समितिले अघिल्लो साता निर्देशन दिएको थियो। सोही आधारमा गत आइतबारदेखि २० निर्जीवन बिमा कम्पनीहरूले बिमालेख बिक्री थालेका हुन्। कोरोना बिरामीलाई पर्न जाने आर्थिक संकट घटाउन यस्तो बिमालेख जारी गरिएको बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले बताए।

बिमालेखमा एक लाख र ५० हजार गरी दुई प्रकारको बिमांक तोकिएको छ। व्यक्तिगत, सामूहिक (परिवार, कार्यालयका कर्मचारी आदि) रूपमा पनि यो बिमा गर्न सकिन्छ। एक लाख रुपैयाँको बिमाका लागि व्यक्तिले एक हजार रुपैयाँ प्रिमियम (बिमा शुल्क) तिर्नुपर्छ। तर सामूहिक रूपमा घर परिवार वा कार्यालयका कर्मचारीको बिमा गर्दा प्रतिव्यक्ति ६ सय रुपैयाँ तिरे पुग्छ।

५० हजार रुपैयाँको बिमा गर्दा प्रतिव्यक्ति ५ सय र सामूहिक रूपमा प्रतिव्यक्ति ३ सय रुपैयाँ तिरे पुग्छ। तीन महिनाका बच्चादेखि ९९ वर्ष उमेर समूहका व्यक्तिका लागि यी बिमा गर्न मिल्छ। अस्पतालबाट कोरोना संक्रमण भएको पुष्टि भएलगत्तै दाबी भुक्तानी पाइन्छ। तर बिमा गरेको १५ दिनपछि मात्र उक्त बिमा सक्रिय (एक्टिभ) हुने कम्पनीहरूले जनाएका छन्।

बिमितले अनलाइनबाटै उक्त बिमालेख खरिद गर्न सक्ने भएकाले सक्दो छिटो बिमा गरी कोरोनाको सम्भावित जोखिम सुरक्षण गर्न बिमा कम्पनीहरूले आग्रह गरेका छन्। घरपरिवार वा कर्मचारीहरूको एकमुष्ट बिमा गर्न पनि यो बिमालेख निकै उपयोगी रहेको चापागाईंले दाबी गरे। ‘प्रतिव्यक्ति ६ सय बिमा शुल्क तिरेर १ लाख तथा प्रतिव्यक्ति ३ सय रुपैयाँ तिरेर ५० हजार रुपैयाँ दाबी भुक्तानी पाइन्छ,’ उनले भने। संकटका बेला यो रकमले पनि बिमितलाई ठूलो राहत मिल्ने उनको दाबी छ।

बिमामा दाबी भुक्तानीका लागि बिमितको नाम रोग सुरु भएको मिति र विवरण, पूर्ण रूपमा भरिएको दाबी फारम, रोग पुष्टि भएको परीक्षणका सबै कागजपत्र चाहिन्छ। साथै अस्पताल भर्ना भएको अवस्थामा त्यसको प्रमाणित कागज आवश्यक हुन्छ। ‘बिमा लेख सुरु हुनु अघिदेखि रोग संक्रमण रहेको र बिमालेख सुरु भएको १५ दिनभित्र संक्रमित भएको अवस्थामा दाबी नलाग्ने व्यवस्था छ,’ बिमालेखमा उल्लेख छ। कोरोनाबाहेक अन्य कुनै रोग लागेमा भने दाबी गर्न पाइँदैन। यसको परिपक्व अवधि १२ महिनाको हुन्छ।

कान्तिपुर दैनिकमा प्रकाशित समाचार ।