भारतमा रेमिट्यान्स प्रवाह २३ प्रतिशत कमी आउने विश्व बैंकको अनुमान छ। गत वर्ष ८३ अर्ब डलर रेमिट्यान्स भित्र्याएको भारतमा यो वर्ष ६४ अर्ब मात्रै रेमिट्यान्स प्रवाह हुने आकलन बैंकले गरेको हो। पाकिस्तानले पनि २३ र बंगलादेशले २२ र श्रीलंकाले २२ प्रतिशत रेमिट्यान्सले गुमाउने विश्व बैंकको विश्लेषण छ।
कोभिड–१९ का कारण सिर्जित समस्याका कारण आप्रवासी कामदारको रोजगारी र आय जोखिममा रहेको विश्व बैंकले जनाएको छ। निम्न र मध्यम आय भएका देशले औसतमा १९ दशमलव ७ प्रतिशतका दरले रेमिट्यास गुमाउन सक्ने विश्व बैंकको विश्लेषण छ।
तल्लो र मध्यम आय भएका देशमा गरिबी निवारण, सुदृढ पोषण, शिक्षामा हुने खर्च र बाल श्रम न्यूनीकरणका लागि रेमिट्यान्सको भूमिका भएको विभन्न अध्ययनले देखाएको छ। रेमिट्यान्समा हुने कमीले यसमा आश्रित परिवारको यी क्षेत्रमा खर्च गर्न सक्ने क्षमता घट्ने र जीविकोपार्जनमा समेत समस्या आउन सक्ने विश्व बैंकको दाबी छ।
‘विकासोन्मुख मुलुकका लागि रेमिट्यान्स आयको महत्त्वपूर्ण स्रोत हो। कोभिड–१९ का कारण सिर्जित जारी आर्थिक संकटले घरमा पैसा पठाउन समस्या सिर्जना गरेको छ,’ विश्व बैंक समूहका अध्यक्ष डेभिड मल्पासलाई उद्धृत गर्दै बैंकद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘रेमिट्यान्सका कारण परिवारलाई खाद्यान्न किन्न, स्वास्थ्य सेवा र आधारभूत आवश्यकता पूरा गर्न सहयोग मिल्छ।’
रेमिट्यास प्रवाहको नियमनका लागि विश्व बैंकले आफ्ना सदस्य राष्ट्रलाई सहायता गरिरहेको विज्ञप्तिमा जनाइएको छ। बैंकले जी ट्वान्टी राष्ट्रसहितका देशसँग रेमिट्यान्स प्रवाहको खर्च घटाउन र गरिबहरूको वित्तीय समावेशिता सुधारका लागि काम गरिरहेको पनि उल्लेख छ।
युरोप र मध्य एसियामा २७.५, अफ्रिकामा २३ र दक्षिण एसियामा २२.१ प्रतिशत रेमिट्यान्स घट्ने बैंकको आकलन छ। मध्यपूर्व र क्यारिबियन राष्ट्रमा १९.३ प्रतिशतका साथै पूर्वी एसिया र महाद्वीपमा १३ प्रतिशत घट्ने विश्व बैंकले जनाएको छ। कम र मध्यम आय भएका मुलुकमा रेमिट्यान्स प्रवाह घट्ने मात्रै नभई प्रत्यक्ष वैदेशिक लगानीमा आउने कमीका कारण बाह्य वित्तमा समस्या पर्ने विश्व बैंकले जनाएको छ। यस्ता राष्ट्रमा प्रत्यक्ष वैदेशिक लगानी ३५ प्रतिशतसम्म घट्न सक्ने अनुमान गर्दै बैंकले रेमिट्यान्स प्रवाह नै उनीहरूको बाह्य आम्दानीको प्रमुख स्रोत रहने आकलन गरेको छ।
सन् २०२१ मा कम र मध्यम आय भएका मुलुकमा रेमिट्यान्स प्रवाह ५.६ प्रतिशत बढेर ४ खर्ब ७० अर्ब पुग्ने विश्व बैंकको अनुमान छ। संकटका अन्य अवस्थामा कामदारले घरमा बढी रकम पठाउने गर्दा एक देशबाट अर्को देशमा रकमको कारोबार बढी हुने गरे पनि अहिले सबै देश प्रभावित हुँदा रेमिट्यान्स प्रवाहमा कमी आउने विश्व बैंकको विश्लेषण छ ।
कान्तिपुर दैनिकमा प्रकाशित समाचार ।
