Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

बजेट माग्दै स्थानीय तह

२०७७ बैशाख १० गते
लकडाउन बढेसँगै पालिकाहरूको आर्थिक दायित्व थपियो
संघले काम थप्दै गएको तर बजेट नदिएको गुनासो

स्थानीय तहहरूले कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि संघले जिम्मेवारी थप्दै गए पनि त्यसअनुसारको बजेट नपठाएको गुनासो गरेका छन् । महामारी नियन्त्रण र राहत वितरणका लागि संघ सरकारले बजेट पठाउनुपर्ने पालिका प्रमुखले माग गरेका छन् ।

जनचेतना, स्वास्थ्य सामग्रीको व्यवस्थापन, बस्तीलाई सेनिटाइज गर्ने, राहत वितरण, क्वारेन्टाइन निर्माणलगायत काममा पालिकाले आफ्नै स्रोतको बजेट खर्च गरिरहेका छन् । प्रदेश सरकारले भने पालिकाहरूलाई प्रदेशपिच्छे फरकफरक ढंगले केही अनुदान पठाए पनि संघले कोभिड नियन्त्रण वा राहतका लागि बजेट पठाएको छैन ।

त्यसमाथि राहत खोज्नेको संख्या ठूलो भएको र लकडाउनको समयावधि थपिँदै गएसँगै दोहोर्‍याएर राहतको माग बढेपछि स्थानीय तह थप दबाबमा छन् । कोभिड–१९ को नियन्त्रण र रोकथाम तथा राहतको कार्यक्रमका लागि धेरैजसो जिम्मेवारी संघ (केन्द्र) सरकारले पालिकाहरूलाई दिएको छ । तर छुट्टै बजेट दिएको छैन ।

स्थानीय तहलाई बजेटको समस्या हुन थालेको नगरपालिका संघका महासचिव भीम ढुंगानाले बताए । ‘नगर प्रमुखहरूसँग निरन्तर संवादमा छु, धेरैजसोले पालिकालाई काम थपिएको तर बजेट नथपिएको गुनासो गरेका छन्,’ उनले भने, ‘भिडियो कन्फरेन्समा त्यसको जानकारी मन्त्री र मन्त्रालयलाई गराएको छु ।’ सरकारले विपन्न परिवारलाई राहत वितरणसँगै कोभिड–१९ नियन्त्रण र रोकथामका कार्यक्रमको जिम्मेवारी पालिकाहरूलाई दिएको छ । त्यसका लागि संघले पठाएको सामान्यीकरण अनुदान बजेटलाई रकमान्तर गरी कोष खडा गर्न भनिएको थियो ।संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले गत साता पालिका प्रमुख/अध्यक्षहरूसँग गरेको भिडयो संवादमा उनीहरूले बजेट अभावको कुरा उठाएका छन् । मन्त्री त्रिपाठीले गत साता ५८ स्थानीय तहका प्रमुख/अध्यक्षसँग भिडियो कन्फरेन्समार्फत संवाद गरेका छन् ।

कतिपय योजना छनोट भएर काम सुरु भइसकेको र कतिपयको सम्झौतासमेत भइसकेको अवस्थामा पालिकाले सामान्यीकरण अनुदानको सबै बजेट कोभिड–१९ मा खर्चिने अवस्था नरहेको ढुंगानाको भनाइ छ । संघले परिपत्र गर्नुबाहेक अन्य जिम्मेवारी पूरा गर्न नसकेको उनले गुनासो गरे । संघले पठाएको सामान्यीकरण अनुदान, राजस्व स्रोतको बाँडफाँट, आन्तरिक राजस्वको बजेटबाट कोभिड–१९ कार्यक्रममा खर्च गर्न पालिकाहरूलाई भनिएको छ । ती शीर्षकका रकम पालिकाहरूले आफूअनुकूल खर्च गर्न पाउने बजेट हो । यो आर्थिक वर्षमा खर्च नभए ती रकम पालिकाले अर्को वर्ष खर्च गर्न पाउँछन् । पालिकाहरूको गुनासो छ– स्थानीय तहले योजना बनाएर खर्च गर्न पाउने रकमलाई नै कोभिड महामारीमा खर्च गराइएपछि आगामी दिनमा स्थानीय तहका विकास निर्माणको काम प्रभावित हुनेछ ।

यतिबेलासम्म स्थानीय तहहरूले ७ लाख विपन्न, श्रमिक र सीमान्तकृत परिवारलाई राहत वितरण गरेका छन् । उक्त संख्या १ सय ७६ पालिकाबाट राहत वितरण भएका परिवारको हो । धेरै स्थानीय तहले अझै राहत वितरण थालिसकेका छैनन् । अर्कोतिर, लकडाउन थपिँदै गएपछि राहत दोहोर्‍याउनुपर्ने दबाब पनि स्थानीय तहलाई छ । खाद्यान्न अभावकै कारण सहरबाट घर फर्किनेको लर्को थामिएको छैन ।

दोहोर्‍याएर राहत बाँड्नुपर्ने अवस्था आइसकेको मध्यपुर थिमि नगरपालिका–१ का अध्यक्ष सुरज खड्का बताउँछन् । ‘एक पटक दिएको राहत सकिएको भन्दै विपन्न र श्रमिक परिवारले फेरि राहत मागेका छन्,’ उनले भने, ‘लकडाउन थपिँदै गएकाले राहत थप्नुपर्ने स्थिति छ । तर बजेट अभावका कारण समस्या भइरहेको छ ।’ वडाले नगरपालिकाले दिएको ५ लाख रुपैयाँ र अर्को दातृ संस्थाको सहयोगमा वडामा ७ सय ४५ परिवारलाई राहत बाँडेको थियो । पाँच जना परिवारलाई १५ किलोका दरले बाँडिएको चामल सकिएको विपन्न वर्गले बताउन थालेका छन् ।

सरकारले एक महिनालाई पुग्ने गरी चार जनामाथिको परिवारलाई ३० किलो राहत वितरण गर्ने मापदण्ड बनाएर पालिकाहरूलाई पठाएको थियो । तर धेरैजसो पालिकाले राहत माग्नेको संख्या ठूलो र स्रोतको कमीका कारण त्यसलाई आधा घटाएर राहत वितरण गरेका छन् । लकडाउनको अवधि थपिँदै गएसँगै राहत माग्नेको संख्या पनि थपिएको गाउँपालिका महासंघका अध्यक्ष होमनारायण श्रेष्ठ बताउँछन् । ‘कसरी स्रोत खोज्ने भन्ने हुन थालेको छ,’ उनले भने, ‘खर्च हुन नसकेका ससर्त अनुदानलाई कोभिड–१९ नियन्त्रणमा खर्च गर्ने बाटो संघले खोलिदिनुपर्छ ।’राहत वितरण, त्यसको व्यवस्थापन र त्यसका लागि आर्थिक स्रोतसम्बन्धी समस्या स्थानीय तहहरूलाई थपिएको छ । लक्ष्य गरिएको भन्दा राहत लिनेको संख्या बढेको र दोहोर्‍याएरसमेत माग हुन थालेपछि स्थानीय तहलाई स्रोतको समस्या भएको हो । राहत दिनुपर्ने विपन्न र गरिबको औपचारिक पहिचानको रेकर्ड नहुँदा समस्या भएको पालिका प्रमुखहरूको भनाइ छ । गरिब तथा विपन्न परिवारलाई भारतमा जस्तै रासन कार्डको व्यवस्था गरिहाल्न उनीहरूको सुझाव छ ।

संघ सरकारले स्थानीय तहमा खर्चका लागि शीर्षक र सर्त तोकेर पठाउने त्यस्ता बजेटमा सम्पूर्ण अधिकार संघीय सरकारको हुन्छ । आर्थिक वर्षको अन्त्यमा स्थानीय तहमा खर्च हुन नसकेका त्यस्ता बजेट संघमै फर्किन्छ । कतिपय पालिका प्रमुखले आर्थिक दायित्व बढेकाले बजेटको माग गरेको मन्त्रालयका प्रवक्ता सहसचिव वसन्त अधिकारीले बताए । ‘उहाँहरूले कोभिड–१९ नियन्त्रण र रोकथामको कार्यक्रमका लागि संघले छुट्टै बजेट पठाओस् भन्नुभएको छ,’ उनले भने, ‘तर, यतिबेला लकडाउनकै कारण स्थानीय तहमै खर्च हुन नसक्ने शीर्षकका बजेट खर्च गर्न भनेका छौं । त्यसले पनि नपुग्ने अवस्था आयो भने अर्को निर्णय हुन सक्छ ।’

कान्तिपुर दैनिकमा प्रकाशित समाचार ।

Ad