२०७७ बैशाख ९ गते

वित्तीय क्षेत्रमा कर्जा जोखिम बढ्ने अबस्था देखिएको छ – निश्चल अधिकारी

निश्चल अधिकारी / निर्देशक, नेपाल राष्ट्र बैंक 
सुदुर पश्चिम प्रदेशमा बैंकहरु दैनिक रुपमा खुलिरहेका छन् । आफ्नो अनूकुलता अनुसार स्थानीय प्रशासनसँगको समन्वयमा बैंकहरुले आफ्ना शाखाहरु सुचारु राखेका छन् । देशभरि नै लक डाउनको अवस्था भएका कारण पहिले जस्तो सामान्य रुपमा नै बैंकहरुको कार्य संचालन हुन सकेको छैन । यद्यपि, ट्रान्ज्याक्सन लगायतका कामहरु भइरहेका छन् । पूरै समय नभएतापनि केही समय कार्यालय खोलेर सेवा दिने काम बैंकहरुले गरिरहेका छन् ।

प्रशासनले शाखा खोल्न दिएको अवस्थामा बैंकहरुले शाखा खोलिरहेका छन् । केही जिल्लाहरुमा केही समयमा लागि प्रशासनले शाखा खोल्न दिएका थिएनन् । अहिले चाहिँ, सबै स्थानमा केन्द्रीय कार्यालयसँग समन्वय गरेर लगभग नियमित रुपमा कम्तीमा पनि दिनमा दुई घण्टा शाखा कार्यालयहरुले सेवा दिइरहेका छन् । विशेषगरी पेमेन्टको कामहरु भइराखेको छ । अरु कामहरु गर्न सकिने अवस्था पनि छैन । ग्राहकलाई रकमको अभाव हुन नदिन बैंकहरुले नियमित रुपमा एटिएममा पैसा हालिरहेका छन् । पहिले जस्तो कारोबारको अबस्था छैनज । बैंकका ग्राहकलाई कुनै किसिमको असुविधा नहोस् भनेर हामीले प्रयास गरीरहेका छौं ।

प्रशाशनसँग समन्वयन
यसै पनि देशभरी नै अवस्था सामान्य छैन । तर पनि बैंकहरुले स्थानीय प्रशासनसँग समन्वयन गरेर केन्द्रीय कार्यालयको आदेशअनुसार सम्बन्धित क्षेत्रको वातावरण अनुसार सुरक्षित तवरले दैनिक रुपमा केही समय भए पनि शाखा संचालन गरिरहेका छन् । डेन्जर जोनमा राखेकै आधारमा बैंकहरुले केही अप्ठेरो अवस्था भोग्नुपरेको छैन । बैंकका कर्मचारीहरुले पास पाइरहेका छन् । यसका लागि प्रशासनले कुनै रोकतोक गरेको छैन । ट्रान्ज्याक्सनमा पनि हालसम्म कुनै अप्ठेरो अवस्था देखा परेको छैन । कार्ड देखाएर बैंकको कर्मचारी हो भनेपछि प्रशासनले फण्ड ट्रान्सफर गर्न पनि सहजीकरण गरिदिएको अवस्था छ ।

बैंकिङ कर्जाको जोखिम
कर्जा जोखिमको कुरा लकडाउन र कोरोना असरले बढाउने सम्भावना रहन्छ । यस प्रदेशमा मात्रै नभएर देशभरि नै त्यो देखिने अवस्था छ । उद्योग, व्यवसाय, पर्यटन सबै क्षेत्रलाई असर गरेको छ । अर्थतन्त्रसँग बैंकको व्यवसाय जोडिएको हुन्छ । व्यवसाय गर्न पायो भने त्यसबाट प्राप्त नाफाले बैंकको साँवा व्याज चुक्ता गर्ने हो । बैंकहरुले पनि आफूसँग भएको पैसा व्यवसायमा लगानी गरेर नाफा कमाउने हो । उद्योग व्यवसायहरु र बैंकिङ कारोबार अन्तरसम्बन्धित भएका कारण लक डाउनले बैंकिङ क्षेत्रमा कर्जा जोखिम निम्त्याउने सम्भावना छ देएिको छ । (नेपाल राष्ट्र बैंकका धनगढी निर्देशक अधिकारीसँग बैंकिङ खबरले गरेको कुराकानीमा आधारीत)