२०७७ बैशाख ९ गते

लकडाउनबाट वैदेशिक व्यापार प्रभावित

कोरोना नियन्त्रणका लागि सरकारले मुलुकभर लगाएको लकडाउनले चैत महीनामा वैदेशिक व्यापार नराम्ररी प्रभावित भएको छ । लकडाउनका कारण आपूर्ति प्रणाली अवरुद्ध हुँदा मुलुकको आयातनिर्यात दुवैमा ठूलो कमी आएको भन्सार विभागको पछिल्लो तथ्यांकले देखाएको छ ।

विभागको तथ्यांकअनुसार चैतमा नेपालको आयातमा फागुनको तुलनामा ५० प्रतिशतभन्दा बढीले कमी आएको छ । चैतमा नेपालको आयात ५८ अर्ब २९ करोड रुपैयाँमा सीमित रह्यो, जबकि फागुनमा १२० अर्ब रुपैयाँ बराबरको आयात भएको थियो ।

निर्यातको अवस्था त्यो भन्दा पनि कमजोर छ । फागुनमा झन्डै १० अर्ब रुपैयाँको निर्यात भएकोमा चैतमा त्यो ६ अर्बभन्दा बढीले घटेर रू. ३ अर्ब ९१ करोडमा खुम्चिएको छ ।
नेपालका दुई प्रमुख व्यापार साझेदारहरू भारत र चीन दुवैसँगको वैदेशिक व्यापार चैतमा घटेको छ । सबैभन्दा ठूलो व्यापार साझेदार भारततर्पmको निर्यात ३ अर्ब १५ करोड रुपैयाँमा झरेको छ भने आयात करीब ३६ अर्ब रुपैयाँमा सीमित भएको छ ।

उत्तरतर्फका दुई प्रमुख भन्सार नाका रसुवागढी र तातोपानी लामो समयदेखि बन्द हुँदा चीनसँगको व्यापार पनि नराम्ररी प्रभावित भएको छ । चैतमा चीनतर्फ मात्र १ करोड रुपैयाँ बराबरको निर्यात भएको छ ।

कोरोना नियन्त्रणका लागि सरकारले हवाई उडानमा प्रतिबन्ध र उत्तर र दक्षिण दुवैतर्फका अधिकांश भन्सार नाका बन्द गरेको छ । त्यसैले वैदेशिक व्यापार प्रभावित भएको हो । करीब १ महीनायता दक्षिणतर्फका प्रमुख भन्सार नाकाहरूबाट अत्यावश्यक वस्तुहरूको मात्र आयात भइरहेको छ । अन्तरराष्ट्रिय उडानमा रोक लगाएपछि हवाईमार्गमार्फत हुने व्यापार पनि ठप्प छ । निर्यातको उल्लेख्य अंश हवाई उडानमार्फत हुन्थ्यो ।

कोरोना तथा लकडाउनका कारण औद्योगिक कच्चा पदार्थको आयातमा ठूलो कमी आएको छ भने सवारीसाधन तथा पेट्रोलियम पदार्थको आयात पनि घटेको छ । उद्योगहरू बन्द हुँदा औद्योगिक कच्चा पदार्थहरू प्लास्टिक, आइरन तथा स्टील, बोइलर तथा मेशिनरी आयात घटेको छ ।

चैतमा करीब ४ अर्ब रुपैयाँको चामल आयात भएको छ भने तरकारी आयात झन्डै ३ अर्ब रुपैयाँ रहेको छ ।

रू. १ अर्ब ४५ करोड बराबरको औषधि आयात भएको छ । लकडाउनले यातायात सेवा बन्द हँुदा पेट्रोलियम पदार्थको आयात पनि घटेर रू. ९ अर्ब १९ करोडमा सीमित भएको छ ।

हालै सञ्चालनमा आएको उत्तरतर्फको तातोपानी नाकाबाट पनि स्वास्थ्य सामग्री मात्रै आयात भइरहेको भन्सार विभागले जानकारी दिएको छ । विभागका महानिर्देशक सुमन दाहालका अनुसार चीनतर्फका अन्य नाका खुलाउन प्रयास भए पनि चीनले खुलाउन चाहेको छैन । उत्तरतर्फको रसुवागढी नाका बन्द भएको करीब ३ महीना पुग्न लागिसकेको छ, जसले गर्दा पनि चीनतर्फको व्यापारमा उच्च गिरावट आएको दाहालको विश्लेषण छ ।

सरकारले १६ चैतदेखि लागू हुने गरी महँगा गाडीको आयात रोकेको छ । यसबाहेक अन्य केही वस्तुको आयातमा समेत रोक लागेपछि वैदेशिक व्यापारमा संकुचन देखिएको हो । विभागका अनुसार चैतमा रू. १ अर्ब ५८ करोडको सवारीसाधनको आयात भएको तथ्यांकले देखाउँछ । अर्थशास्त्री केशव आचार्य नाकाहरूमा अवरोध हुँदा उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थदेखि पूर्वाधार निर्माणमा चाहिने उपकरणहरूको अभाव देखिएको भन्दै त्यसमा सरकारले पहल गर्नुुपर्ने बताउँछन् । ‘मुलुकलाई आत्मनिर्भर बनाउन कतिपय वस्तुको आयात बन्द हुन जरुरी छ । तर, अत्यावश्यक वस्तुहरूमा सरकारले भन्सार अवरोध हटाउनुपर्छ,’ उनले भने ।

आर्थिक अभियान दैनिकमा प्रकाशित समाचार ।