Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

लकडाउनअघिको अर्थतन्त्र : रेमिट्यान्समा सुधार

२०७७ बैशाख ९ गते
चीनलगायत केही राष्ट्रमा कोरोना संक्रमण देखिए पनि फागुनमा सबैतिर नफैलिएकाले विप्रेषण बढेको हो
विश्वभर महामारीका रूपमा फैलिएको कोरोना (कोभिड–१९) भाइरसले नेपाल आउने रेमिट्यान्स प्रभावित हुने प्रक्षेपण भइरहँदा गत फागुनमा भने रेमिट्यान्समा सुधार भएको छ । ०७५ फागुनको तुलनामा चालु आवको सोही अवधिमा १.८ प्रतिशत बढेर करिब ६ खर्ब (५ खर्ब ९२ अर्ब) रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ ।

गत वर्षका फागुनमा रेमिट्यान्स आप्रवाह साढे २३ प्रतिशत बढेको थियो । फागुनमा चीनलगायत केही मुलुकमा कोरोना संक्रमण देखिए पनि सबैतिर फैलिइसकेको थिएन । यसकारण रेमिट्यान्स बढेको जानकारहरू बताउँछन् ।

चैत पहिलो सातासम्म धेरै राष्ट्रमा कोरोना फैलिसकेकाले ती राष्ट्रमा लकडाउन भएकाले त्यसपछिका महिनामा रेमिट्यान्स घट्न सक्ने उनीहरूको भनाइ छ । ‘चैतमा बढीमा ५ प्रतिशतसम्म रेमिट्यान्स घट्न सक्छ,’ रेमिटर्स एसोसिएसनका अध्यक्ष सुमन पोखरेलले भने, ‘वैशाखपछिका महिनामा नेपाल आउने रेमिट्यान्समा कोरोना प्रभाव धेरै पर्ने देखिन्छ ।’ अमेरिकी डलरको भाउ बढेकाले पनि रेमिट्यान्स आप्रवाह बढेको उनले बताए । ‘वैशाखपछिका महिनामा १० देखि १५ प्रतिशतका दरले रेमिट्यान्स आप्रवाह घट्न सक्छ,’ पोखरेलले भने, ‘रेमिट्यान्स पठाउने र पाउने दुवै देशमा लकडाउन भएकाले आप्रवाह घट्ने देखिएको हो ।’

चालु आवमा रेमिट्यान्स करिब १० प्रतिशत घट्ने प्रक्षेपण राष्ट्र बैंकका उच्च अधिकारीहरूले सार्वजनिक रूपमा बताउँदै आएका छन् । गत आवको तुलनामा यो वर्ष रेमिट्यान्स करिब १ खर्ब घट्ने उनीहरूको अनुमान छ । ‘चालु वर्ष कुल रेमिट्यान्स करिब साढे ७ खर्ब पनि पुग्न मुस्किल छ,’ राष्ट्र बैंकका एक अधिकारीले भने, ‘रोजगारीका प्रमुख गन्तव्य मुलुक कोरोनाबाट प्रभावित भएकाले त्यसको असर नेपाल भित्रिने रेमिट्यान्समा पर्छ ।’

कोरोना असरले आउँदा महिनामा रेमिट्यान्स, विदेशी लगानीलगायत सूचक दबाबमा रहने राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले स्विकारे । ‘फागुनसम्म बाह्य क्षेत्र सन्तुलित छ,’ उनले भने, ‘त्यसपछिका महिनामा बाह्य क्षेत्र दबाबमा पर्ने देखिन्छ ।’ धेरै रेमिट्यान्स भित्रिने मुलुकको अर्थतन्त्र कोरोनाबाट कत्तिको प्रभावित हुन्छन्, त्यसका आधारमा रेमिट्यान्स भित्रिने उनको भनाइ छ । ‘अहिलको अवस्था हेर्दा ठूलो संख्यामा विदेशी रोजगारी कटौती हुने सम्भावना छ,’ उनले भने, ‘अनुमान गरेअनुसार नै ती अर्थतन्त्र प्रभावित भए नेपाल आउने रेमिट्यान्स मात्र नभई एफडीआई पनि घट्छ ।’

कान्तिपुर दैनिकमा प्रकाशित समाचार ।

 

Ad