२०७७ बैशाख ८ गते

कोभिड–१९ को प्रभाव अध्ययन गर्दै राष्ट्र बैंक

छिटो तथ्यांक उपलब्ध गराउन बैंकलाई निर्देशन

नेपाल राष्ट्र बैंकले कोभिड–१९ बाट मुलुकमा परेको प्रभावबारे अध्ययन तथा मूल्यांकन गर्नुपर्ने भएकाले बैंक तथा वित्तीय संस्थालाई नियमित रूपमा वित्तीय विवरणसहित रिपोर्टिङ गर्न निर्देशन दिएको छ । 

गत चैत १२ गते बैंक तथा वित्तीय संस्थाहरूले राष्ट्र बैंकमा गर्नुपर्ने रिपोर्टिङ परिस्थिति सामान्य भएपछि कार्यालय नियमित रूपमा खुलेको ७ कार्यदिनभित्र गर्न भनिएको थियो । तर, अवस्था सामान्य नहँुदै कोभिड तथा लकडाउनबाट धेरै उद्योग व्यवसायले क्षति बेहोर्नु परेको छ । 

बैंकबाट कर्जा लिएर गरेको व्यवसाय ठप्प हुँदा उद्योगी व्यवसायीलाई परेको प्रभाव अध्ययन गर्न यसअघि दिएको ७ दिनको छूट व्यवस्था फिर्ता लिएको केन्द्रीय बैंकले बताएको छ । राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालका अनुसार वित्तीय क्षेत्रको तथ्यांक आवश्यक परेकाले पहिलाको जस्तै नियमित रिपोर्टिङ गर्न भनिएको हो ।

गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकमा प्रवेश गरेलगत्तै कोभिड–१९ को प्रभावबारे अध्ययन गर्न समिति गठन गरेका थिए । राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्टको संयोजकत्वमा गठित समितिलाई पर्यटन, होटल, वायुसेवा, उद्योगलगायत क्षेत्रमा भएको क्षतिबारे अध्ययन गर्न तथ्यांक आवश्यक भएकाले विवरण मागिएको हो । समितिले विभिन्न क्षेत्रमा भएको क्षतिबारे तथ्यांक संकलन गर्न थालिसकेको संयोजक भट्टले जानकारी दिए । ‘कोरोना तथा लकडाउनले पारेको प्रभाव समग्र अर्थतन्त्रमा पर्ने भएकाले यसबारे अध्ययन थालिएको हो,’ भट्टले भने । समितिमा बैंक तथा वित्तीय संस्था नियमन विभाग, विदेशी विनिमय व्यवस्थापन विभाग, भुक्तानी फछ्र्योट विभाग र सबै सुपरिवेक्षण विभागका प्रतिनिधि र नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालसमेत छन् ।

आर्थिक अभियान दैनिकमा प्रकाशित समाचार ।