Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

रेमिट्यान्स झन्डै १ खर्ब घट्ने

२०७७ बैशाख ६ गते
वैदेशिक रोजगारीमा गएका लाखौं नेपाली कामदारको रोजगारी कटौती हुन सक्ने

विश्वव्यापी कोरोना भाइरस महामारीका कारण चालु आर्थिक वर्षमा नेपालको रेमिट्यान्स आय करिब १० प्रतिशत घट्ने देखिएको छ । नेपाली श्रमिकको रोजगार गन्तव्य मुलुकमा गरिएको लकडाउनका कारण वैदेशिक रोजगारीमा रहेका लाखौं नेपाली कामदार उच्च जोखिममा छन् । थुप्रै मुलुकले श्रमिक कटौतीको नीतिसमेत लिइरहेका छन् । यसबाट नेपालको रेमिट्यान्स आय दुई अंकको दरमै घट्ने देखिएको विज्ञहरू बताउँछन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले शुक्रबार आयोजना गरेको भिडियो कन्फरेन्समा राष्ट्र बैंकका कार्यकारी निर्देशक एवं प्रवक्ता गुणाकर भट्टले भने, ‘कोरोनाका कारण धेरैले मुलुकले श्रमिक कटौती गरेका छन्। यसकारण वैदेशिक रोजगारीमा गएका नेपाली कामदार पनि श्रमिक कटौतीमा परेका छन्। यसले नेपाल भित्रने रेमिट्यान्स १० प्रतिशत घट्न सक्छ।’

गत आवमा नेपालमा ८ खर्ब ७९ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो। चालु आवमा केन्द्रीय बैंकले ५ प्रतिशत रेमिट्यान्स बढ्ने अनुमान गरेको थियो। तर यो वर्ष ८ खर्ब पनि रेमिट्यान्स भित्रन नसक्ने केन्द्रीय बैंकको अनुमान छ। ‘गत वर्ष १६ दशमलव ५ प्रतिशतले रेमिट्यान्स आप्रवाह बढेको थियो, यो वर्ष हामीले सामान्य ५ प्रतिशत बढेर ९ खर्बको हाराहारीमा पुग्ने अनुमान गरेका थियौं,’ भट्टले भने, ‘तर कोरोना महामारीले श्रम बजारलाई प्रभावित पारेका कारण रेमिट्यान्स आय पनि घट्ने देखिएको छ।’ यसकारण बहुपक्षीय साझेदारसँग ऋण सहयोग भरपुर प्रयोग गर्नुपर्ने उनको भनाइ छ।

यस्तो बेला विश्व बैंक, एसियाली विकास बैंकजस्ता संस्थाबाट सहयोग लिन सकिने उनले बताए। ‘सामान्य अवस्थामा त हामी आईएमएफ जस्तो संस्थासँग सहयोग लिँदैनौ। तर यतिबेला आईएमएफले नै सरकारको बजेटरी सपोर्टमा प्रयोग गर्न सकिने भन्ने सर्तमा सहयोग गर्न सक्ने भनेको छ। त्यसैले त्यस्तो सहयोगलाई पनि सरकारको साधन परिचालनमा प्रयोग गर्न सकिन्छ,’ उनले भने।

कोरोना संक्रमणका कारण नेपालको आर्थिक अवस्था पनि प्रभावित हुन्छ। त्यसैले यस्तो जोखिम कम गर्न हामीले प्राथमिकता निर्धारण गर्नुपर्ने उनले बताए। नेपालको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २७ प्रतिशत छ। ‘हामीले बर्सेनि १ खर्ब रुपैयाँ बराबरको आधारभूत कृषिजन्य वस्तु आयात गरिरहेका छौं। तर हामीले चाह्यौं भने यो आयात व्यवस्थापन गर्न सक्छौं,’ भट्टले भने, ‘खुला अर्थतन्त्रमा प्रतिस्पर्धा गर्न गाह्रो हुन्छ। तर आधारभूत कृषिजन्य सामग्रीमा आत्मनिर्भर हुन सकिन्छ।’ यसबाट पनि बर्सेनि १ खर्ब रुपैयाँ बराबरको व्यापार घाटा कम गर्न सकिने उनले बताए। जलविद्युत् परियोजनाबाट पेट्रोलियम पदार्थको आयातमा कम गरी व्यापार घाटा कम गर्न सकिने उनको भनाइ छ।

‘अर्थतन्त्रमा स्थिर ब्याजदर महत्त्वपूर्ण हो। पछिल्लो एक वर्षमा ब्याज स्थिर अवस्थामा छ। अर्थतन्त्रमा ब्याजदर स्थायित्व काय गर्न सक्यौं भने त्यसले उद्योगी व्यापारी मात्रै नभएर निक्षेपकर्तालाई पनि सुनिश्चितता दिन्छ। बचत गर्नेलाई प्रोत्साहित गर्छ,’ उनले भने।

संक्रमणका कारण भुक्तानी सन्तुलनमा चुनौती देखिने भट्टले बताए। संक्रमणले सबैभन्दा बढी रेमिट्यान्स, पर्यटन, वैदेशिक लगानी र वैदेशिक सञ्चितिबाट प्राप्त हुने आम्दानी प्रभावित हुन्छ। अहिले वैदेशिक रोजगारी अप्ठ्यारो अवस्थामा रहेको भए पनि आगामी दिनमा विश्वका विभिन्न मुलुकमा नेपाली कामदारको थप माग हुनेसमेत उनले बताए। अवस्था सामान्य भएपछि कामदारको माग हुन्छ। तर त्यति बेला तालिमप्राप्त कामदारलाई उच्च पारिश्रमिकका साथ गन्तव्य मुलुकमा पठाउन सकिने उनको भनाइ छ।

कोरोना संक्रमणका कारण विभिन्न मुलुकमा नेपाली कामदार बिचल्लीमा परेको श्रम आप्रवासविज्ञ एवं इक्विडेम रिसर्च सेन्टरका दक्षिण एसिया निर्देशक रामेश्वर नेपालले बताए। श्रम सम्झौता भएका मुलुकले समेत आप्रवासी कामदार र स्वदेशी कामदारमा विभेद गरेको उनको आरोप छ। यस विषयमा सरकारले कूटनीतिक छलफल अघि बढाउनुपर्नेमा उनले जोड दिए।

कान्तिपुर दैनिकमा प्रकाशित समाचार ।

Ad