लघुवित्त वित्तीय संस्थाहरु सरकारले तोकेको अत्यावस्यक क्षेत्र भित्रै परेता पनि यस लकडाउनको अवधिमा कुनैपनि लघुवित्त वित्तीय संस्थाहरुले कारोवार संञ्चालन गर्न सकेका छैनन् । समुदायमा गई समूहमा काम गर्नुपर्ने भएका कारण लघुवित्तको कारोवार संचालन गर्न सहज छैन । अहिलेको अवस्थामा कारोवार संञ्चालन असम्भव जस्तै भएको छ ।
अहिले देखिएको माहामारीले लघुवित्त क्षेत्रमा कतिको असर पार्छ अहिल्यै आँकलन गर्न सकिने अवस्था छैन । माहामारीले धारण गर्ने रुपले यसको स्वरुप प्रष्ट हुँदै जानेछ । अहिलै आँकलन गर्न सकिने कुरा मात्रै यती हो, अवस्था पहिले जस्तो सहज पक्कै हुनेछैन ।
नेपाल राष्ट्र बैंकको यसै आर्थिक वर्षको पौष मसान्त सम्मको आँकडालाई विश्लेषण गर्दा झण्डै ४५ लाख ८० हजार ग्राहक सदस्य औपचारीक लघुवित्त क्षेत्रसंग प्रतक्ष्य आवद्ध रहेको र जसमध्ये झण्डै २८ लाख ग्राहक सदस्यहरुले लघुवित्त संस्थाहरुबाट २ खरब ५६ अरब ३२ करोड कर्जा सापटी लिई जिविकोपार्जनका लागी विभिन्न पेशा व्यवसाय गर्दै आएकाछन् ।
लाखौं गरिव तथा विपन्न परिवारलाई आर्थिक श्रोत उपलब्ध गराउन प्रतक्ष सहयोग पुर्याइ आत्मनिर्भर बन्न तथा गरिबी निवारण गर्न लघुवित्त क्षेत्रले खेलेको महत्वपूर्ण भूमिका हाम्रो अगाडी छर्लंग छ । तसर्थः लघुवित्त क्षेत्रको दिगो विकास तथा लाखौं विपन्न परिवारको वित्तीय श्रोतको सुनिश्चितता गर्न लघुवित्त क्षेत्रलाई स्वस्थ तथा पहिलेकै अवस्थामा फर्काउनु हामी सबैको दाइत्व हुनेछ । यसमा नियामक निकायहरुको पनि साथ र सहयोग अवश्य हुनेछ । यदी लघुवित्त क्षेत्रमा समस्याहरु देखिन थालेभने त्यसले फेरी लाखौ परिवारहरुलाई गरिबीमा धकेल्ने छ र त्यसको दुष्परिणाम देशको आर्थिक तथा सामाजिक विकासमा झल्किनेछ ।
त्यसैले अहिले यस क्षेत्रमा आबद्ध सबैको चासो वा चिन्ताको विषय लकडाउन पछी लघुवित्त वित्तीय संस्थारुको अवस्था के हुने र कसरी अगाडी बढ्ने भन्नै नै हो र यो स्वभाविक चासो अनि चिन्ताको विषय पनि हो । एकातिर लाखौं गरिब तथा विपन्न परिवारको पेशा व्यवसायलाई पुनस्थापित गरी सहज आवस्थामा फर्काउन आवश्यक हुने समय तथा श्रोतको व्यवस्थापन गर्नुपर्ने कठिन चुनौति संगसंगै अर्कोतर्फ पूँजिबजारको पनि चर्को दबाब झेल्नुपर्ने कठीन अवस्था लघुवित्त वित्तीय संस्थाहरुले झेल्नु पर्नेछ ।
यस्तो अवस्थामा संयमित भई होसीयारी पूर्वक अगाडी बढ्न सकिएन भने लघुवित्त संस्थाहरुले कल्पनै नगरेको चुनौतिको सामना गर्नुपर्ने छ । तसर्थ लकडाउन पछी लघुवित्त संस्थाहरुले अपनाउनु पर्ने केही रणनीतिका बारे लत संक्षेपमा चर्चा गरिएको छ ।
सुरक्षित कारोवार संचालन
लकडाउन पश्चात लघुवित्त वित्तीय संस्थाहरुको पहिलो रणनीति भनेकै कसरी सुरक्षित कारोवार सुचारु गर्ने भन्ने नै हो । जसका लागी कर्मचारी तथा ग्राहक सदस्यहरुको मनोवल उच्च बनाई उनिहरुलाई जोखिम न्यूनिकरणका लागी प्रायाप्त कदमहरु चालिएको विषयमा आस्वस्थ पार्नुपर्नेछ र सुरक्षाका लागी आवश्यक हुने समाग्रीहरुको उपलब्धता सुनिश्चित गर्नुपर्ने छ । त्यसैगरी केन्द्र वा समुह बैठकमा कम भन्दा कम सदस्यको उपस्थिती तथा सामाजीक दुरी कायम गर्न हाल अभ्यासमा रहेका केन्द्र, समूह बैठक संचालन प्रकृयालाई परिमार्जित गरी बैठकहरु संचालन गर्नुपर्ने छ । यसमा आफ्नो अवस्था र अनुकुलता अनुरुप लघुवित्त वित्तीय संस्थाहरुले फरक फरक रणनीति अख्तियार गर्न सक्नेछन् । उदाहरणका लागी कर्जा माग गर्ने सदस्यहरु सहित समूह अध्यक्षहरुको मात्रै बैठक संचालन गर्ने, केन्द्र बैठकमा संकलन हुने रकम केन्द्र्र प्रमुख मार्फत कार्यालयमा ल्याउने व्यवस्था गर्ने, वा समूह, केन्द्रलाई रकम संकलन गर्न लगाई कर्मचारीले उठाई ल्याउने, कार्यालयमा प्रायाप्त सुरक्षा अपनाएर मात्रै सदस्यहरुलाई भित्र प्रवेश गराउने आदी ।
कारोवारको नियमितता तथा पुनस्थापन
अहिलेको लकडाउन पहिले पहिले हुने गरेको नेपाल बन्द, वा विभिन्न आन्दोलनका कारण हुने गरेको बन्द जस्तो पक्कै होइन । खुल्नासाथ सबै व्यापार व्यवसाय पुनः जस्ताको तेस्तै संचालन हुने । लकडाउन पछी पनि लघुवित्त वित्तीय संस्थाहरुले लगानी गरेका थुप्रै क्षेत्र सुचारु हुन समय लाग्नेछ । खुल्नासाथ तत्काल सबै सदस्यहरुले किस्ता वा रोकिएको व्याज तिर्न सक्ने छैनन् । कतिपय सदस्यहरु अत्याधिक घाटाका कारण गरीरहेको व्यवसायबाटै पलायन हुन सक्नेछन् । यस्तो अवस्थालाई मध्यनजर गरी लघुवित्त वित्तीय संस्थाहरुले कारोवार नियमित गरी समस्यामा परेका सदस्यहरुलाई पुनस्थापन गर्न विभिन्न मोडेलहरु लागु गर्नुपर्ने छ । जसले गर्दा ग्राहक सदस्यहरुलाई व्यवसाय पूर्नस्थापना गर्न आवश्यक हुने चालू पूँजी प्राप्त होस् । वित्तीय पुनस्थापनाका लागी प्रचलित विभिन्न मोडेलका आधारभूत प्रकृयाहरुलाई यहाँ उल्लेख गरेको छु ।
•कर्जाको पूर्नतालिकिकरण गर्ने ।
• निश्चित रकम निर्धारण गरी थप पुनस्थापना कर्जा उपलब्ध गराउने ।
• तिरेको साँवा रकम फिर्ता गरी नयाँ कर्जा कायम गर्ने ।
• तोकिएको समयमा कर्जा तिर्ने सदस्यहहरुलाई विषेश छुटको व्यवस्था गर्ने ।
• कर्जा चुक्ता नगरी कर्जा माग गराउने र लगानी गर्ने कर्जाबाट चुक्ता गर्ने रकम कट्टा गरी लगानी गर्ने ।
•व्यवसाय पूनस्थापना तथा जोखिम न्यूनिकरणका लागी पाठ्यक्रम तयार पारी तालिम वा छलफलहरु संचालन गर्ने आदी ।
उल्लेखित मोडेलहरु लागू गर्दा नियामक निकायको स्वीकृती तथा संभावित जोखिम वा दुरुपयोग न्यूनिकरणका लागी आवश्यक हुनसक्ने प्रकृयाहरु भने अवलम्बन गर्नुपर्ने छ ।
पुनस्थापन/सहयोग कोष स्थापना र त्यसको संञ्चालन
लकडाउन अवधिमा कुनै सदस्यको मृत्यु भएमा वा सदस्यको परीवारमा कमाइ गर्ने अभिभावकको मृत्यु भएमा वा व्यवसायनै पुनस्थापना गर्न नसक्ने गरी नष्ट भएमा वा टाट पल्टेमा त्यस्ता ग्राहक सदस्यहरुलाई कर्जा भुक्तानीमा सहुलियत वा छुट प्रदान गर्नुपर्ने अवस्था आउन सक्नेछ । त्यसैगरी सामाजिक उत्तरदाइत्वको रुपमा स्थानिय सरकार वा संघिय सरकारले स्थापना गरेका कोषहरुमा समेत सहयोग रकम दाखिला गर्नुपर्नेछ । जसले लघुवित्त संस्थाहरुलाई थप भार बहन गर्नुपर्ने हुन्छ । पुराना तथा २० प्रतिशत भन्दा बढी लाभाँश वितरण गर्ने लघुवित्त वित्तीय संस्थाहरुसंग ग्राहक संरक्षण कोष तथा सामाजिक उत्तरदाइत्व कोषमा प्रायाप्त रकम भएको हुँदा त्यस्ता लघुवित्त वित्तीय संस्थाहरुलाई पुनस्थापना तथा सहयोगका लागी श्रोतको व्यवस्थापनमा कुनै समस्या हुनेछैन । तर भर्खरै खुलेका, घाटामा संचालन भएका वा २० प्रतिशत भन्दा कम लाभाँश वितरण गर्न सक्ने लघुवित्त वित्तीय संस्थाहरुसंग त्यस्ता कोषमा रकम संकलन नहुने र भए पनि कम हुने भएको हुँदा नेपाल लघुवित्त बैंकर्स संघ मार्फत लघुवित्तको आकार वा अवस्था अनुरुप रकम संकलन गरी एउटा छुट्टै कोष खडा गरी त्यसको प्रभावकारी संचालन मार्फत पुनस्थापना तथा सहयोगका कार्यक्रमहरु संचालन गर्न सके प्रभावकारी हुने देखिन्छ । वा नेपाल राष्ट्र बैंकले घटामा भएका लघुवित्त संस्थाहरुका लागी चुक्ता पूँजीको ३ प्रतिशत र २० प्रतिशत भन्दा कम लाभाँश वितरण गर्न सक्ने लघुवित्त वित्तीय संस्थाहरुका लागी नाफाको ५ प्रतिशत अनिवार्य रुपमा ग्राहक संरक्षण कोष तथा सामाजिक उत्तरदाइत्व कोषमा जम्मा गर्नुपर्ने व्यवस्था गरेमा त्यसले पनि पुनस्थापना तथा सहयोगका लागी कोषको उपलब्धता भई त्यस्ता कार्यक्रम प्रभावकारी रुपमा संञ्चालन गर्न सकिने छ ।
जोखिम व्यवस्थापन र त्यसको प्रभावकारी अनुगमन
हरेक लघुवित्त वित्तीय संस्थामा एकजना गैर कार्यकारी संञ्चालकको अध्यक्षतामा जोखिम व्यवस्थापन समिति गठन हुनुपर्ने र कम्तीमा ३ महिनामा एकपटक बैठक बस्नुपर्ने व्यवस्था रहेको छ । अहिलेको विषम परिस्थितिमा उल्लेखित जोखिम व्यवस्थापन समितिले प्रभावकारी रुपमा आफ्नो भुमिका खेल्नुपर्ने अवस्था आएको छ । लघुवित्त वित्तीय संस्थाको व्यवस्थापनले ग्राहक सदस्यहरुको व्यवसाय पुनस्थापना गरी मुल प्रभावमा ल्याउन गरेको प्रयासलाई नियमीत अवलोकन गरी कम्तीमा महिनामा एक पटक जोखिम ब्यवस्थापन समितिको बैठक बसी जोखिमको आँकलन तथा गरिएका प्रयासहरुको प्रभावकारीताका सम्बन्धमा समिक्षा गरी आवश्यक कदम चाल्न निर्देशन दिनुपर्ने छ । अहिलेको अवस्थामा लघुवित्त संस्थाहरुको जोखिमको स्तर समयमै आँकलन गरी सही कदम चाल्न नसकिएमा यसले दुर्घटना नजिक नपुर्याउला भन्न सकिन्न ।
माथी उल्लेख गरिएका रणनीतिका अलावा नियामक निकायहरुबाट चालिने कदम, हरेक लघुवित्त वित्तीय संस्थाले अपनाउने मौलिक रणनीति, कर्मचारी तथा सदस्यहरु विचको सम्बन्ध, स्थानीय निकायहरुसंगको सम्बन्ध, बोली, ब्यवहार, व्यवस्थापन तथा संचालक समिति बिचको अन्तकृया, उत्पेरण तथा निरन्तरको सकृयाताले पक्कै पनि लकडाउन पछी लघुवित्त संस्थाहरुलाई सहज रुपमा अगाडी बढाउन सहयोग गर्ने छ । र, यस क्षेत्रले आगामी दिनहरुमा अझै प्रगती गर्दै जाने छ ।
ढकाल गणपति लघुवित्त वित्तीय संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत हुन् ।
