बैंकिङ खबर / नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारको राहत तथा पुनर्स्थापनाका लागि ५० लाख रुपैयाँ सहयोग गरेको छ।
कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ।भोटेकोशी नदीमा आएको अकल्पनीय बाढीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै कम्पनीले प्रभावित परिवारको पीडा र कठिन परिस्थितिलाई मध्यनजर गर्दै राहत तथा पुनर्स्थापनाका प्रयासमा सहयोग गरेको जनाएको हो।
कम्पनीले विपद्को यस दुःखद् घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै, घाइते तथा बाढीबाट प्रभावित सबैको शीघ्र स्वास्थ्यलाभ र सुरक्षित पुनर्स्थापनाको कामना गरेको छ।