Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

एभरेष्ट बैंकको खुद नाफा १ अर्ब २५ करोड

२०८३ कार्तिक १६ गते

बैंकिङ खबर / एभरेष्ट बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा १ अर्ब २५ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा कमाएको नाफाको तुलनामा यसपटक ६.२३ प्रतिशत बढी नाफा गरेको हो ।

बैंकको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा खुद ब्याज आम्दानी २.९१ प्रतिशतले बढेर २ अर्ब ३७ करोड १४ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले यस्तो आम्दानी २ अर्ब ३० करोड रुपैयाँ हाराहारी गरेको थियो ।

यस अवधिमा बैंकको सञ्चालन नाफासमेत बढेको छ । गत वर्षको पहिलो त्रैमासमा १ अर्ब ६८ करोड रुपैयाँ रहेको सञ्चालन नाफा चालु आर्थिक वर्षको सोही अवधिमा बढेर १ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ । खुद ब्याज आम्दानी र सञ्चालन नाफामा भएको वृद्धिले बैंकको खुद नाफा बढाउन सहयोग गरेको देखिन्छ ।

तर, बैंकको वितरणयोग्य नाफामा भने गिरावट आएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ५ अर्ब ४९ करोड रुपैयाँ रहेको वितरणयोग्य नाफा चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा घटेर ३ अर्ब ८७ करोड रुपैयाँमा सीमित भएको छ । यसले बैंकको तत्काल लाभांश वितरण गर्न सक्ने क्षमतामा अघिल्लो वर्षको तुलनामा कमी आएको संकेत गर्छ ।

बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी ३४ रुपैयाँ ७८ पैसा रहेको छ । प्रतिसेयर नेटवर्थ २४३ रुपैयाँ १ पैसा कायम भएको वित्तीय विवरणमा उल्लेख छ ।

असोज मसान्तसम्ममा बैंकले ३ खर्ब ३६ अर्ब ६२ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । बैंकको खराब कर्जा अनुपात ०.५० प्रतिशत रहेको छ । समग्रमा खुद नाफा र सञ्चालन आम्दानीमा सुधार देखिए पनि वितरणयोग्य नाफामा आएको गिरावट एभरेष्ट बैंकको पहिलो त्रैमासको वित्तीय विवरणको उल्लेखनीय पक्ष बनेको छ ।

Ad