Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

मर्चेन्ट बैंकिङमा कामना सेवा बैंकको नयाँ कदम, आकाश क्यापिटल अब आफ्नै कम्पनी

२०८३ मंसिर ८ गते

बैंकिङ खबर / कामना सेवा विकास बैंक लिमिटेडले पुँजी बजारसम्बन्धी सेवा विस्तार गर्ने उद्देश्यले आकाश क्यापिटल लिमिटेडलाई आफ्नो सहायक कम्पनीका रूपमा अघि बढाएको छ । बैंकले आकाश क्यापिटलको संस्थापक सेयर खरिद गरी कम्पनीलाई आफ्नो स्वामित्वमा ल्याउने प्रक्रिया अघि बढाएको हो । यससँगै आकाश क्यापिटल लिमिटेडको नाम परिवर्तन गरी ‘कामना सेवा क्यापिटल लिमिटेड’ राख्ने तयारी गरिएको छ । नयाँ नामबाट कम्पनीलाई सञ्चालनमा ल्याउने योजनासहित बैंकले आवश्यक नियामकीय प्रक्रिया अघि बढाएको हो ।

बैंकले यसअघि नै आकाश क्यापिटललाई सहायक कम्पनीका रूपमा सञ्चालन गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरेको जनाएको छ । बैंकको यो कदमलाई वित्तीय सेवाको दायरा विस्तार गर्ने तथा पुँजी बजारमा आफ्नो उपस्थिति बढाउने रणनीतिका रूपमा हेरिएको छ ।

प्रस्तावित कम्पनीमार्फत मर्चेन्ट बैंकिङसम्बन्धी सेवा प्रदान गर्ने बैंकको योजना छ । यसअन्तर्गत सेयर निष्कासन तथा बिक्री प्रबन्ध, सेयर रजिस्ट्रार, लगानी व्यवस्थापन र अन्य पुँजी बजारसम्बन्धी सेवा उपलब्ध गराउने सम्भावना रहन्छ ।

यद्यपि, मर्चेन्ट बैंकिङ सेवा सञ्चालनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट आवश्यक अनुमति तथा दर्ता प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । उक्त प्रक्रिया पूरा भएपछि मात्रै कम्पनीले सम्बन्धित सेवा सञ्चालन गर्न सक्नेछ । बैंकिङ सेवासँगै पुँजी बजारसम्बन्धी सेवा विस्तार गर्ने कामना सेवा विकास बैंकको यो पहलले आगामी दिनमा बैंकको व्यवसाय विविधीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Ad