April 16th, 2020

विश्व आर्थिक वद्धि ३ प्रतिशतले ऋणात्मक, अर्थतन्त्रमा ९० खर्ब डलरको क्षति

 

 

लकडाउनका कारण विश्व अर्थतन्त्र महामन्दीयताकै खराब अवस्थामा

अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ)ले कोभिड–१९को महामारीका कारण सन् २०२० मा विश्व अर्थतन्त्र ३ प्रतिशतले ऋणात्मक हुने प्रक्षेपण सार्वजनिक गरेको छ । कोषले मंगलबार सार्वजनिक गरेको ‘वल्र्ड इकोनोमिक आउटलुक’मा विश्वको अर्थतन्त्र सन् १९३० को महामन्दीयताकै नराम्रो अवस्थामा पुगेको ठहर गरेको छ । ‘विश्वभर भइरहेको ‘ग्रेट लकडाउन’ले सन् २००८-०९ को वित्तीय संकटको समयको मात्रै होइन, महामन्दीको भन्दा पनि खराब अवस्थामा विश्व अर्थतन्त्र पुगेको छ,’ आइएमएफले भनेको छ । 

कोरोनाको विश्वव्यापी महामारी यो वर्षको दोस्रो त्रैमासमा शिखरमा पुग्ने र तेस्रोबाट मत्थर हुँदै जाने अनुमानका आधारमा आइएमएफले विश्वव्यापी आर्थिक वृद्धि माइनस ३ प्रतिशत पुग्न सक्ने आकलन गरेको हो । यो महामारी तेस्रो त्रैमासबाट कम हुँदै गएर आर्थिक क्रियाकलापहरू सामान्य बनेको खण्डमा सन् २०२१ को विश्वव्यापी आर्थिक वृद्धि ५ दशमलव ८ प्रतिशतले फर्किने आकलन गरेको छ । तर, परिस्थिति अनुमान गरिएजसरी सुधार नभएर झन् खराब हुँदै गएको खण्डमा भने सन् २०२० को वृद्धि थप ऋणात्मक हुने र सन् २०२१ मा पुनर्बहाली नहुने प्रक्षेपण आइएमएफको छ । 

कोषले मंगलबार सार्वजनिक गरेको  ‘वर्ल्ड इकोनोमिक आउटलुक’मा विश्वको अर्थतन्त्र सन् १९३० को महामन्दीयताकै नराम्रो अवस्थामा पुगेको ठहर गरेको छ ।

यो वर्ष विकसित मुलुकको आर्थिक वृद्धि ६ दशमलव १ प्रतिशतले ऋणात्मक हुने प्रक्षेपण गरिएको छ । त्यसैगरी, उदीयमान बजार एवं विकासशील मुलुकहरूको आर्थिक वृद्धि माइनस १ प्रतिशत हुनेछ । तर, चीनलाई छुट्याउँदा विकासशील मुलुकहरूको वृद्धि २ दशमलव २ प्रतिशतले ऋणात्मक रहने आइएमएफले जनाएको छ । त्यसैगरी, १ सय ७० भन्दा धेरै मुलुकको प्रतिव्यक्ति आयमा संकुचन आउनेछ । यद्यपि, सन् २०२१ मा भने विकसित एवं विकासशील दुवैखाले अर्थतन्त्रमा आंशिक रूपले सुधार देखिनेछ । तर, महामारी २०२१ सम्ममा पनि रहिरहे विश्वको आर्थिक वृद्धिमा अतिरिक्त ८ प्रतिशत संकुचन आउनेछ । 

यो प्रक्षेपण यसै वर्ष जनवरीमा गरिएको प्रक्षेपणभन्दा ६ दशमलव ३ प्रतिशतले कम हो । त्यसवेला विश्वको आर्थिक वृद्धि ३ दशमलव ३ प्रतिशत हुने आकलन गरिएको थियो । त्यसैगरी, आइएमएफले सन् २०२० र २०२१ मा महामारीका कारण विश्वव्यापी जिडिपीमा ९० खर्ब अमेरिकी डलरबराबरको क्षति हुने आकलन पनि गरेको छ, जुन जापान र जर्मनीको कुल गार्हस्थ्य उत्पादन जोड्दा हुने रकमभन्दा पनि बढी हो ।

‘मानव गतिविधि यो स्तरमा धराशायी भएको अनुभव हामीले जीवनमा गरेकै थिएनौँ,’ आउटलुकमा भनिएको छ, ‘मुलुकहरूले विश्वव्यापी वित्तीय संकटका वेलामा जस्तो एउटै समस्या मात्र साक्षात्कार गरिरहेका छैनन्, सन् १९३० को महामन्दीयता पहिलोपटक विकसित, उदीयमान बजार र विकासशील मुलुक सबै एकैसाथ मन्दीमा प्रवेशगरेका छन्,’ आइएमएफको प्रतिवेदनमा भनिएको छ, ‘विश्वलाई यो संकटबाट बाहिर निकाल्न बृहत् र वित्तीय, आर्थिक एवं मौद्रिक नीतिहरू समन्वयात्मक रूपले ल्याउन जरुरी छ ।’

नेपालको आर्थिक वृद्धि साढे २ प्रतिशत, मूल्यवृद्धि साढे ७ प्रतिशत

आइएमएफले नेपालको आर्थिक वृद्धि भने यस आर्थिक वर्षमा २ दशमलव ५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । गत आवमा ७ दशमलव १ प्रतिशत आर्थिक वृद्धि भएकोमा त्यसमा ४ दशमलव ६ प्रतिशत बिन्दुले आर्थिक वृद्धि कम हुने आकलन आइएमएफको छ । विश्व बैंकले दुई दिनअघि मात्रै नेपालको आर्थिक वृद्धि १ दशमलव ५ प्रतिशतदेखि २ दशमलव ८ प्रतिशत हुने अनुमान गरेको थियो । 

आगामी आर्थिक वर्ष सन् २०२१ मा भने ५ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान आइएमएफको छ । नेपाल सरकारले चालू आवमा साढे ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिएको छ । यस वर्ष नेपालको मूल्यवृद्धि ७ दशमलव ५ प्रतिशत र आगामी वर्ष ६ प्रतिशत हुने अनुमान पनि आइएमएफको छ । सरकारले यस वर्ष ६ प्रतिशत मात्रै मूल्यवृद्धि हुने लक्ष्य निर्धारण गरेको छ । 

त्यस्तै, आइएमएफले नेपाललगायत विश्वका २५ गरिब मुलुकले आगामी ६ महिना साँवा–ब्याज तिर्नुनपर्ने निर्णय गरेको छ । ‘६ महिनाको साँवा–ब्याजको दायित्वबाट गरिब मुलुकलाई मुक्ति दिइएको छ, जसमा आइएमएफले ५० करोड अमेरिकी डलर खर्च गर्नेछ, साँवा–ब्याज तिर्नुनपर्दा त्यो रकम सदस्य मुलुकहरूले कोभिडविरुद्धको अभियानमा खर्च गर्न पाउनेछन्,’ आइएमएफकी प्रबन्ध निर्देशक क्रिस्टालिना गियोर्गेइभाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नयाँ पत्रिका दैनिकमा प्रकाशित समाचार ।