April 15th, 2020

फोन वा इमेल मार्फत मुद्दती निक्षेप नविकरण हुने

बैंक तथा वित्तीय संस्थामा राखेको मुद्दती निक्षेप परिपक्क भएपनि चिन्ता गर्नु नपर्ने भएको छ । मुद्दती निक्षेप परिपक्क भएपनि फोन तथा इमेलका आधारमा त्यसलाई नविकरण गर्न सकिने भएको हो ।
कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न सरकारले लकडाउन गरेको अवस्थामा निक्षेपकर्ता बैंकसम्म जान सक्ने अवस्था नभएपनि त्यसको विकल्पमा बैंकहरुले खाता खोल्दा उपलब्ध गराएको फोन वा इमेलका आधारमा पनि नविकरण गर्न सकिने व्यवस्था गरेका हुन् । घरबाट बाहिर निस्कन नमिले पनि बैंक तथा वित्तीय संस्थामा राखेको निक्षेप परिपक्क भएको छ भने नविकरण गर्न सकिने भएको हो ।
नेपाल बैंकर्स संघले बैंकका ग्राहकलाई सहज होस भनेर फोन तथा इमेलका आधारमा पनि मुद्दती निक्षेप नविकरण गराउने सहमति गरेको हो । लकडाउनको अवधमा बैंकिङ कारोबार गर्न सहज बनाउने उद्देश्य अनुसार यस्तो व्यवस्था गरेको संघले जनाएको छ । संघले ग्राहकहरु बैंकमा पुग्न नसक्ने भएकाले परिपक्क हुने र भएको मुद्दती निक्षेपको नविरकण बैंकमा रजिष्टर गरीएको इमेल वा फोनमार्फत अनुरोध गर्न सकिने जनाएको छ ।

कारोबार दैनिकमा प्रकाशित समाचार ।