अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले विश्व अर्थतन्त्रको वृद्धिदर ऋणात्मक ३ प्रतिशत हुने अनुमान सार्वजनिक गरेको छ। आईएमएफको फ्ल्यागसीप प्रकाशन ‘वल्र्ड इकोनोमिक आउटलुक’ सार्वजनिक गर्दै आईएमएफकी प्रमुख अर्थशास्त्री गीता गोपीनाथले कोरोना भाइरसको महामन्दीका कारण विश्व अर्थतन्त्रमा तीव्र गिरावट आउने उल्लेख गरिन्।
विश्व अर्थतन्त्रमा सन् २०२० र २०२१ म कोरोना महाव्याधिका कारण ९० खर्ब अमेरिकी डलरको क्षति हुने अनुमान छ, जुन विश्वका तेश्रो र चौथो ठूलो जापान र जर्मनीको संयुक्त आकारभन्दा बढी हो।
महाव्याधिका कारण विकसित र विकासशील देश महामन्दीमा छन्। राष्ट्रहरुले एकैपटक धेरै तहमा संकट व्यहोर्नुपरेको छ। स्वास्थ्य संक्ट, आन्तरिक अर्थतन्त्रमा अवरोध, बाह्य मागमा गिरावट र पुँजी फिर्ता र वस्तुको मूल्य पतन हुने अवस्था सिर्जना भएको छ।
अर्थशास्त्री गोपीनाथले नेपाल जस्ता न्यून आय भएका मुलुकका लागि ठूलो असर पार्ने बताइन्। उल्लेखित धेरै तहमा एकसाथ पर्ने असरले नेपालका पर्यटन जस्ता विदेशी मुद्रा प्राप्तिको महत्वपूर्ण स्रोत सुकेको छ। नेपालजस्ता अनौपचारिक क्षेत्रका कामदार धेरै रहेका देशमा उनीहरुका लागि राहतको व्यवस्थाअन्तर्गत नगद हस्तान्तरणमा डिजिटल माध्यम प्रयोग गर्न सकिने र सना तथा मझौला उद्यम व्यवसायको हकमा पनि सोही व्यवस्था लागू गर्न सकिने बताइन्। महामारी अन्त्य भएसँगै विश्वका सबै भूभागमा आर्थिक गतिविधि बढ्ने भन्दै न्यून आय भएका मुलुकहरुमा पनि सुधार आउने उनको भनाइ थियो। न्यून आय भएका मुलुकहरु ऋणको बोझले थिचिएको भन्दै उनले ऋणदाताले ऋण माफीका लागि आवश्यक कदम लिनुपर्ने उनको भनाइ थियो।
अप्रिलदेखि जुनसम्म कोरोना भाइरसको विस्तार उच्च तहमा पुग्ने र सोहीअनुसार सबै राष्ट्रले बन्दाबन्दीलगायत उपाय अबलम्बन गर्ने हुँदा यो अवधिमा अर्थतन्त्रको विस्तारमा ठूलो गिरावट आउने आइएमएफको अनुमान छ। यसअघि झण्डै ३.३ प्रतिशतले विस्तार हुने अनुमान गरिएको विश्व अर्थतन्त्र ऋणात्मक तीन प्रतिशतको गिरावट आउनु मन्दीको पनि खराब अवस्था र चरम निराशापूर्ण अवस्था हो। यसअघिको सन् २००८ को मन्दीभन्दा पनि यो अवस्था निकै खराब, निराशापूर्ण र चुनौतीपूर्ण छ।
त्यस्तै, जुलाई महिनादेखि भने महाव्याधि फैलने क्रम कम हुने र आर्थिक गतिविधि बढ्ने अनुमान गरिएको छ। आईएमएफले सन् २०२० मा नेपालको आर्थिक वृद्धिदर २.५ प्रतिशत र त्यसपछिको वर्षमा त्योभन्दा दोब्बर अर्थात् ५ प्रतिशतले बढ्ने आईएमएफको प्रक्षेपण छ।
त्यस्तै मुद्रास्फिति ६.७ प्रतिशत रहने आईएमएफको प्रक्षेपण छ। आइएमएफले उदारतापूवर्क स्वास्थ्य सुविधा बढाउन सबै मुलुकलाई आग्रह गरेको छ। परिक्षण उपकरण, स्वास्थ्य सामग्रीको आपूर्ति निर्वाध हुनुपर्नेमा जोड दिइएको छ। यस्तै व्यवसाय र घरपरिवारलाई ऋण तथा जमानत, चालु पुँजी (तरलता सुविधा), ऋण मोचन, विस्तारित बेरोजगारी बिमा, कर दाखिलामा सुविधाका लागि जोड दिएको छ। पुनःस्थापनाको चरणमा मागलाई सहयोग गर्ने, उत्पादन र आपूर्ति बढाउने, चाँडो पुनःस्थापना र रोजगारीका लागि निजी क्षेत्रलाई सहयोग गर्नुपर्ने उल्लेख गरेको छ। यस्तै, सार्वजनिक वित्त, मौद्रिक तथा वित्तीय उपायमार्फत कम्पनी र रोजगारी तथा ऋणदाता र ऋणीबीच सम्बन्ध मजबुत बनाइराख्नुपर्ने आईएमएफले उल्लेख गरेको छ।
अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित समाचार ।