July 8th, 2016

साताभर चर्चामा रहेका बैंकिङ गतिविधिहरु

bankingहरेक साताको अन्तिम दिन शुक्रबार बैँकिङ खबर डट कमले साताभरिका बैँकिङ गतिविधिहरुलाई एउटै पानामा समेट्दै आइरहेको छ । यस साता पनि बैँक तथा वित्तिय क्षेत्रमा विभिन्न गतिविधिहरु भए । बैँक तथा वित्तीय संस्थासम्बन्धि विभिन्न समाचार तथा गतिविधिहरुलाई सञ्चार माध्यमहरुले महत्वका साथ प्रकाशन तथा प्रशारण गरे । नेपाल राष्ट्र बैंकले आगामी साता ल्याउन लागेको मौद्रिक नीतिमाथिको चर्चा यस साता पनि कायम रह्यो । समग्रमा, साताको सुरुवातदेखि बैँक तथा वित्तिय क्षेत्रमा भएका प्रमुख गतिविधिहरु यहाँ प्रस्तुत गरिन्छ :

मौद्रिक नीति
गत सातादेखि नै सुरु भएको मौद्रिक नितिमाथिको चर्चाले यससाता पनि निरन्तरता पायो । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुसँग मौद्रिक नीतिका सम्बन्धमा सुझाव मागेको थियो । यसै सम्बन्धमा लघुवित्तहरुको पुँजी ४ गुणा बढाउने भनिएकोमा २ गुणमात्र बढाउनुपर्ने सुझाव आयो । त्यस्तै, एक जना डेपुटी गभर्नर थप गर्नुपर्ने सुझावहरु पनि आए । 

मर्जर तथा एक्विजिसन
सनराईज बैंकले नारायणी नेशनल फाईनान्सलाई ७७ प्रतिशत स्वाप रेसियोमा किन्ने प्रक्रिया पूरा गर्यो । यती डेभलपमेण्ट बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकलेले २ बराबर १ कित्ता हकप्रद शेयर निष्काशन गर्ने निर्णय गर्यो । 

सम्झौता
नेपाल बैंक लिमिटेड र भारतको सेन्ट्रल बैंक अफ ईण्डियाबीच मुम्बईमा रेमिट्यान्स भुक्तानी सम्झौता भयो । कुमारी बैंक र सम्सारा रेमिट प्रा.लि. बीच विश्वका विभिन्न भागमा कार्यरत व्यक्तिहरुले पठाएको रेमिट्यान्सको व्यवस्थापनबारे सम्झौतामा हस्ताक्षर भयो । प्रभु मनि ट्रान्सफर र एफआईए ग्लोबलबिच बुधबार रेमिट्यान्स सम्झौता भयो । हिमालयन बैंक लिमिटेड तथा ट्रयाङ्ग्लो सिन्डरिन बर्हाड, मलेसिया बीच रेमिट्यान्स सेवासम्बन्धि सम्झौता भयो । नेपाल पुनर्बिमा कम्पनीले सार्क मुलुकका बीमा कम्पनीहरुसँग पुनर्बिमा सम्झौता गर्यो ।

बैंकिङ मुभमेन्ट
फस्र्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैङ्क लिमिटेडको निर्देशकमा उमेश कुमार कटुवाल नियुक्त भए । नेपाल एसबीआई बैंकको सोमबार बसेको बैंकको सञ्चालक समितिको बोर्ड बैठकले सञ्चालक समितिको अध्यक्षमा कर्मचारी सञ्चय कोषका प्रशासक कृष्ण प्रसाद आचार्यलाई चयन गर्यो ।  यसै साताको सोमबारदेखि लुम्बिनी बैंकका प्रमुख कार्यकारी अधिकृत शोभनदेव पन्तले बैंक छोडे । नेपाल धितोपत्र बोर्डले २८ जना कर्मचारीलाई नियुक्त गर्यो । सिद्धार्थ बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्र भण्डारीको एक कार्यकाल थपियो । कम्पनीमा नियुक्त हुँदा दिइएको जिम्मेवारी पूरा गर्न नसकेको भन्दै नेपाल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदसँग व्यवस्थापन समितिले करार भङ्ग गर्यो ।

शेयर निष्काशन, परिवर्तन तथा कारोबार
मंगलबारबाट नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको शेयर कारोबार खुल्यो । युनिभर्सल पावर कम्पनीले पाल्पा र रुपन्देहीका सर्वसाधारणका लागि परिवर्तनीय अग्राधिकार शेयर खुला गर्यो । रिलायबल डेभलपमेन्ट बैंकको दशौं वार्षिक साधारण सभाले आफ्ना शेयरधनीलाई १० प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गर्यो । सोसाइटी डेभलपमेण्ट बैङ्क लिमिटेडले ८ लाख ८  हजार ३ सय ६३ कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा परिवर्तन गर्यो । यसै साताको मंगलबारदेखि  लुम्बिनी बैङ्क लिमिटेडले आफ्ना शेयर धनीलाई बोनश शेयरको प्रमाणपत्र वितरण सुरु गर्यो ।

अन्य
यसै साताको बुधबार अर्जेन्टीनी फुटबल खेलाडी लियोनल मेसीलाई कर छलीको आरोपमा २१ महिनाको जेल सजाय सुनाइयो । विदेशबाट काँचो सुन आयात गर्न पाउनुपर्ने भन्दै ऐक्यबद्धता जनाउन नेपाली साझा मञ्चले विश्वका विभिन्न मुलुकमा बसोबास गरिरहेका नेपालीलाई अपिल गर्यो । यसै सातादेखि लामो समयदेखी ऋणमा डुबिरहेको नेपाल आयल निगम ऋणमुक्त भयो ।