संयुक्त राष्ट्र सुरक्षा परिषद् (यूएनएससी) ले पहिलो पटक कोरोना भाइरस महामारीको बारेमा छलफल गर्न भेला बसेको छ । संयुक्त राष्ट्र सुरक्षा परिषद्ले कोरोना भाइरसबाट विश्वभरि उत्पन्न भएको संकटबारे विश्वव्यापी रूपमा छलफल गर्न आह्वान गरिएको पहिलो बैठकमा कोभिड १९ बाट प्रभावित व्यक्तिहरूप्रति ऐक्यबद्धता र एकता कायम राख्नुपर्नेमा जोड दिइएको थियो ।
लामो प्रतिक्षा पछि, संयुक्त राष्ट्र सुरक्षा परिषदले भिडियो कन्फरेन्सिंगको माध्यमबाट भेला बसेको थियो । सबै देशहरू यस महामारीको सामना गर्न बैठकले केही ठोस परिणाम ल्याउनेमा आशावादी रहेका थिए । यद्यपि यसको ठीक विपरीत भयो ।
संयुक्त राष्ट्रका लागि चिनियाँ राजदूतले आफ्नोे देशलाई बलिको बकरा नबनाउन आग्रह गरे । उनले यस प्रकोपलाई सामना गर्न विश्वव्यापी एकता आवश्यक रहेकोमा जोड दिए ।
संयुक्त राष्ट्र सुरक्षा परिषदले यस माहामारीबाट बच्नका लागि महासचिव एन्टोनियो गुटारेसको महामारीको सामना गर्न गरेको प्रयासलाई समर्थन पनि जनाएको छ ।
युएनका प्रमुखद्धारा सम्मेलनको सम्बोधन
संयुक्त राष्ट्रसंघका प्रमुख अन्टोनियो गुटारेसले पनि सम्मेलनलाई सम्बोधन गरे । परिषदलाई सम्बोधन गर्दै संयुक्त राष्ट्र प्रमुख गुटारेसले ७५ वर्ष पहिले संयुक्त राष्ट्र संघको स्थापना भएदेखि हाल विश्व सबैभन्दा कठिन अवस्थामा रहेको बताए । उनले यस महामारीको सबैभन्दा नराम्रो असर अझै आउन बाँकी रहेको र विशेष गरी विकासोन्मुख देश र द्धन्दमा संघर्ष गरिरहेका देशहरूमा यसको बढी प्रभाव पर्नेमा चिन्ता व्यक्त गरे ।
अमेरिकाले के भन्यो ?
संयुक्त राष्ट्र सुरक्षा परिषदको बैठकमा अमेरिकाको आक्रामक व्यवहार जारी रह्यो । अमेरिकी राजदूतले भाइरस कहाँबाट सुरु भयो, यसको अनुसन्धान गरिनु पर्ने माग गरेका थिए । अमेरिकाले स्वास्थ्य डेटा पनि सही समयमा शेयर गर्न पनि माग गरेको थियो । अमेरिका र चीनबीचको चर्काचर्की पछि संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुतारेसले अगाडि बढ्नुपर्याे । उनले सुरक्षा परिषद्लाई कोभिड १९ महामारीसँगको सम्बन्धमा एकजुट रहन आग्रह समेत गरे ।
एकजुट रहनका लागि अपील
संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुतारारेसले भिडियो कन्फरेसको माध्यमबाट कोरोना भाइरस सम्बन्धी पहिलो बैठकमा सुरक्षा परिषद्लाई अपील गर्दे यस्तो कठिन समयमा काउन्सिलले एकताबद्ध भई यसको समाधानका लागि प्रस्ताव राख्नु अत्यन्तै महत्वपूर्ण रहेको बताए ।
गुटारेसले कोभिड १९ को महामारीले देखाएको शान्ति र सुरक्षामा हुने खतरालाई कम गर्न सुरक्षा परिषद्को सहभागिता महत्वपूर्ण हुने अपेक्षा गरेका छन् । यस अवस्थामा परिषद एकजुट भएर संकल्प लिनु अत्यावश्यक रहेको उनको भनाई थियो ।
पृष्ठभूमि
कोरोना भाइरस महामारीसँग डिल गर्नु यस समय संसारको लागि चुनौती नै भएको छ । यो भाइरस चीनको वुहानमा शुरु भएको थियो । हाल यसे भाइरसबाट लगभग विश्व नै प्रभावित छ ।