April 10th, 2020

कोरोना महामारिमा अर्थतन्त्र : रेमिट्यान्स घट्ने र बेरोजगारी बढ्ने प्रक्षेपण

अपेक्षा ढुंगाना । कोरोना भाइरस महामारीको कारण विश्व लगभग विनाशकारी मन्दीको पासोमा परेको छ । अब आशंका यो छ कि महामारी महामारीको शुरूवात भन्दा धेरै भयानक र लामो समयसम्म रहने कुरा अर्थतन्त्रमा यसले पार्ने प्रभाव नै हो । जुन अर्को बर्ष र त्यस भन्दा पनि पछि रहन सक्छ । हाल विश्व आर्थिक मन्दीमा प्रवेश गरिसकेको छ । यसभित्र पनि नेपाल एक सानो अर्थतन्त्र भएको मुलुक हो, धेरै क्षेत्रहरुमा उत्पादनमा अवरोध भइरहेको छ, व्यवसायहरु टाट पल्टिन थालेका छन् । अब नयाँ कामका अवसरहरु गुम्ने संभावना देखिएको छ । जसका कारण अर्थतन्त्र थप तहसनहस हुन जान्छ । जब सम्म व्यक्ति, व्यक्ति बिचमा सम्पर्क खतरनाक हुन्छ, तबसम्म व्यापार सामान्य हुन सक्दैन । तर अब अवस्था पहिले जस्तो सामान्य हुन सक्ने नसक्नेमै अन्योलता देखिएको छ । व्यापार गतिविधिमा अचानक रोक लाग्नुले लामो समयको लागि आर्थिक अवस्थालाई असर गर्छ । विभिन्न कम्पनीहरुमा जो पहिले देखि नै घाटा बेहोरीरहेका छन् उनीहरुमा झनै वित्तीय संकट निम्तीन सक्छ ।

नेपाललाई अझ बढी चुनौती

विश्वभर फैलिएको कोरोना भाइरसका कारण विश्व अझै कस्तो आर्थिक संकटतर्फ जाने हो भन्दै विभिन्न संस्था तथा विज्ञहरुले चिन्ता जनाइरहेका छन् । यसमा अब नेपालले संकटको सामना कसरी गर्ला भन्नेमा सबैको चासो देखिएको छ । अब नेपालले एकसाथ आर्थिक गतिविधिको घाटा, रोजगारी गुमाउनेको कारण आय गुम्न सक्ने, ग्लोबल शटडाउनका कारण निर्यातमा गिरावट जस्ता कुराहरुको सामना गर्नुपर्नेछ । विश्वकै विकसित देशलाई संकट सामना गर्न चुनौती खडा भएको बेला अल्पविकसित देश नेपालले यस्तो संकटको सामना कसरी गर्ला भन्ने प्रश्न यतिखेर खडा भएको छ । अहिले देश ‘लकडाउन’को स्थितिमा छ । आर्थिक गतिविधि लगभग शुन्यको अवस्थामा छ । उद्योग कलकारखाना बन्द छन् । व्यावसायिक गतिविधि शून्य छन् । आर्थिक गतिविधि नै नहुँदा सरकारको आम्दानीको मुहान पनि सुकेको छ ।

आर्थिक मन्दी र यसको प्रभाव

१। आर्थिक मन्दीपछि बेरोजगारी बढ्ने छ ।
२। आवश्यकता अनुसार पैसाको अभाव हुने छ ।
३ । रेमिट्यान्सका अत्याधिक गिरावट आउने छ ।
४। औद्योगिक उत्पादन घट्नेछ ।
५। आर्थिक वृद्धि दरमा लगातार गिरावट आउने छ ।

६ । सरकारको खर्च बढ्ने छ जसले गर्दा विकासका काम सुस्ताउने छन् । 

सरकारले ‘देशमा कोरोनाले पारेको प्रभाव अध्ययनपछि मात्र डाटा निकाल्न सकिने’ भन्दै देशको वर्तमान आर्थिक स्थिति सार्वजनिक गर्न सकेको छैन ।