नेपाल राष्ट्र बैंकले नगद कारोबारलाई घटाउँदै जाने भएको छ । आर्थिक कारोबारलाई स्वच्छ र पारदर्शी बनाउनका लागि नगद कारोबार घटाउन लागिएको हो । ५० लाखभन्दा धेरैको कारोबार चेकमार्फत गर्नुपर्ने हालको सीमालाई घटाएर २५ लाख रुपैयाँमा झारिनुपर्ने तर्क बैंकर्सको छ । यसै महिना राष्ट्र बैंकले ल्याउन लागेको मौद्रिक नीतिका लागि बैंकर्सहरुले यस्तो सुझाव दिएका हुन् । राष्ट्र बैंकले पनि यस सुझावलाई महत्वका साथ हेरेको छ । नगद कारोबारलाई घटाउनु किन जरुरी छ त ? हेर्नुस् कारण
अवैधानिकता रोक्न
नगद कारोबारका कारण मुलुकमा अवैधानिक गतिविधि बढेको बताइन्छ । करिब ७० प्रतिशत अपराध नगद कारोबारकै कारण हुँदै आएको बताइन्छ । यहि क्रम रहने हो भने नेपाल पुनः कालोसूचीमा पर्ने खतरा रहेको जानकारहरु बताउँछन् । त्यसैले गैरकानुनी कारोबारको नियन्त्रण गर्नुका साथै सम्पत्ति शुद्धिकरणका लागि पनि नगद कारोबार विस्तारै कम गर्दै लैजानु उचित देखिन्छ ।
बैंकिङ प्रणालीको प्रयोग गर्ने बानी बसाउन
आजको समयमा पनि ६० प्रतिशत नेपाली नागरिक वित्तीय पहुँचबाट टाढा छन् । उनीहरुलाई बैंकिङ प्रणालीको प्रयोग गर्ने बसाउनु पनि जरुरी हुन्छ । यसका लागि बैंकिङ औजारको कारोबार बढाउनुपर्ने हुन्छ । यद्यपि, सबै नागरिकमाझ वित्तीय सेवा नै पुगिनसकेका कारण पहिले बैंक तथा वित्रीय संस्थालाई ग्रामीण तथा दुर्गम भेगसम्म पुग्न प्रोत्साहन गरेर मात्रै नगद कारोबारलाई विस्तारै कम गर्दै जानु वेश हुन्छ । एकैपटक बैंकिङ औजारमार्फत मात्र कारोबारको व्यवस्था हुँदा वित्तीय सेवाबाहिर रहेका ६० प्रतिशत नेपाली अन्यायमा पर्ने भएकाले नगद कारोबारलाई विस्तारै निरुत्साहित गर्दै जाने राष्ट्र बैंकले जनाएको छ ।
नोट छपाइको लागत कम गर्न
नगद कारोबारको सट्टामा बैंकिङ औजारमार्फत कारोबार गर्दा राष्ट्रको नगद नोट छपाइ, वितरण व्यवस्थापन र नष्ट गर्दा लाग्ने खर्चमा समेत कमी आउने छ । समग्रमा मुलुकको अर्थतन्त्रलाई नै यसले फाइदा पुर्याउनेछ ।
हुण्डी कारोबारलाई निरुत्साहित पार्न
बैंकिङ च्यानलबाट मात्रै कारोबार गर्ने नियम बन्ने हो भने हुण्डी र खुला विनिमय कारोबार समेत क्रमशः घट्दै जान्छन् । नगद कारोबार गर्न नपाउने भएपछि रेमिट्यान्स पठाउनेहरु बैंकिङ च्यानलको प्रयोग गर्न बाध्य हुन गई हुण्डीजस्ता अवैधानिक नगद कारोबारको समस्याबाट मुलुक नै मुक्त हुने अनुमान सजिलै लगाउन सकिन्छ ।
कारोबारमा हुने झन्झट कम गर्न
आजको युग प्रविधिको युग हो । हरेक कामको लागि प्रविधिको प्रयोग गर्न बानी परिसकेका जनतालाई गोजीमा नगद बोकेर हिँड्नु झन्झटिलो हुन्छ । अनलाइन बैंकिङ, मोबाइल बैंकिङ, इसपिङ जस्ता नयाँनयाँ अवराधारणाहरु आइसकेकाले अब नगद कारोबारको झन्झट अटाउँदै जाने हो भने समयको समेत बचत हुने देखिन्छ ।