बेलायत युरोपियन युनियन (ईयू) बाट हट्ने भएपछि त्यहाँ नेपाललगायत अतिकम विकसित मुलुकले पाउँदै आएको भन्साररहित बजार पहुँचबारे अन्योल छ । ढिलोमा दुई वर्षभित्र बेलायत ईयूबाट बाहिरिनेछ । त्यसपछि उसले भन्साररहित सुविधा दिन्छ या दिँदैन भन्ने कुरा यतिबेला चर्चाको विषय बनेको छ ।
ईयूले अतिकम विकसित मुलुक (एलडीसी) का सामानमा कुनै भन्सार नलाग्ने सुविधा दिएकाले हालसम्म बेलायतमा पनि सोहीअनुसार निर्यात भइरहेको छ । अहिलेको अवस्थामा बेलायतसहित पूरै युरोपमा हातहतियारबाहेक सबै सामान भन्सा शूल्क बिना नै निर्यात गर्न पाइन्छ । त्यसैले बेलायतसँग नेपालको व्यापार नाफा छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ११ महिनामा बेलायततर्फको निर्यात २ अर्ब ५४ करोड रुपैयाँ छ भने आयात १ अर्ब ९० करोड रुपैयाँ छ । जसअनुसार चालू आर्थिक वर्षको पहिलो ११ महिनामा नेपाल बेलायतसँगको व्यापारमा ६४ करोड रुपैयाँले नाफा छ । तर, बेलायत इयुबाट नै बाहिरिएपछि इयुको नियमअन्तर्गत रहेर दिइएको सुविधालाई निरन्तरता दिन उ बाध्य हुँदैन ।
यता, इयुले एभ्रिथिङ बट आम्र्स (ईबीए) अन्तर्गत नेपाललाई भन्साररहित सुविधा दिइरहेकाले हातहतियार बाहेक सबै सामानमा उसले प्रवेश दिने सम्भावना बलियो देखिन्छ । अतिकम विकसित मुलुकलाई केही न केही भन्सारहित सुविधा दिने विश्व व्यापार संगठनमै प्रतिबद्धता आइसकेकाले यो सुविधा कटौती हुँदैन । यद्यपि, नेपालको निर्यात सम्भावना भएका उत्पादनले पाउँछ कि पाउँदैन भन्ने कुरा भने चर्चाको विषय बनेको छ ।